रवि-गगनबीच गोप्य चुनावी तालमेल : रास्वपाको उदयमा गगनको 'मिसन पीएम' फ्याक्टर

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Nov 24, 2022 | 01:26:05 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवन २ मा भारि मतान्तरसहित बिजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजनीतिक उदयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा फ्याक्टर हाबी भएको राजनीतिक वृत्तमा चर्चामा छ ।

कतिपय घटनाक्रमले रविलाई गगनले साथ दिएको पुष्टि गर्छन् । यो समाचार टिप्पणी लेखिरहँदा रविले चितवन २ मा ४९ हजार २६४ मत ल्याएर एमालेका कृष्णभक्त पोखरेल र राज्यमन्त्रीसमेत रहेका कांग्रेसका उमेश श्रेष्ठलाई ठूलो मतान्तरसहित पराजित गरेका छन् भने चितवन १ मा रास्वपाकै उम्मेदवार हरि ढकालको मतान्तर फराकिलो बन्दै गइरहेको छ ।

एक वर्ष अगाडि भएको महाधिवेशनमा भारि मतले महामन्त्री चुनिएका गगनले त्यसलगत्तै 'मिसन पीएम' नामको अभियान चालेका थिए । आफू हरहालतमा प्रधानमन्त्री बन्ने अठोट राखेका गगनले कम्युनिस्ट शक्तिलाई साइजमा ल्याउने र आफ्नै पार्टी कांग्रेसभित्र आफ्नो प्रभाव बढाउने रणनीतिसँगै रविलाई माथि ल्याउन सहयोग गरेको चर्चा कांग्रेसभित्रै चुलिएको छ ।

एउटा घटनाक्रमले यसको पुष्टि गर्छ । चितवन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार विश्व पौडेल र २ का उम्मेदवार उमेश श्रेष्ठले गगनलाई पटक-पटक चितवन आएर गठबन्धनको पक्षमा बोलिदिन आग्रह गरेका थिए ।

श्रेष्ठको चुनावी अभियानमा सक्रियताका साथ लागेका एक कांग्रेस कार्यकर्ता भन्छन् – 'मन्त्रीज्यूले चितवन आएर गठबन्धनका पक्षमा सम्बोधन गर्न पटक-पटक आग्रह गर्नुभएको थियो । तर गगन दाइले मान्नुभएन ।'

गत कात्तिक २६ गते गठबन्धनले चितवनमा चुनावी सभा आयोजना गरेको थियो । त्यसमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गरे ।

गगन चुनावी सभामै देखिएनन् । चुनावी सभामा मात्र होइन उनले चितवनका दुवै उम्मेदवारका लागि कहीं पनि मत मागेनन् ।

यसका दुई कारण थिए । पहिलो विश्व पौडेल र उमेश श्रेष्ठले सिधै बालुवाटारबाट टिकट पाएका थिए । दुवै पहिलोपटक प्रत्यक्ष चुनाव लड्दै थिए । प्रधानमन्त्री पत्नी आरजु देउवालाई विश्वासमा लिएर टिकट पाएका दुवै जनाले जित्दा गगन कांग्रेसभित्र कमजोर बन्ने पक्का थियो ।

दोस्रो गगन रविसँग प्रत्यक्ष सम्पर्कमा थिए । प्रधानमन्त्री बन्न 'मिसन पीएम' अभियानअन्तर्गत ३१ विधामा ६० जनाभन्दा बढी विज्ञ सम्मिलित टोलीमार्फत फरक–फरक क्षेत्रको अध्ययन गरिरहेका गगनलाई कम्तीमा चितवन र काठमाडौँमा नयाँ जनमत सिर्जना गर्न सकिने अवस्था थाहा नहुने कुरै भएन ।    

पार्टीभित्र हावी हुन पनि पाइने, कम्युनिस्टलाई साइजमा राख्न पनि पाइने र राजनीतिमा निर्णायक शक्तिका रूपमा उदाउन पाइने त्यसपछि मात्र प्रधानमन्त्री हुने बाटो सहज गर्ने रणनीतिमा गगनले रविलाई साथ दिएका हुन् ।

चितवन १ मा रास्वपाका हरि ढकालको जित सुनिश्चित जस्तै छ भने २ मा रविले बाजी मारिसकेका छन् । रविले आफ्नो पार्टी निर्णायक ढंगले उदाउने र ठूला दलमा पनि नयाँ नेतृत्व आएदेखि सरकारमा सामेल हुन सक्ने अभिव्यक्ति दिइसकेका छन् । यो अभिव्यक्ति गगनलक्षित नै हो ।

गगनले रविसँग गोप्य तालमेल गरेका रहेछन् भन्ने पुष्टि अर्को घटनाक्रमबाट पनि हुन्छ । काठमाडौँका दशवटा निर्वाचन क्षेत्रमध्ये रास्वपाले चारवटामा बिजय हासिल गर्यो । बाँकी ५ वटामा राम्रै मत ल्यायो । तर गगनले बिजय हासिल गरेको क्षेत्र नम्बर ४ मा रास्वपाले उम्मेदवारी नै दिएन ।

काठमाडौँ २,, ७ र ८ मा रास्वपाले बिजय हासिल गरेको छ भने ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ बिजयी भएका छन् । अन्य क्षेत्रमा कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । त्यस्तै ललितपुर ३ मा पनि रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्की बिजयी भएकी छन् ।

समानुपातिक मतमा पनि रास्वपा माओवादी केन्द्रभन्दा अगाडि छ । अबको संसदमा रविले कम्तीमा २० सांसदमार्फत आफ्नो प्रतिनिधित्व गर्ने पक्कापक्की भइसकेको छ ।

कतिपय स्रोतहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम अवस्थामा यसअघि लडेको चितवन क्षेत्र नम्बर ३ छोडेर गोर्खा जानुमा गगनकै यही रणनीतिले काम गरेको बताउँछन् । आफू प्रधानमन्त्री बन्ने अवस्था आएमा रास्वपा र माओवादी केन्द्रलाई सजिलै मनाउन सक्ने गगनले आंकलन गरेका छन् । त्यस्तै सम्भावित वाम गठबन्धनलाई रोक्न पनि गगनलाई चुनौती छ ।

गगन शुरूदेखि नै सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलको विपक्षमा थिए । पछि कांग्रेसले त्यसलाई औपचारिक रूपमै पारित गरेपछि पार्टीको निर्णयप्रति असहमति हुँदाहुँदै पनि कार्यान्वयन गर्नुपर्ने अभिव्यक्ति गगनले दिएका थिए ।

गठबन्धनमा भएको तालमेलअनुसार कांग्रेस मतदाताले रुख चिह्न नभेटिएको ठाउँमा घन्टीमा मत हालेका छन् । चुनाव हुन केही दिनमात्र बाँकी रहँदा घन्टीको लहर देशव्यापी भयो । यो लहरमा माओवादी र एमाले पनि सामेल भएको समानुपातिक मतपरिणामले प्रष्ट पारेको छ ।

कम्युनिस्टलाई साइजमा राख्ने, पार्टीबाहिर एउटा 'स्याटेलाइट' शक्ति राख्ने र पार्टीभित्र प्रभाव बढाउँदै जाने गगनको यो रणनीति कत्तिको प्रभावकारी हुन्छ, त्यो अन्तिम मतपरिणाम र त्यसपछि सरकार बनाउन हुने चलखेलहरूले पुष्टि गर्नेछन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved