नयाँ सरकार बनाउने गठबन्धनको कसरतमा भारतीय राजदूतको 'इन्ट्री'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 10:26:35 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचनको अन्तिम मतपरिणाम आउनुभन्दा अगाडि नै नयाँ सरकार गठनको दौडधूप चल्न थालेको छ । उक्त दौडधूपमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव पनि सामेल भएका छन् ।

श्रीवास्तवले शुक्रवार बालुवाटारमै पुगेर प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सरकार गठनबारे चासो राखेका थिए भने शनिवार उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न खुमलटार पुगेका थिए ।

देउवा र प्रचण्डबीच आलोपालो सरकार चलाउने भद्र सहमति छ । निर्वाचनको हालसम्मको मतपरिणामले सत्तारूढ गठबन्धन कायमै रहन सक्ने सम्भावना देखिएको छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ल्याउने अन्तिम मतपरिणाम १ सय ४० को हाराहारीमा हुने विश्लेषण सत्तारूढ गठबन्धनका नेताहरूले गर्न थालेका छन् ।

देउवा र प्रचण्डबीच आलोपालो सरकार चलाउने सहमति भएपनि पहिला को प्रधानमन्त्री बन्ने भन्ने प्रश्न पनि उठेको छ । प्रचण्डले देउवाको नेतृत्वमा निर्वाचन भइसकेकाले आफू अब २ वर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने दाबी गरेका छन् भने कांग्रेसभित्र कांग्रेसले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने आवाज पनि उठेको छ ।

देउवा र प्रचण्डबीच को प्रधानमन्त्री बन्ने भन्ने प्रश्न उठिरहेका बेला भारतले यसबारे चासो देखाएको हो । उनले पहिला देउवा र त्यसपछि प्रचण्डलाई भेटेर सरकार निर्माणको सन्दर्भमा अनावश्यक चासो राखेका मात्र छैनन्, यसरी अघि बढ्नुहोस भनेर भारतीय स्वार्थ लाद्ने काम पनि गरेका छन् ।

स्रोतका अनुसार प्रचण्डसँगको वार्तामा श्रीवास्तवले निर्वाचनमा उदाएका नयाँ शक्तिहरू (राप्रपा र रास्वपा)लाई नजरअन्दाज गर्न नहुने धारणा राखेका थिए । 'राप्रपा र रास्वपालाई पनि सँगै सरकारमा लग्नुपर्ने भन्दै राजदूत श्रीवास्तवले घुमाउरो पारामा आफ्नो कुरा राख्नुभएको थियो,' प्रचण्डनिकट स्रोतको दाबी छ ।

अबका केही दिनमा गठबन्धनका सबै दल प्रमुखलाई भेट्ने श्रीवास्तवको कार्यतालिका रहेको छ । उनले नयाँ सरकार निर्माणबारे भारतीय चासोको पैरवी गर्दै आएका छन् ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved