विष्णु पौडेल भन्छन् – नयाँ सरकार एमालेको नेतृत्वमा बन्न सक्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 01:42:13 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देही २ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भावी सरकार गठनका लागि एमालेले पहल गर्ने जनाएका छन् । सोमवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार गठनका लागि एमालेले अधिकतम प्रयास गर्ने बताएका हुन् ।

'निर्वाचन परिणाम हेर्दा कसैलाई पनि बहुमतको सरकार निमार्णका लागि जनताले म्यान्डेट दिएको अवस्था छैन, त्यसैले राजनीतिक दलहरु मिल्नुपर्ने अवस्था देखिन्छ,’ पौडेलले भने, ‘अध्यक्षलाई निर्वाचनपछिको प्रधानमन्त्री भनेर हामीले घोषणा नै गरेर गएकाले स्वाभाविक रुपमा नयाँ सरकारका लागि एमालेले पहलकदमी गर्नेछ ।’

उनले कुनै न कुनै रूपमा अंकगणितको खेल शुरू हुने र त्यसले मुलुकलाई अस्थीरतातर्फ लैजान सक्ने शंका व्यक्त गरे ।

'अब कुनै न कुनै रूपमा अङ्कगणितको खेल हुन्छ र यसले गर्दा अस्थिरताको चक्रव्युहमा मुलुक फस्न सक्ने जोखिम छ,' उनले भने, 'यो अवस्थामा मुलुकलाई स्थिरता र विकास तर्फ लैजानका लागि अधिकतम प्रयास नेकपा एमालेले गर्छ, यस्तै अधिकतम प्रयास सरकार गठनका सन्दर्भमा पनि एमालेले गर्छ ।'

सरकार गठनका लागि सत्तारूढ गठबन्धनले झिनो बहुमत पाउने आशा गरेको छ । हालसम्म १ सय ५८ निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ भने ९० लाख भन्दा बढी समानुपातिक मत गनिसकिएको छ ।

कांग्रेसले ५३ सिट जितेको छ भने २ मा अग्रता लिइरहेको छ । त्यस्तै एमालेले ४२ सिट जितेको छ भने २ मा नै अग्रता लिइरहेको छ । माओवादीले १७ सिट जितेको छ भने एकीकृत समाजवादीले १० सिट आफ्नो पक्षमा पारेको छ ।

सत्तारूढ गठबन्धनमा रहेको मध्ये लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेको छ । समानुपातिक मतका आधारमा लोसपा राष्ट्रिय पार्टी बन्न सक्ने सम्भावना छैन ।

प्रत्यक्ष र समानुपातिक मत जोड्ने हो भने गठबन्धनले बहुमतका लागि ल्याउनुपर्ने १ सय ३८ सिट पुर्याउन धौ धौ हुने अवस्था छ । यही अवस्थालाई देखेर विष्णु पौडेलले सरकार गठन गर्नका लागि एमालेले पहल गर्नुपर्ने बताएका हुन् । एमालेभित्रै एकताका पक्षधर रहेका पौडेलले वाम गठबन्धनका लागि पनि पहल गर्ने संकेत गरेका छन् ।
 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved