कांग्रेसलाई बाहिरै राखेर मिलिजुली सरकार गठन कति सम्भव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 02:47:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभातर्फ प्रत्यक्षको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५८ सिटको नतिजा सार्वजनिक भइसकेको छ । चारवटामा मतगणना जारी छ ।

दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना हुन सकेको छैन । दोलखाका १० मतदान केन्द्रमा १५ मंसिरभित्र पुनः निर्वाचन गराउन निर्वाचन आयोगले निर्देशन दिइसकेको छ । त्यसैले त्यहाँ निर्वाचन भएर अन्तिम नतिजा आउन २० मंसिरसम्म लाग्ने आयोगको अनुमान छ ।

आयोगले समानुपातिक निर्वाचनको मतगणना पनि अन्तिमतिर पुर्याएको छ । अहिलेसम्म ९३ लाख २६ हजार १५७ मतगणना भइसकेको आयोगले जनाएको छ । एक करोड सात लाख मत खसेकोमा अब १६ लाखभन्दा बढी गणना गर्न बाँकी छ ।

आयोगले २२ मंसिरसम्म समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक गर्ने बताइसकेको छ । समानुपातिकतर्फ कस्को कति सिट आउला ? यो अझै प्रष्ट छैन । अहिलेसम्मको स्थितिमा ६ दलले थ्रेसहोल्ड भेटिरहेका छन् । क्रमशः एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा र जसपा । तर अरु तीन दल क्रमशः एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि नजिक देखिन्छन् ।

अबको दुई साताभित्र नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने घनीभूत छलफल हुने भएको छ । सत्तागठबन्धनले सहज बहुमत प्राप्त गरेकाले अहिलेकै सरकारले निरन्तरता पाउने सम्भावना पनि प्रबल छ ।

खासगरी सत्ता बाँडफाँडमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति जुटेमा अहिलेकै सरकारले निरन्तरता पाउने आकलन गरिएको छ । त्यसका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख पद बाँडफाँड नै नेताहरूका लागि टाउको दुःखाईको विषय बनेको छ ।

कांग्रेस र माओवादीले प्रधानमन्त्री पदमा दाबी गरेका छन् । निर्वाचनले कांग्रेसलाई ठूलो दलका रूपमा स्थापित गरेकाले प्रधानमन्त्रीमा पहिलो दाबी कांग्रेसकै रहन्छ । यदि कांग्रेसले ठूलो दलको हैसियतमा सरकार बनाउन नसके, अर्को विकल्प खुला हुन्छ ।

अहिलेकै सरकारलाई निरन्तरता दिने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास थालेका छन् । तर, कांग्रेस संसदीय दलको नेता पुनः निर्वाचित हुनुपर्ने भएकाले समानुपातिक नतिजा कुर्नैपर्ने अवस्थामा दलहरू छन् । कांग्रेसमा महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले कसरी गठबन्धन बन्छ भन्ने चासो पनि छ ।

उता एमाले अध्यक्ष केपी ओली पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेका छन् । त्यसका लागि उनले वाम एकताको नारा र प्रलोभन दिएका छन् । अर्कोतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई अलग राखेर सरकार बनाउने प्रयासमा पनि उनी लागेका छन् ।

स्रोतका अनुसार ओलीले राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टीसँग यसबारे अनौपचारिक ढंगले कुराकानी थालेका छन् । तर, अहिलेसम्मको प्रत्यक्षको नतिजा हेर्दा ओली नेतृत्वमा सरकार बन्ने सम्भावना धेरै कम छ । माओवादी र एकीकृत समाजवादीमध्ये एउटा दललाई साथमा नलिई ओलीले सरकार बनाउन सक्दैनन् । 

प्रत्यक्षतर्फ एमालेले अहिलेसम्म ४२ सिट जितेको छ । दुईमा अग्रता छ । राप्रपा, रास्वपा, जसपा र उन्मुक्ति पार्टीको गरी २५ सिट छ । एमालेले थप दुई जितेमा ४४ र चार पार्टीको २५ गरी ६९ सिट हुन्छ । अझै ओलीलाई ६९ सिट आवश्यक पर्छ । एमालेले समानुपातिकमा ३५, रास्वपाले १५, राप्रपाले सात र जसपाले चार पाए पनि ओलीलाई सरकार बनाउन बहुमत पुग्दैन । त्यसैले अहिलेसम्म कांग्रेस नेतृत्वमै सरकार बन्ने नेताहरूको भनाइ छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved