७ महिना बितीसक्दा पनिसुरु भएन यो वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 12:07:48 PM मा प्रकाशित

laxmi  sunrise bank

यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु नै हुन नसकेको पाईएको छ।  बेरोजगार युवालाई देशमा नै रोजगारी दिने महत्वकाक्षी लक्ष्यका साथ संचालन  गरिएको कार्यक्रम आर्थिक वर्ष सुरु भएको ७ महिना बितीसक्दा पनि सुरु नभएको हो ।  

चालु आर्थिक वर्षको सुरुवाती चरणमा नै कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी भएतापनि फागुन लाग्दा समेत उक्त योजना सुरु भएको छैन । चालु आर्थिक वर्षको कार्यक्रमका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुसमा नै कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट स्थानीय तहमा पठाइसकेको बताएपनि हालसम्म कार्यक्रम सुरु भएको छैन । 

गत वर्षका कार्यक्रमहरु पनि आर्थिक वर्ष समाप्त हुन लाग्दा सुरु हुने गरेका थिए । चालु आर्थिक वर्षका लागि पनि गत वर्षको जस्तै अवस्था आउने अनुमान गरिएको मन्त्रालयका अधिकारीहरु बताउँछन्। 

सरकारले चालु आर्थिक वर्षमा दुई लाख विपन्न बेरोजगार युवाहरूलाई न्यूनतम १०० दिनको रोजगारी उपलब्ध गराउने बजेट मै व्यवस्था गरिसकेको छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि यो वर्ष ११ अर्ब ६० करोड बजेट छुट्याएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक एवं मन्त्रालयका सहसचिव सुमन घिमिरे कार्यक्रम सञ्चालनका लागि सबै स्थानीय तह बजेट पठाइसकिएको बताउँछन् । उनका अनुसार मन्त्रालयले पुस महिनामा नै १० अर्ब ३५ करोड ५६ लाख ६१ हजार बराबर रकम ७ सय ५३ वटै स्थानीय तहमा पठाइएको हो । 

‘हामीले समयमा नै कार्यक्रम सञ्चालन गर्ने गरी स्थानीय तहलाई बजेट पठाइसकेका छौँ, केही स्थानीय तहमा रोजगार कार्यक्रम संयोजना नहुँका कार्यक्रम सञ्चालनमा समस्या भएको हो’, उनले भने, ‘धेरै स्थानीय तहले कार्यक्रम सञ्चालनको सम्पूर्ण तयारी सकिएको जानकारी आएको छ । फागुन दोस्रो साताबाट कार्यक्रम सञ्चालन हुन्छ ।’

रोजगार संयोजक भन्छन, स्थानीय तहले रकम विनियोजन नगर्दा समस्या भयो

मन्त्रालयले सबै स्थानीय तहमा ज्याला बराबरको रकम मात्र पठाउँदा कार्यक्रम सञ्चालनमा समस्या भएको रोजगार संयोजकहरु बताउँछन् । मन्त्रालयबाट ज्याला मात्र आएको र कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम स्थानीय तहले विनियोजन नगर्दा रोजगार कार्यक्रम सञ्चालनमा समस्या देखिएको रामेछापको मन्थली नगरपालिकाका रोजगार संयोजक रक्षित रेग्मी बताउँछन् । 

‘नगरपालिकाबाट बजेट विनियोजन नहुँदा वडा कार्यलयमा समन्वय गर्दा केही ढिलाई भयो, १४ वडा रहेको मन्थलीमा १० वडामा मात्र कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘वडा कायालयबाट केही सहयोग गर्ने जानकारी आएअनुसार हामीले कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।’ 

उनका अनुसार मन्थलीमा चालु आर्थिक वर्षका लागि ७ सय ७७ जना बेरोजगार युवा सुचिकृत भएतापनि २ सय २५ जनालाई १ सय दिनको रोजगारी दिईनेछ । मन्त्रालयबाट आएको १ करोड १७ लाख रकम बाट सडक मर्मत र चौतारा निर्माण लगायतका कामहरु हुने उनले जानकारी दिए । 

यसैगरी, कीर्तिपुर नगरपालिकाका रोजगार संयोजक केदार बुढाथोकी पनि रोजगार कार्यक्रम सुरु नभएको बताउँछन् । कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले थप बजेट उपलब्ध गराउन नसक्दा कार्यक्रम सञ्चालनमा ढिलाई भएको उनले जानकारी दिए । 

उनका रोजगार कार्यक्रमका लागि नगरपालिकाले बजेट विनियोजन गरेको थिएन । अन्य स्रोतबाट सहयोग गर्ने गरी हालै कार्यपालीकाको बैठकले निर्णय गरेको उनले बताए । उक्त निर्णय अनुसार कार्यक्रम सञ्चालनको लागत स्टमेट बुझाएपछि मात्र कार्यक्रम सञ्चालनका लागि बजेट पाउने र बजेट आएपछि कार्यक्रम सञ्चालन हुने उनी बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved