
वैदेशिक रोजगारी वा अन्य प्रयोजनको लागि विदेश जाने नेपालीहरु स्वदेश फर्कदा विभिन्न सामग्रीहरु लिएर आउने गरेका छन् । तर कतिपयको हकमा उनीहरुले ल्याएका सामाग्रीहरु नियम विपरित हुने हुँदा विमानस्थल कार्यालयले नै जफत गर्ने गरेको छ ।
के सामानहरु भन्सार नतिरी ल्याउन पाइन्छ, के के सामान भन्सार तिरेर ल्याउन पाइन्छ र कस्ता सामान ल्याउन पाइदैन भन्ने जानकारी नहुँदा स्वदेश फर्कनेहरुले विभिन्न समस्या झेल्दै आएका छन् । नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा ल्याएको (एकम्पनिड) वा आफू आउनु भन्दा अघि वा पछि पठाएको (अनएकम्पनिड)सबै वा कुनै मालवस्तुमा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था छ ।
जसमा लुगाफाटा, बरबिछयौना, घर गृहस्थीका पुराना सामानहरू, औषधी उपचार गराई फर्केका बिरामीले ल्याएका औषधी, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान, सात किलोग्रामसम्म खाद्य परिकार र एक लिटरसम्मको मदिरा एक बोतल, टयाबलेट, ल्यापटव वा डेस्कटप कम्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेनड्राइभ एक एक थान पर्दछन् ।
त्यस्तै सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुहरिया पर्दछन् । पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरू एक थान जस्तै (डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको फुटबल, भलिबल, व्याडमिन्टन सेट , गायक तथा सङ्गीतकारको गितार हार्मोनियम, तबला) आदि पर्दछन् । यी समान भन्सार नतिरी ल्याउन सकिन्छ । यी बाहेक अन्य सामान बढी सङ्ख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार सङ्ख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी छाडिदिन सक्ने व्यवस्था छ ।
के के कुरामा भन्सार महशुल तिर्नु पर्छ ?
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा टेलिभिजन, वासिङ्ग मेसिन, रेडियो एक एक सेट,शरीरमा लाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान, घरायसी प्रयोगका सामन्य किसिमका उपकरण दुई दुई थान, दश किलोग्राम सम्म खाद्य परिकार व्यवसायिक पेशामा लागेका यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई दुई थानलाई लाग्ने महशुल लिई जाँचपास गर्ने व्यवस्था छ ।
विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुहरूले भने सामान आफुसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा भन्सार महशुल पूर्ण रुपमा छुट दिई त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुटै अभिलेख राखी जाँचपास गर्ने गरिन्छ । छुट सीमाभन्दा बढी सामान ल्याएमा प्रचलित आर्थिक ऐन बमोजिम महशुल लाग्नेछ ।
छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पन्ध्र हजार रुपैयासम्म र एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा पच्चीस हजार रुपैयाँसम्म महशुल लाग्नेछ । सोह्र वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउने व्यवस्था छ ।
भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कदा निवृत्त भएको कागजात पेस गरेमा एक पटकको लागि पचास हजार रुपैयाँसम्मको निजी प्रयोगका घरायसी सामानहरू ल्याएमा सम्पूर्ण महशुल छुट हुनेछ ।
यात्रुले आफ्नो साथमा ल्याएको एकसय ग्रामसम्मको सुनको भन्सार महशुल पचास ग्रामसम्म प्रति दश ग्राम नौ हजार पाँच सय रुपैयाँ र पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रति दश ग्राम दश हजार पाँच सय रुपैयाँ लग्नेछ । सो भन्दा बढी परिमाणमा सुन ल्याएमा बढी ल्याएको परिमाण जफत हुन्छ।
विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन नपाइने ब्यबस्था छ। आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिला भइसकेको हुनु पर्ने ब्यबस्था छ।