आफ्नै पैसा झिक्न नपाउँदा अप्ठ्यारोमा कर्मचारी, सासु र संचयकोषमाथि समन्वय नगरेको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 05, 2021 | 12:17:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोष र कर्मचारी संचय कोषले समन्वय नगरिदिंदा आफुहरु समस्यामा परेको संचयकर्ता तथा योग्दानकर्ताहरु गुनासो गर्न थालेका छन्। बिगतमा संचय कोषमा जम्मा गरेका तर अहिले बिबिध कारणले अरु ठाउँमा पीएफ अन्तर्गतको पैसा जम्मा गरेकाहरुबाट यस्तो गुनासो आएको हो।  

हिजोका दिनमा संचय कोषमा जम्मा भएको पैसा झिक्न नपाउँदा उनीहरुले आफुहरु समस्यामा परेको अनुभव गरेका हुन्। बैकका कर्मचारीहरु मात्र नभई बिभिन्न होटल तथा कम्पनीका कर्मचारीहरु समेत यस समस्यामा परेको बिजपाटीको जानकारीमा आएको छ।  

जागिर छाडेको, मृत्यु भएको वा अवकाश पाएको प्रमाण पुगेमात्र संचय कोषमा जम्मा भएको पैसा फिर्ता पाइने कानुनी व्यवस्थाकै कारण बर्षौं लगाएर संचय कोषमा जम्मा गरेको पैसा अड्किएको हो। अहिले जागिरकै क्रममा जागिर छाडेको प्रमाण जुटाउन नमिल्ने र अहिले नै अवकास लिएको प्रमाण पनि नहुने भएकाले एकातर्फ जम्मा भएको पैसा झिक्न नपाइने अवस्थामा आफुहरु पुगेको उनीहरुको भनाई छ।  

अर्कोतर्फ संचय कोषमा योगदान गर्न छाडे पश्चाताको ६ बर्ष पछि जम्मा भएको पैसाको ब्याज पनि नआउने भएकाले कर्मचारीहरु चिन्ता देखिएको हो। यो समस्या अन्य क्षेत्र तथा होटलका कर्मचारीमा मात्र नभई बैंक तथा वित्तीय सँस्थाका कर्मचारीहरुले पनि भोगेको पाइएको छ।  

आफुहरु पनि यो समस्यामा परेको लक्ष्मी बैंकले प्राप्ति गरेको तत्कालिन प्रोफेशनल दियालो विकास बैंकका कर्मचारीहरुले बताएका छन्। उनीहरुकाअनुसार लक्ष्मी बैंकमा आउनु अगाडी प्रोफेशन दियालो बिकास बैंकले उपदान तथा संचय कोष बापतको पैसा कर्मचारी संचय कोष तथा नागरिक लगानी कोषमा गर्ने गरेका थिए। 

तर लक्ष्मी बैंकले प्राप्ति गर्नु अगाडी प्रोफेशनल दियालो बिकास बैंकका कर्मचारीले संचय कोष तथा नागरिक लगानी कोषमा जम्मा गरेको पैसा भने अझै पनि रकमान्तरण हुन सकेको छैन। अर्थात उनीहरुले जम्मा गरेको पैसा बिगत ६ बर्षदेखि संचय कोष तथा नागरिक लगानी कोषमा नै अड्किएको छ। संचय कोषको बिध्यमान कानुनी प्राबधानकै कारण यो समस्या बल्झिएको हो।  

लक्ष्मी बैंक आफैंले स्वीकृत अवकाश कोष संचालन गर्ने गरेकाले तत्कालिन प्रोफेशनल दियालो विकास बैंकका कर्मचारीहरुबाट संचय कोष तथा नागरिक लगानी कोषमा नियमित रुपमा पैसा जम्मा हुन छाडेको हो।  संचय कोषको कानुनी प्राबधानका कारण तत्कालिन प्रोफेशन दियालो विकास बैंकमा रहंदा जम्मा भएको पैसा रकमान्तरण नहुँदा यो बिषयले लक्ष्मी बैंकमा कर्मचारीबीच पनि असन्तुष्टि बढाएको छ।  

हिजोका दिनमा प्रोफेशनल दियालो हुँदा संचय कोषमा जम्मा भएको रकमबाट केहि प्रतिशत रकम कर्जा लिएको तर अहिले कर्जा लिएको रकमको ब्याज तिर्नुपर्ने र नियमित जम्मा नहुँदा आफुले हिजो जम्मा गरेको पैसाको ब्याज पनि नपाइने भएकाले आफुहरु दोहोरो मारमा परेको उनीहरुको भनाई छ।    

यता लक्ष्मी बैंकका मानव संसाधन प्रमुख अमित शर्माले आफुहरुले प्रोफेशन दियालो विकास बैंकका कर्मचारीहरुले संचय कोष तथा नागरिक लगानी कोषमा जम्मा गरेको पैसा झिक्नलाई धेरै प्रयास गरेपनि कानुनी व्यवस्थाकै कारण झिक्न नसकेको बिजपाटीलाई बताएका छन्। 

संचय कोषको विद्यमान कानुनमा पैसा झिक्न वा रकमान्तरण गर्नलाई जागिर छाडेको हुनुपर्ने, कर्मचारीको मृत्यु भएको हुनुपर्ने वा अवकाश पाएको हुनुपर्ने व्यवस्था भएकाले तत्कालिन प्रोफेशन दियालो विकास बैंकका कर्मचारीहरुले लक्ष्मी आउँन अगाडी जम्मा गरेको पैसा उतै रहेको उनको भनाई छ। 

तर कुमारी बैंकले पनि काष्ठमण्डप विकास बैंक, महाकाली विकास बैंक, काक्रेबिहार विकास बैंक, देव विकास बैंक र पश्चीमान्चल फाईनाइन्सलाई समेत गरि ५ वटा संस्थाहरुलाई प्राप्ति गर्दा भने संचय कोषमा जम्मा भएको रकम पनि रकमान्तरण गरेको छ।  

कुमारीले प्राप्ति गर्ने सँस्थाका कर्मचारीले संचय कोषमा जम्मा गरेको रकम रकमान्तरण भएको तर लक्ष्मीले प्राप्ति गरेका सँस्थाका कर्मचारीले जम्मा गरेको रकम रकमान्तरण नभएको बिषयले कर्मचारीहरुमा मनमुटाब बढाएको छ। 

तत्कालिन प्रोफेशन दियालो विकास बैंकका कर्मचारीले जम्मा गरेको पैसा रकमान्तरण नहुने तर कुमारी बैंकले प्राप्ति गरेका विकास बैंकका कर्मचारीहरुले गाभिनु अगाडी जम्मा गरेको पैसा रकमान्तरण हुने देखिएकाले संचय कोष माथि पनि प्रश्न समेत खडा भएको छ। 

तर संचय कोषका प्रवक्ता विजय कुमार श्रेष्ठले भने त्यो बेला कुमारीमा गाभिएका सँस्थाहरुले आफुहरुले जागिर छाडेको भन्ने प्रमाण जुटाएकाले उनीहरुको जम्मा भएको पैसा रकमान्तरण भएको तर तत्कालिन प्रोफेशनल दियालो विकास बैंकबाट प्रमाण नजुटेकाले उक्त पैसा कोषमा नै रहेको बताए।  

अहिले उनीहरु सामाजिक सुरक्षा कोष वा अरु ठाउँमा आबद्द भएपनि उनीहरुले हिजोका दिनमा संचय कोषमा जम्मा गरेको रकमबाट ६ बर्षसम्म नियमित रुपमा ब्याज पाउने र अरु सेवा सुविधा पनि निरन्तर हुने प्रवक्ता श्रेष्ठको भनाई छ। उनीहरुले हिजो जम्मा गरेको पैसा ६ बर्षपछि पनि यहि हुन्छ र जागिर छाडेको, अवकाश पाएको वा मृत्यु भएको भन्ने प्रमाण जुटे ऐन अनुसार आफ्नो पैसा जुनै बेला लैजान सक्ने उनले बताए।

हिजोका दिनमा संचय कोषमा रहेकाहरुको पैसा यतै भएपनि कुनै समस्या नहुने भएकाले नयाँहरुको पैसा सामाजिक सुरक्षा कोषमा राख्नु पर्ने तर हिजोदेखि संचय कोषमा रहेकाहरुलाई यतै रहन पाउने विकल्प दिँदा पनि हुने प्रवक्ता श्रेष्ठले बिजपाटीलाई बताए।   

झट्ट हेर्दा समस्या जस्तो देखिएपनि यो ठुलो समस्या नभएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बिजपाटीलाई बताए। उनकाअनुसार सामाजिक सुरक्षा कोषमा आएकाहरुले हिजो संचय कोषमा जम्मा गरेको पैसा र उनीहरुको दायित्व सामाजिक सुरक्षा कोषमा नै ल्याउने गरि प्रकृया अगाडी बढेको छ र यसका लागि संचय कोषलाई आग्रह समेत गरिएको छ।    

सामाजिक सुरक्षा कोष र संचय कोषले पहल गरेको अवस्थामा बिगतमा संचय कोषमा दर्ता भएर जम्मा गरेको पैसा सहजै झिक्न तथा रकमान्तरण गर्न सकिने जानकारहरुको भनाई छ। सामाजिक सुरक्षा कोषमा आउनु अगाडी संचय कोषमा दर्ता भएको पैसाको ब्याज पनि आउने र आफुले चाहेको अवस्थामा झिक्न पनि पाइने र सेवा सुविधालाई निरन्तरता दिने गरि कानुनी व्यवस्था भएमा अहिले देखिएको समस्या समाधान हुने जानकारहरुको भनाई छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved