म्यानपावर कम्पनीतिर सोझियो कतार प्रहरीमा भर्नाको बिषय, आर्थिक शोषणको सम्भावना उस्तै !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2021 | 08:10:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार प्रहरीमा भर्नाको बिषय टुंगो लागेको छ। कतार प्रहरीमा भर्ना म्यानपावर कम्पनीबाट गर्ने सरकारको निर्णयसंगै भर्नाबारेको अन्यौलता सकिएको हो। यस अगाडी सरकार–सरकार (जीटूजी) मोडेल अपनाउने कि म्यानपावर कम्पनी (निजी क्षेत्र) प्रयोग गर्ने भन्नेमा विवाद थियो।

यस अगाडी ओली नेतृत्त्वको सरकारको पालामा निजी क्षेत्रलाई संलग्न गराउँदा आर्थिक शोषण हुने भन्दै जीटूजी मोडेल अपनाउनुपर्ने लबिइङ गरिएको थियो।  विवादकै कारण कतारको प्रहरी सेवामा भर्नाका लागि माग आए पनि कुन कानुनमा टेकेर पठाउने भन्ने विषयमा निर्णय हुन सकेको थिएन। कतारले पनि श्रम सम्झौताअनुसार नै भर्ना प्रक्रिया  अगाडी बढाउनुपर्ने अडान राखेको थियो।

तर श्रममन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले म्यानपावर कम्पनीबाटै नेपाली कामदार भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन दोहास्थित दूतावासलाई निर्देशन दिएपछि भर्नाको प्रकृयाबारे टुंगो लागेको हो।  

‘नेपाल–कतार श्रम सम्झौता, वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, कतारको सैन्य सेवा कानुनबमोजिम कतार प्रहरीमा भर्ना गर्दा प्राप्त हुने सेवा, सर्त र सुविधाका आधारमा मागपत्र प्रमाणीकरण गर्न दूतावासलाई निर्देशन दिने गरी भदौ ८ मा मन्त्रीस्तरीय निर्णय भएको व्यहोरा अनुरोध छ,’ श्रम मन्त्रालयद्वारा दूतावासलाई लेखिएको पत्रमा भनिएको छ।

कतारको आन्तरिक मन्त्रालयले ६ महिना अगाडि नै दुई सय जना भर्ना गर्न मागपत्र पेस गरेको थियो। त्यो अहिले प्रमाणीकरण समेत भईसकेको छ।  यस अनुसार अहिलेलाई दुई सय जना मात्रै भर्ना हुन पाउनेछन्। 

नेपालबाट कति जना लैजाने भन्ने आधिकारिक भनाई बाहिर नआएपनि नेपालबाट ५००० जना कतार प्रहरीको लागि लगिने टिका टिप्पणी हुन थालेका छन्। कतार प्रहरीमा जानेका लागि हवाई शुल्क, सेवा शुल्क र भिसा शुल्क कतार सरकारले नै बेहोर्ने भनिएको छ।

आर्थिक शोषणको सम्भावना उस्तै !

भर्ना प्रकृया जीटुजी वा म्यानपावर कम्पनीबाटै गर्ने भन्ने अन्यौलताका बावजुद पनि यस अगाडी कतार प्रहरीको लागि भन्दै यसका लागि मोटो रकम उठाईएको थियो। त्यति मात्र नभई अहिले नेपाल सरकारले म्यानपावर कम्पनीबाटै भर्ना लिने भन्ने निर्देशन आउनु अगाडी नै कतार प्रहरीको लागि झन्डै २०० जना कतारमा लगिएको छ। नेपाल स्थित कतारी दुतावास निकट हुने म्यानपावरहरुले मोटो रकम लिएर ती व्यक्तिलाई कतार प्रहरीको लागि लगिएको भन्ने बिषय बाहिर आएपछि बीचमा भर्ना प्रकृया स्थगित भएको थियो।  २०७६ फागुनमा कतार प्रहरीका लागि पहिलो खेपअन्तर्गत १ सय ७९ जना लगिएको थियो। उनीहरू हाल दोहामा प्रहरी सेवामा कार्यरत छन् । उनीहरू हतियारधारी सुरक्षाकर्मी नभएको कतारको दाबी छ ।    

दुतावाससँग नजिक रहेका म्यानपावरहरुले कतार प्रहरीको लागि भनेर यस अगाडी पनि प्रति व्यक्ति १२ लाखसम्म उठाएको भन्दै यसको चर्को आलोचना भएको थियो। कतार स्थित नेपाली दुतावासलाई प्रयोग गरेर सत्ता निकट म्यानपावर व्यवसायीलाई कतार प्रहरीमा भर्नाको जिम्मेवारी दिने खेल सुरु भईसकेकाले अहिलेपनि सर्वसाधारणबाट मोटो रकम असुल हुने सम्भावना धेरै रहेको जानकारहरु बताउँछन।

गत वर्ष मंसिरमा ३ सय जनालाई लैजान अन्तर्वार्ता गरिएको थियो भने अन्तर्वार्ता दिएकाहरुबाट मोटो रकम अर्थात् प्रति व्यक्ति १२ लाख रुपैयाँसम्म उठाईएको चर्चा थियो। यस घटना बाहिर आएपछि वैदेशिक रोजगार विभागले ठाडो हस्तक्षेप गरेको थियो। 

विभागको जानकारी बिना नै आफुखुसि कोटा बाँडेर अन्तर्वार्ताको प्रक्रिया अगाडी बढाएपछि विभागले एसओएस, अल–थाक्वेत ओभरसिज, डी.डी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको थियो। -यी म्यानपावरले कसरी डिमाण्ड हात पारेका थिए भन्नेबारे थाहा पाउन बिजपाटीले लेखेको यो समाचार पढ्नुहोस। 

विभागले एसओएस, डीडी ह्युमेन रिसोर्सेस र होपलाई ६ महिनासम्म कुनै देशमा पनि श्रमिक पठाउन नपाउने गरी कारोबार नै रोक्का गरेको थियो। तर तत्कालीन श्रममन्त्री गौरीशंकर चौधरीले एसओएसमाथि लागेको निलम्बन फुकुवा गरिदिएका थिए। अल–थाक्वेतले भने २०१९ अगस्ट २३ गते ७७ जनालाई कतारी प्रहरीमा भर्ना गर्न अन्तर्वार्ताका लागि विभागबाट पूर्व श्रमस्वीकृति लिएको र त्यसमध्ये ५ जनालाई पठाउन बाँकी रहेको भन्दै उसलाई कारबाही भएन। अहिले पनि अल थाक्वेत म्यानपावरले २ सय जनालाई भर्ना गर्ने जिम्मेवारी पाएको छ। 

प्रहरी सेवामा भर्ती हुनका लागि उमेर २५ देखि ३६ वर्ष, उचाइ ५.८ फिट मापदण्ड तोकिएको छ । करार अवधि भने ५ वर्ष रहनेछ । तालिमका समयमा ३ हजार रियाल र तालिम सकेपछि ६ हजार रियाल मासिक तलब पाउने बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved