आरजुभन्दा एक कदम अगाडी किसान श्रेष्ठ, फ्री भिसामा मलेसिया पठाउने भन्दै लिए अन्तर्वार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 19, 2022 | 01:31:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमित आरजु राणा देउवाले डडेलधुराका युवालाई पटक पटक फ्री भिसा र फ्री टिकटमा विदेश पठाईदिने आश्वासन बाँडिरहेकी छिन् । बिजपाटी डटकमले प्राप्त गरेको विवरण अनुसार राणाले केही म्यानपावर व्यवसायीसँगको मिलेमतोमा डडेलधुराका सबै स्थानीय तहबाट गरी ४ सय जनालाई विदेश पठाएकी छिन् ।

केही दिन अगाडी पनि आरजुले काँग्रेसलाई भोट हाले अरु युवालाई पनि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै भाषण नै गरिन् । यस्तो भाषण गरेपछि उनको आलोचना भयो ।

अहिले ‘आरजु भाउजू’को शैली ठ्याक्कै नेकपा एकिकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान)ले अपनाएका मात्रै छैनन्, उनलाई समेत पछि पार्ने हर्कत गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँ छोडेर बारातिर हामफालेका श्रेष्ठले त आफ्नो निर्वाचन क्षेत्र (बारा क्षेत्र नम्बर ४) मा मलेसिया पठाइदिने भन्दै अन्तरवार्ता नै लिन लगाए । ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टबाट मान्छे झिकाएर उनले बारामा युवाहरुको प्री अन्तरवार्ता नै लिन लगाएका हुन् ।

पूर्व श्रममन्त्रीसमेत रहेका श्रेष्ठले बाराका युवाहरूलाई फ्री भिसा र फ्री टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन दिँदै आफ्नो तस्बिरसमेत भएको चुनावी प्रचारको ब्यानर राखेरै प्री अन्तरवार्ता लिन लगाएको इन्टरनेशनल म्यानपावरका सञ्चालकले स्वीकार गरेका छन् । इन्टरनेशनल म्यानपावरका सञ्चालकल वाई.बी. राई हुन् ।

गठबन्धनबाट बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेवार रहेका श्रेष्ठले परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा गत आइतबार बाराका युवाहरुलाई मलेसियाका लागि अन्तरवार्ता राख्न लगाएका थिए । 

म्यानपावर कनेक्सन

श्रममन्त्री हुँदा किसान श्रेष्ठ म्यानपावरसँग नजिक भए । केही साना म्यानपावरलाई तर्साउँदै उनले ठूलासँग ‘घाँटी’ जोडेका थिए । बसुन्धरास्थित श्रेष्ठको घरमा पनि म्यानपावर कम्पनीको कार्यालय छ । अहिले पनि रिङरोडसँगै जोडिएको श्रेष्ठको घरमा रिलेशन म्यानपावर कम्पनीको अफिस छ ।

इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले मलेसियास्थित रोजगारदाता कम्पनी स्यारिकात सिन क्वङल प्लास्टिक इण्डष्ट्रिजमा ७ सय ५० जना कामदार माग भएको सूचना केही दिन अगाडी निकालेको थियो । यसमा सबै मान्छे आफूले भने अनुसार पठाउन र मंसिर ४ को चुनावपछि पनि गठबन्धनबाट विजयी भएर आफू पुनः मन्त्री बन्ने र त्यतिबेला सहयोग गर्ने आश्वासन श्रेष्ठले म्यानपावरका सञ्चालकलाई दिएका छन् ।

श्रेष्ठले विगतमा आफू श्रममन्त्री हुँदा गरेको सहयोग र पुनः मन्त्री भएर गर्ने सहयोगको ‘च्याखे’ फ्याँकेपछि इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टका सञ्चालक अन्तरवार्ताका लागि कर्मचारी पठाउन बाध्य भएका थिए ।

आयोगले सोध्यो स्पष्टिकरण

मतदाता प्रभावित पार्नेगरी चुनावी अभियानकै क्रममा आफ्नो चुनावी ब्यानर टाँगेर अन्तरवार्ता लिन लगाएपछि निर्वाचन आयोगले श्रेष्ठलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । श्रेष्ठले निर्वाचन आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने प्रयास गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved