आवरणमा देखिएजस्तो छैन मलेशियाका गृहमन्त्री इजमाइलको नेपाल भ्रमण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 02, 2023 | 10:38:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र मलेशिया बीच श्रम सम्झौता भए यता मलेशिया सरकारबाट पहिलो पटक उच्चस्तरीय नेपाल भ्रमण हुन लागेको छ । श्रम सम्झौता कार्यन्वयन र सामाजिक सुरक्षालाई मुख्य मुद्दा बनाएर मलेशियाका गृहमन्त्री फुद्दीन नासुसन् इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै विहिबार नेपाल आउने भएका छन् ।

नेपाल भ्रमणको क्रममा गृहमन्त्री इजमाइलले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । विहिबार नेपाल आउने मलेशियाको उच्चस्तरीय टोली शनिबार बङ्गलादेश प्रस्थान गर्नेछ । 

भेटमा रोजगारीका लागि मलेशिया जाने नेपाली कामदारको मर्यादित श्रम, सामाजिक सुरक्षाको सुनिश्चितता र उपचार पाउने प्रबन्धका बारेमा नेपाली पक्षले कुराकानी गर्ने जनाइएको छ ।  त्यस्तै मलेशियाले पनि नेपालको श्रम बजारमा भएको विकासबारे सुझाव, नेपाली कामदार जाने प्रक्रियाका समस्या समाधानबारे जानकारी दिने भनिएको छ।

आवरणमा नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौता भए यता पहिलो पटक नेपालमा मलेशियाको उच्चस्तरीय भ्रमण भनिए पनि यथार्थता अर्कै रहेको स्रोतको दाबी छ । स्रोतकाअनुसार प्रक्रियागत रुपमा मलेसियाका गृहमन्त्रीको नेपाल भ्रमण नेपाल सरकारको निमन्त्रणामा भएको देखिए पनि वास्तवमा केही म्यानपावर व्यवसायीको स्वार्थमा हुन लागेको हो । 

मलेशियाका लागि रोजगारीमा जाँदा पुरा गर्नुपर्ने प्रक्रियाको तह बढाउने र त्यसमा केही म्यानपावर व्यवसायीको सिन्डिकेट बनाउने नियतले मलेशियाका गृहमन्त्रीको नेपाल भ्रमण तय गरिएको हो । 

वार्षिक १४ लाख वैदेशिक कामदार चाहिने निष्कर्ष निकाल्दै त्यसमा अहिले अभाव भएको ५ लाख कामदार भित्र्याउने तयारीका साथ मलेशियाका गृहमन्त्री इजमाइलले नेपाल, बङ्गलादेशलगायत कामदार श्रोत मुलुकको भ्रमण गर्न लागेका हुन् । ५ लाख मध्ये करिब डेढदेखि दुई लाख कामदार नेपालबाट मलेशिया लैजाने लक्ष्यका साथ उनको नेपाल भ्रमण तय भएको पाइएको छ । 

मलेसियाले उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रका लागि नेपाललगायत श्रोत देशबाट कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन’ योजना ल्याएको छ । तुरुन्तै ५ लाख वैदेशिक कामदार लैजाने नीति ल्याए पनि नेपालबाट कति कामदार भन्ने कोटा यकिन गरेको छैन । 

तर स्रोतका अनुसार कसरी कामदार लैजाने भन्ने कुरा पहिल्यै तय भइसकेको छ र यसका लागि म्यानपावर व्यवसायमा लागेका र हाल उच्च ओहोदामा रहेका व्यक्तिमार्फत नै सम्पूर्ण तयारी भइसकेको जनाइन्छ । केही तयारीसमेत सम्पन्न भइसकेका जानकारी प्राप्त भएको छ । केही म्यानपावरको सिण्डीकेट कायम हुने गरी निर्माण क्षेत्रमा जाने कामदारको लागि ‘क्ल्याब’,  फर्निचरको लागि ‘टिम्बर’ र मलेशिया जानु अगाडिको लागि तयारी कक्षा (एएमएलभिके) स्थापना भइसकेको र यो काम कसले गर्ने भन्ने पनि तय भइसकेको छ । 

त्यस्तै सुरक्षा ‘सेक्युरिटी’को काममा जानका लागि मेडिकल, सर्टिफिकेसन, सेक्युरिटी गार्डको लागि करिकुलमको व्यवस्था गर्ने र त्यसमा केही म्यानपावर व्यवसायीको मात्र सिन्डिकेट रहने गरी प्रक्रिया तय गरिसकिएको पनि बिजपाटीमा जानकारी प्राप्त भएको छ । 

बिजपाटीलाई प्राप्त प्रमाणकाअनुसार नेपालबाट मलेशिया कामदार पठाउनका लागि ‘क्ल्याब’को कार्यालय नेपालमा स्थापना भइसकेको छ। र उसले आफ्नो आधिकारीक वेबसाइटमा कुन देशका कामदारको लागत कति लाग्छ भन्ने स्पष्ट खुलाएको छ। जहाँ नेपालबाट जाने कामदारको लागत प्रति व्यक्ति ३४२६ मलेसियन रिंगेट (नेपाली १०७०००) लाग्ने भनिएको छ। तर उक्त लागत रोजगारदाता कम्पनीले नै ब्योहोर्ने कि कामदारले भन्ने कहीं कतै उल्लेख छैन। जबकी सन २०१८ मा नेपाल र मलेसियाबीच शुन्य लागतमा नेपाली कामदार लैजाने सम्झौता भएको हो।   

बिजपाटीलाई प्राप्ति प्रमाणकाअनुसार अरु म्यानपावरले निर्माणको काममा कामदार लैजान छनौट प्रक्रिया पुरा गरे पनि ‘डकुमेन्ट’को काम भने ‘क्ल्याब’ ले तोकेका तीनवटा म्यानपावरबाट मात्रै हुने गरेको छ। यसमा ‘क्ल्याब’ ले प्रति कामदार एक लाख ८० हजार लिने गरेको छ। 

मलेशियाको निर्माण क्षेत्रमा वैदेशिक कामदार लैजाने एशोसियसनको नाम ‘क्ल्याब’ हो । त्यहाँ निर्माणको कामलाई जी वान, जी टु, जी थ्री, जी फोर, र जी फाइभ गरी ५ भागमा विभाजन गरिएको छ । 

‘क्ल्याब’ कै ढाँचामा ‘टिम्बर’ र ‘सेक्युरिटी गार्ड’ र ‘ग्लोब्स’ को रोजगारीमा नेपालबाट मलेशिया कामदार लैजाने तयारी अनुसार यी कार्यलय पनि नेपालमा नै स्थापनाको तयारी गरिएको स्रोतले बिजपाटीलाई बताएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved