कोरियामा रोजगारीका नाममा फसे हजार युवा, डुब्यो करोडौं रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2023 | 12:55:33 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

रातारात धनी बन्ने सपना बुनेको काठमाडौँको बाँसबारीमा रहेको सि स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरले कानून नै मिचेर वैदेशिक रोजगारीको नाममा एक हजार युवाबाट करोडौँ ठगी गरेको छ । काठमाडौँ महानगरपालिका ३ मा बाँसबारीमा रहेको सि स्टारले कानुन विपरित युवालाई विदेश पठाउने लोभमा फसाएर ठगी गरेको पाइएको हो ।

वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजार नियमावली २०६४मा दर्ता विना कुनै पनि संस्था वा व्यक्तिले नागरिकलाई वैदेशिक रोजगारीमा पठाउन नपाइने स्पष्ट कानूनी व्यवस्था छ ।

उक्त संस्थाका सञ्चालक ललितपुरको केन्ज्योसोम गाउँपालिका–१ का लालबहादुर लामा र सिइओ रोशन न्यौपानेले कानूनको धज्जी उडाउँदै रातारात ‘अर्बपति’ बन्ने सपना बुन्दा एक हजारबढी युवा उनीहरुको जालमा नराम्ररी फसेका छन् ।

ट्रेनिङ सेन्टर २०७८ साल चैत २ गते २८६६९१–०७८–७९ नम्बरमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको देखिन्छ । कम्पनी सुर्नया गाउँपालिका–५ वैतडी घर भएका रोशनबहादुर चन्दको नाममा दर्ता छ । यसको प्रबन्धपत्र र नियमावली हेर्दा स्पष्ट रुपमा ‘पानी जहाजका लागि दक्ष कामदार उत्पादन गर्न तालिम दिने’ उल्लेख छ ।

सेन्टर स्थापनाको एक वर्ष नपुग्दै एक हजार व्यक्तिहरु ठगिएका छन् । वडा कार्यालय र कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेर उसले कामदार उत्पादनको तालिम दिनुको सट्टा ‘रातारात अर्बपति’ बन्ने ध्याउन्नमा कामदार नै विदेश पठाउने धन्दा चलाएको पाइयो ।

९ महिनामा ५० करोड बढी रकम ठगी

सि स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरले ९ महिना बित्न नपाउदै ५० करोड बढी ठगी गरेको खुलेको छ । सञ्चालक लामा र सिइओ न्यौपानेले कोरिया, मकाउ, लिथोनिया, दुबई, मलेसियालगायतका देशमा रोजगारीका लागि पठाउने भन्दै ५० करोडभन्दा बढी रकम ठगी गरेको पाइएको हो । उसले २ महिनामा पठाउने लोभमा फसाएर १ हजार युवाबाट जनही १ लाख देखि १४ लाखसम्म रकम असुलेका पाइएको छ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुषालले उक्त ट्रनिङ सेन्टरको विरुद्ध हालसम्म एक हजारभन्दा बढी लिखित तथा मौखिक उजुरी परेको पुष्टि गरेका छन् ।

यसरी खुल्यो रहस्य

गत चैतमा मात्रै दर्ता भएर देशभर आफ्ना सम्पर्क व्यक्तिमार्फत युवालाई विदेशमा आकर्षक रोजगारी पाइने लोभमा फसाएर सञ्चालक लामा र न्यौपाने पुस तेस्रो हप्ताको सुरुवातमा एकाएक सम्पर्कविहिन बने ।

१४ लाखसम्म रकम बुझाएर भिसा कुरिरहेकासँग नियमित सम्पर्कमै रहेका उनीहरुको लगातार ३ दिनसम्म फोन स्विच अफ भएपछि सिन्धुलीका सुवास वाइवालगायत युवाहरु ट्रेनिङ सेन्टरमा पुगे । त्यहाँ पुग्दा उनीहरु नभेटिएपछि ति युवाहरुले बल्ल महिनौदेखि आफूहरु ‘गुमराह’मा रहेको र ठगिएको थाहा पाए । लगत्तै उनीहरुले वैदेशिक रोजगार विभागमा उजुरी हाले ।

पीडितको उजुरी र सूचनाका आधारमा विभागले प्रहरीको सहयोगमा गत पुस २२ गते सो ट्रेनिङ सेन्टरमा छापा मार्दा कार्यालय परिसरमा रहेको स्कुटरको डिकीलगायतमा ९८० जनाको पासपोर्ट भेटिएपछि सि स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरको धन्दा उदाङ्गो भयो ।

अहिले विभागमा सञ्चालक लामा र सिइओ न्यौपाने विरुद्ध पिडित युवाहरुको उजुरी पर्ने क्रम जारी छ भने बरामद भएका मध्ये ७२५ जनाले पासपोर्ट फिर्ता लिइसकेको छन् ।

छानविन समितिले ‘सिन्को’ भाँचेन

पुस २२ गते संस्थामा छापा हानेर फर्किएको विभागले अनुसन्धान तथा मुद्दा शाखाका प्रमुखसमेत रहेका यादवप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय छानविन तथा अनुसन्धान समिति बनायो ।

समितिमा विभागकै इन्सपेक्टर मधु खड्का, शाखा अधिकृत केदारप्रसाद अधिकारी र आइटीका रामहरी रेग्मी सदस्य छन् । तर समितिले अनुसन्धानका नाममा ‘सिन्को’ भाँच्न सकेको छैन ।

समिति बनेको एक महिना वित्दा पिडितको गुनासो लिनेबाहेक अरु प्रगति नदेखिएको छानविन समितिका संयोजक पौडेलले स्विकारे । ‘यति ठूलो ठगीको केस छ, हामीले कहाँबाट कसरी सुरु गर्ने भन्ने नै मेसो पाइरहेका छैनौँ’, उनले भने ‘सूचना र गुनासो सङ्कलनको काम भइरहेको छ तर उल्लेख्य उपलब्धी दिन सकेका छैनौँ ।’

उनका अनुसार आरोपितहरु कहाँ कुन अवस्थामा छन् भन्ने सुइको समेत समितिले पाउन सकेको छैन । यो काण्डलाई विभागले अनुसन्धानका लागि प्रहरीको सिआइवीसँग सहयोग मागेको छ । तर प्रगति भने शून्य रहेको विभाग स्वयम् स्विकार्छ ।

अहिलेसम्मको उजुरी र गुनासोका आधारमा १ हजार जना युवाबाट ५० करोडभन्दा बढी रकम असुलेको देखिए पनि यो सङ्ख्या अझै बढ्न सक्ने विभाग बताउँछ ।

वेरोजगार युवा कसरी परे लामा र न्यौपानेको जालमा?

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ की लाक्पा डिकी शेर्पा गाउँमै किसानी गरेर आफ्नो जीवन गुजारा गर्दै थिइन् । देशमा बढ्दो आर्थिक मन्दीका कारण गाउँमा गर्दै आएको कृषि पेशाले उनको परिवार पालिन धौ–धौ पर्न थालिसकेको थियो । तर उनीसँग विकल्प पनि थिएन । बढ्दो राजनीतिक अस्थिरताको कारण वाक्क बनेकी शेर्पालाई गाउँकै साथी कान्छी शेर्पाले आफू कोरिया जान लागेको योजना सुनाइन् ।

गाउँको दुख, देशको परिस्थिति हेर्दा उनलाई पनि केही वर्ष विदेशै गएर दुख गर्न पाए घरमा ‘बन्दोबस्त’ हुन्थ्यो कि भन्ने लोभ मनमा पलाउन थाल्यो । त्यसपछि साथीको योजनामा आफू पनि सहभागी बन्ने निर्णय गरिन् । गत भदौताकाको कुरा हो, कोरिया जाने इच्छा राख्दै उनी कान्छी शेर्पा र गाउँका एक आफन्तसँग काठमाडौँको एक ‘मेनपावर’ भनिएको ठाउँमा पुग्छिन् ।

काठमाडौँ ३ बाँसबारीको भित्र एक घरमा सि स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरमा पुगेपछि उनको समुहले ‘मेनपावर’ सञ्चालक लालबहादुर लामासँग कोरिया जाने इच्छा व्यक्त गर्छन् । उनीहरुले ट्रेनिङ सेन्टरलाई म्यानपावर भनेरै चिनाउने गरेका।

कोरियाको नामै उच्चरण हुन नपाउँदै सञ्चालक लामाले संसारका जुनसुकै देशको भिसा मिलाउन सक्ने दावी गर्दै पैसा बार्गेनिङ्को सुरुवात गर्छन् । सुरुमा उनले कोरिया जान १२ लाख लाग्ने र दुई महिनाभित्र नेपालबाट ‘उडाउने’ आश्वास बाँड्छन् । तीन जनाको समूह भएकाले लाग्ने शुःल्क घटाइ दिन उनीहरुले अनुरोध गरेपछि हरेक वचनमा सञ्चालक लामाले १ लाख घटाउँदै बार्गेनिङ गर्छन् । अन्तिममा जनही ८ लाखमा ‘डिल फाइनल’ भएर २ महिनामा कोरिया पु¥याउने वचन दिँदै लामा एक हप्ताभित्र पैसा बुझाउन माग गर्छन् ।

पहिलो पटक सो सेन्टरमा पुगेका उनीहरुले लामालाई विभिन्न देशका लागि भन्दै रकम बुझाइरहेको नजिकबाट देखिरहेका थिए । त्यसैका आधारमा लामालाई केही दिन भित्रै अग्रिम रकम बुझाउन राजी हुँदै पैसाको जोहोमा उनीहरु लागे । केही दिनमा तीन जना ८ लाख रुपैयाँको जोहो गर्दै लामालाई भेट्न संस्थामा पुग्छन् ।

८ लाख बुझाउँदा लामाले कोरियाको एक कम्पनीको सम्झौता पनि गराए । विश्वास जित्न उनीहरुले दिएकै जति रकम बराबरको ग्लोबल आइएमई बैंक महाराजगञ्ज शाखाको चेक लामाले समेत फिर्ता गरे । उनिहरुलाई लामा र न्यौपानेले भनेका थिए ‘भिसा आएन भने यो चेक साट्नुस्, तपाइहरुको रकम हराउँदैन ।’ यति भएपछि शेर्पा समुहलाई ढुक्क भयो ।

रकम बुझाएको एक महिना बित्यो, फोन गर्दा लामा र न्यौपाने दुवैले राम्रै ‘रेस्पोन्स’ गर्थे । भिसा कुनै हालतमा आउँछ भन्थे । २ महिना पनि बित्यो अझै भिसा आएन, फोन गर्दा ‘आउँछ ढुक्क हुनुस’ भन्ने जवाफ पाइरहन्थे । ३ महिना बित्न लाग्दा शोर्पा समुह पुनः लामालाई भेट्न संस्थामै पुगे, भेटिए पनि । तर अर्को धर्मसङ्कटमा पारे ‘यत्रो महिना त कुर्नु भयो अब एक हप्ता कुर्नुस सबै मिल्छ, सब सेटिङ भइसक्यो’ लामा र न्यौपानेले अनुरोध गरे ।

एक हप्ता कुर्ने निधो गरेर घर फर्किएको शेर्पा समूहले पुस २२ गते एक्कासी विभागले छापा मारेर पासपोर्ट बरामद गरेको र सञ्चालक लामा र न्यौपाने फरार रहेको खबर सुने ।

त्यसपछि छाङ्गाबाट खसेझै भएका उनिहरु लामाले दिएको चेक साट्न बैंक पुगे तर रकम थिएन । अहिले उनीहरुले विभाग पुगेर पासपोर्ट त फिर्ता ल्याए तर ऋण गरेर बुझाएको ८ लाख कसरी फिर्ता पाउने ? यस्तै प्रश्न अहिले एक हजार बढी युवाको मनमा खेलिरहेको छ । पैसा फिर्ताका लागि उनीहरु विभाग धाइरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved