नेपालबाट कतार र दुबईमा ट्याक्सी चालक नपठाउने निर्णय किन गरियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 06:02:57 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले एक विज्ञप्ति जारी गर्दै कतार र दुबईका लागि बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा पूर्व स्वीकृति तत्कालका लागि स्थगित गरेको जानकारी दियो ।

नेपालका लागि मुख्य रोजगारदाता रहेको कतार र दुबईमा विभगाले अकस्मात दुई पदमा पूर्व स्वीकृति बन्द गरिनुले वैदेशिक रोजगारीमै सङ्कट पैदा गरिदिएको छ । यसले यि पदहरुमा वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेकालाई अन्योलमा मात्रै पारेको छैन, थप समस्यामा समेत पार्ने निश्चित छ ।

विभागले सूचना जारी गरेर सो विषयको जानकारी दिएपछि देश विदेशमा रहेका श्रमिकले यसबारे प्रतिक्रिया दिएका छन् । विदेशमा बाइक राइडर र ट्याक्सी ड्राइभर सम्मानित पेशा भएको र आम्दानीसमेत राम्रो हुने भएकाले यसलाई सरकारले तत्काल फुकुवा गर्नुपर्ने वैदेशिक रोजगार क्षेत्रमा कार्यरतहरुको धारणा छ ।

समस्या हल गर्ने बाटोतर्फभन्दा थप समस्या र चुनौती सिर्जना गर्नतर्फ सरकार उद्यत रहेको कतिपयको आरोप छ । उनीहरुले विकल्प नदिइ रोजगारीको बाटो नै बन्द गरिनु जायज नरहेको तर्क गरेका छन् ।

सामाजिक सञ्जालदेखि वैदेशिक रोजगारीका सरोकार क्षेत्रमा यस विषयमा वहस उत्पन्न भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेसँग बिजपाटीले जवाफ खोज्ने प्रयास गरेको छ ।

प्रवक्ता घिमिरेको जवाफ

"मुख्य रोजगारदाता देशहरु यिनीहरु पनि हुन् र धेरै संलग्न रहेको पेशा यिनै हुन् । तर समस्या धेरै आयो नी । यहाँबाट सिकेर गए पनि उता पनि ३ महिना ड्राइभिङ सिक्नै पर्ने, लाइसेन्स बनाउन समय लाग्ने । त्यो नभइ गाडी चलाउन पनि नपाइने, चलाउन दिने कुरा पनि भएन ।

यसो गर्दा एउटा ऋण गरेर गाउँको युवा करिब ५–६ महिना त्यसै बस्नुपर्ने अवस्था सिर्जना भयो । त्यो समयमा ऊ त्यहाँ अलपत्र पनि बन्नु पर्ने अवस्था सिर्जना हुने । फ्रस्टेशन भएर विभिन्न घटनको पनि सम्भावना हुने, कतिपयले लाइसेन्स नै निकाल्न नसकेर फिर्ता आउनु परेको अवस्था पनि छ ।

अनि लाइसेन्स पाएकाहरु पनि त्यहाँको ट्राफिक नियममा परिचित नहुँदा अत्याधिक जरिवानामा परिरहेको, दुर्घटनाहरु बढेकोलगायत धेरै समस्या सिर्जना भयो त्यसैले तत्काल यि दुई पदमा पूर्वस्वीकृति नदिने भनेर हामीले निर्णय गरेका हौँ । अब विकल्प किन नदिएको भन्ने प्रश्न आउनु स्वभाविक हो । अब विकल्प खोजिन्छ ।

समस्या धेरै उब्जिएपछि थप समस्या हुन नदिन हामीले पूर्वस्वीकृति स्थगित गरेका हौँ, सधैँका लागि बन्द गरेको होइन । अब विकल्प खोज्ने बाटो खुल्यो । त्यहाँ सम्भावित समस्याहरुको खोजी गरेर समाधानका लागि के गर्न सकिन्छ अब खोज्छौँ ।

सिस्टम नभएर बिग्रिएको हो, अब हामी सिस्टम बसाल्ने कोसिसमा छौँ । उपायहरुको खोजी गर्छौँ । त्यहाँका प्रतिनिधिहरुसँग पनि छलफल गर्छौँ ती पेशालाई व्यवस्थित र मर्यादित साथै सुरक्षित कसरी बनाउने हामी अध्ययन गरेर अघि बढ्ने योजनामा छौँ । तर कति समयपछि खुल्ला हुन्छ भन्ने जवाफ म सँग छैन ।"

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved