सि–स्टारको करोडौ ठगीबारे श्रम मन्त्रालय बेखबर, गम्भिर चासोका साथ विभागसँग सोधपुछ गरिँदै

मोहसिन अलि मियाँ

मोहसिन अलि मियाँ

Mar 01, 2023 | 01:24:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एक हजारभन्दा बढी युवालाई वैदेशिक रोजगारीको लोभ देखाएर सामान्य तालिम केन्द्र सञ्चालन गरी करोडौँ रकम ठगी गर्ने सि–स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरमाथिको अनुसन्धानमा वैदेशिक रोजगार विभागले सिन्को भाँच्न नसकेपछि त्यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष चासो देखाएको छ । 

देशभरका युवालाई विभिन्न प्रलोभनमा फसाएर सिस्टारका सञ्चालक लालबहादुर लामा र सिइओ रोशन न्यौपानेले पचास करोडभन्दा बढी रकम ठगी गरेर फरार भएको महिनौँ वित्दा पनि उनीहरुको विषयमा परेको उजुरी माथि वैदेशिक रोजगार विभागले खास प्रगति गर्न सकेको छैन । त्यसैले गम्भिर विषयलाई महत्व कम दिएपछि मन्त्रालयले विशेष चासोका साथ अनुसन्धान टोलीमाथि प्रश्न उठाएको छ । 

 काठमाडौँ महानगरपालिका ३ बाँसबारीमा रहेको सि–स्टारले तालिम केन्द्र स्थापना गरेर कानुन विपरित विदेश पठाउने भन्दै युवाहरुबाट करोडौँ ठगी गरेर सञ्चालक लामा र सिइओ न्यौपाने २ महिनादेखि फरार छन् । ठगीको गम्भिर अपराधको घटना भएकाले बिजपाटीले निरन्तर फलोअप समाचार दिँदै आएको छ । बिजपाटीसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले विभागबाट जानकारी आउनुपर्नेमा पत्रकारले सोधेपछि मात्रै जानकारी आएको भन्दै अच्चमित बनेको सुनाए ।

‘यत्रो ठगीको केस हुदा हामीकहाँ किन जानकारी आएन, म अचम्मित भएँ’ प्रवक्ता घिमिरेले भने ‘म तत्कालै आफैँ जानकारी लिन्छु, यत्रो युवालाई ठगेर कोही भाग्न पाउँदैन ।’ उनले सबै संयन्त्र प्रयोग गरेर भए पनि ठगी गर्ने लामा र न्यौपानेलाई उम्कन नदिने प्रतिवद्धता जनाए । यस विषयमा मन्त्रालयका तर्फबाट तत्काल जानकारी लिने र हालसम्मको प्रगतिबारे विभागसँग छलफल अघि बढाउने उनले बताए ।

वेदेशिक रोजगार विभागले गत पुस २२ गते सेन्टरको कार्यालयमा छापा मारेको थियो । प्रहरीसहितको सहयोगमा विभागले छापा मार्दा ९८० जनाको पासपोर्ट भेटेएको थियो । सो लगत्तै विभागले अनुसन्धान तथा मुद्दा शाखाका प्रमुखसमेत रहेका यादवप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय छानबिन तथा अनुसन्धान समिति बनाएको थियो ।

तर उक्त घटनाको खास अनुसन्धान नै हुन सकिरहेको छैन । विभागले सि–स्टारमा छापा मारेकै २ महिना हुँदासमेत अनुसन्धान समितिले पिडितबाट उजुरी लिनेबाहेक अन्य प्रक्रिया अघि बढाउन सकेको छैन । यसबारे नियामक निकाय वैदेशिक रोजगार विभागले मन्त्रालयलाई जानकारी पनि नगराएको पाइएको छ ।

ट्रेनिङ सेन्टर स्थापना गरेर मेनपावरको काम गर्न खोज्ने सिस्टारले पिडित बनाएको भन्दै अहिलेसम्म एक हजारभन्दा बढी उजुरी विभागमा परिसकेको छ । हरेकसँग १ लाखदेखि १४ लाखसम्म रकम लिएर कोरिया, मकाउ, लिथोनिया, दुबई, मलेसियालगायतका देशमा रोजगारीका लागि पठाउने भन्दै ५० करोडभन्दा बढी रकम ठगी गरेको विभागले जनाएको छ । विभागले प्रभावकारी अनुसन्धान गर्न नसक्दा पीडितहरु झनै पीडित बन्न पुगेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved