विदेशमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा जोडिन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2023 | 05:59:31 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक पनि अब सामाजिक सुरक्षा कोषमा जोडिने भएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसको आवश्यक तयारी पुरा गरिसकेको छ । 

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि कोषमा आबद्ध गर्न योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ पारित भइसकेको छ । ती श्रमिकहरुलाई बुधबार फागुन ८ गते देखि कोषमा आबद्ध गराउने गरी कार्यक्रम लागू हुने बताइएको छ । कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गर्ने सामाजिक सुरक्षा कोषका सूचना अधिकारी डा रोशन कोजुले बिजपाटीलाई जानकारी दिए ।

उक्त योजना लागू गर्न श्रम मन्त्रालयलेले गत मंसिर २५ गते कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधिको परिच्छेद ३ (५) बमोजिम वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि कोषले तीन प्रकारका योजना अघि सारेको छ । जसमा दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रिम परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना रहेका छन् ।

कार्यक्रममा सहभागी हुन वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम योगदान गर्नुपर्ने हुन्छ । 

सरकारले औद्योगिक क्षेत्रको कामदारको न्यूनतम आधारभूत पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । यसर्थ, कोषमा जोडिन चाहने वैदेशिक रोजगारीमा रहेका श्रमिकले १५ हजारको २१ दशमलव ३३ प्रतिशत बराबर हुन आउने रकम मासिक रूपमा योगदान गर्नुपर्ने हुन्छ । 

मन्त्रालयले पारित गरेको कार्यविधिअनुसार श्रमिकले गर्ने योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि ७ दशमलव ४८ प्रतिशत रकम विनियोजन गरिनेछ । 

वृद्ध अवस्था सुरक्षा योजनामा १३ दशमलव २५ प्रतिशत रकम विनियोजन गरिएको छ । कोषमा आबद्ध हुने योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना सुविधा प्राप्त गर्नेछन् । 

श्रमिकहरु कोषमा आबद्ध हुने कसरी ?

वैदेशिक रोजगारीमा रहेका श्रमिक वा स्वरोजगारमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिँदा श्रमिकको नेपाली नागरिकता वा राहदानी र श्रम स्वीकृतिको प्रतिलिपिलगायत तोकिएका विवरण पेस गर्नुपर्नेछ । 

तर, श्रम स्वीकृति आवश्यक नपर्ने मुलुकमा रोजगारीमा रहेको वा रोजगारीका लागि जाने श्रमिकले आफूले विदेशको कुन स्थान र कम्पनीमा श्रम गर्ने हो सोको विवरण, स्वघोषणा र कम्पनीको नियुक्तिपत्रको प्रतिलिपि पनि पेस गर्नुपर्ने हुन्छ । 

विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले भने नेपाली नागरिकता वा राहदानी र भिसाको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । भिसा आवश्यक नपर्ने मुलुकमा स्वरोजगारमा रहेको भए नेपाली नागरिकता वा राहदानीको प्रमाणित प्रतिलिपि पेस गरे पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved