यस्ता छन् विदेशीएका नेपाली श्रमिक सामाजिक सुरक्षा योजनामा जोडिने ३ तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 06:45:24 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेकाहरुलाई लक्षित गरी सरकारले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ ।वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्य शुभारम्भ गरेको हो । योजनाको एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुरुवात गरेका हुन् ।

वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ ।

उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौं श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि कोषमा आबद्ध गर्न योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ अनुसार उनीहरुलाई यस योजनामा जोडिएको बताइएको छ ।

उक्त योजना लागू गर्न श्रम मन्त्रालयलेले गत मंसिर २५ गते कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधिको परिच्छेद ३ (५) बमोजिम वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि कोषले तीन प्रकारका योजना अघि सारेको छ ।

जसमा दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रिम परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना रहेका छन् । कार्यक्रममा सहभागी हुन वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम योगदान गर्नुपर्ने हुन्छ ।

सरकारले औद्योगिक क्षेत्रको कामदारको न्यूनतम आधारभूत पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । यसर्थ, कोषमा जोडिन चाहने वैदेशिक रोजगारीमा रहेका श्रमिकले १५ हजारको २१ दशमलव ३३ प्रतिशत बराबर हुन आउने रकम मासिक रूपमा योगदान गर्नुपर्ने हुन्छ ।

मन्त्रालयले पारित गरेको कार्यविधिअनुसार श्रमिकले गर्ने योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि ७ दशमलव ४८ प्रतिशत रकम विनियोजन गरिनेछ ।

वृद्ध अवस्था सुरक्षा योजनामा १३ दशमलव २५ प्रतिशत रकम विनियोजन गरिएको छ । कोषमा आबद्ध हुने योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना सुविधा प्राप्त गर्नेछन् ।

योजनामा कसरी जोडिने ?

सामाजिक सुरक्षा कोषका सुचना अधिकारी डा रोशन कोजुका अनुसार वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार बनेका श्रमिकहरु यस योजनामा तिन किसिमबाट सूचिकरण हुन सकिन्छ ।

पहिलो तरिकाः

विदेश जानेबेला श्रम स्विकृती लिदाँ वैदेशिक रोजगार विभागबाट कोषमा सुचिकृत हुन सकिने :

वैदेशिक रोजगार विभागको ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एफइआइएमएस) र सामाजिक सुरक्षा कोषको ‘सोसल सेकुरिटी इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ को वीचमा सहकार्य गरेर डेटा एक्चेन्ज भएको छ । 

त्यसअन्तरगत श्रमिकले वैदेशिक रोजगार विभागको सफ्टवेयरमार्फत व्यक्तिगत रुपमा वा म्यानपावर एजेन्सी मार्फत सूचिकरणका लागि निवेदन दिन सकिनेछ ।

जसमा यसअघिदेखि नै प्रयोग गरिदै आएको श्रम स्विकृती लिनु अघि सफ्टवेयरमा भरिने फारममा दायाँ तिर रहेको ५ वटा ‘नो’ अप्सन र अबदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएको जनाउने अप्सनमा ‘एस’ वटनमा ‘ओके’ भएको हुनुपर्नेछ । यसरी ६ वटा यि ६ वटा कुरा प्रमाणित भएपछि मात्रै श्रमिकले श्रमस्विकृती पाउन सक्ने ब्यवस्था गरिएको छ ।

यो नयाँ श्रमिकका लागि र पुनः श्रम स्विकृति लिदा यि सबै प्रकृया अनिवार्य अपनाउनुपर्ने हुन्छ । यो पहिलो पटक नेपालबाट श्रम स्विकृति लिँदा वा विदेशमै रहेर पुन श्रम स्विकृति लिंदा अपनाउनुपर्ने प्रक्रिया हो ।

यसका लागि हरेक महिनामा २ हजार २ रुपैया कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यो रकम श्रमिकले चाहे अग्रिम रुपमा समेत कोषमा जम्मा गर्न सकिनेछ । कोषमा अग्रिम कम्तिमा ७ महिना वा सो भन्दा बढी समयको रकम जम्मा गर्ने श्रमिकले १० प्रतिशत छुट पाउने ब्यवस्था गरिएको छ ।

दोस्रो तरिका :

विदेश जाने बेला भएका श्रमिकले श्रम स्विकृति लिने बेलामा श्रमिकको एसएसआइडी नम्बरका आधारमा पनि सूचिकरण हुन सकिने र इमेलमा श्रमिकको सामाजिक सुरक्षा आइडी कार्ड र इमेलमै पासवर्ड रिसिभका लागि लिंक समेत आउने गर्छ । यसरी समेत कोषमा आवद्ध हुन सकिन्छ ।

तेस्रो तरिका :

विदेशमा रहेका नेपाली श्रमिकहरु जसको पुन श्रम स्विकृति लिने बेला भएको छैन तर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन चाहेको खण्डमा कोषको वेवसाइटमा गएर ‘बैदेशिक रोजगार सुचिकरण’ भन्ने मेन्यूभित्र गएर ‘नयाँ दर्ता’ मा क्लिक गरेर पनि सुचिकरण हुन सकिने कोषले ब्यवस्था गरेको छ ।

कोषमा कसरी रकम जम्मा गर्ने ?

वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार रहेका श्रमिकले कोषमा आवद्ध भइसकेपछि संसारका जुनसुकै स्थानबाट कोषमा रकम जम्मा गर्न सक्ने ब्यवस्था मिलाइएको छ । 

जसका लागि नेपालमा वा विदेशबाट समेत चल्ने ‘कनेक्ट आइपिएस’ मार्फत 'सेमि गभरमेन्ट’ भित्र जसका लागि सोसल सेक्युरिटी फण्ड भन्ने मेन्यूको माध्यमबाट अथवा इसेवा, फोनपे, खल्ती एप्समा रहेको सोसल सेक्युरिटी फण्ड भन्ने मेन्यूमा गएर कोषमा रकम जम्मा गर्न सकिन्छ ।

यसका अतिरिक्त विदेशमा सक्रिय रहेका नेपाली रेमिट कम्पनीहरुका माध्यमबाट समेत कोषमा रहेको खातामा सिधै रकम पठाउन वा जम्मा गर्न सकिन्छ ।

रकम जम्मा गर्ने बेला श्रमिकले आफ्नो सब्मीसन नम्बर हरेक महिना डिजिटल वालेटको भौचरमा इन्ट्रि गर्दा कति रकम जम्मा गर्नुपर्ने हो सबै विवरण त्याहा आउनेछ ।

केही समस्या भए के गर्ने ?

कोष वा यससंग सम्बन्धित कुनैपनि समस्या वा जिज्ञासा भए निशुल्क हट लाइन १११६ मा सम्पर्क गर्न सकिनेछ । त्यससंगै कोषको वेवसाइट www.ssf.gov.np लगइन गर्ने, फेसबुक पेज social security fund, भाइबर ssfnepal र इमेल [email protected] मा समेत सम्पर्क गर्न सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved