
सरकारले चैत ८ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षामा जोड्ने योजना सुरु गरेको छ । नेपाली श्रमिक, उसका परिवारको सामाजिक सुरक्षा गर्ने उद्देश्यले सरकारले यो योजनालाई फराकिलो बनाउँदै वैदेशिक रोजगारीमा रहेकालाई समेत जोडेको हो ।
यसका लागि सामाजिक सुरक्षा कोषले पहिलो पटक श्रम स्विकृति लिँदा र पुन श्रम स्विकृति लिँदा उनीहरुलाई अनिवार्य रुपमा योजनामा जोड्न सफ्टवेयरको विकास गरेको छ । अब श्रम स्विकृति लिदा यस योजनामा नजोडिए श्रम स्विकृति प्राप्त गर्न सकिंदैन ।
तर तत्कालै सबै वैदेशिक रोजगारीमा रहेकाहरुलाई यसमा जोड्न भने कठिन देखिन्छ । तर पनि कोषमा आवद्ध हुन देशै पिच्छे अभियान चलाउने एनआरएनएका अध्यक्ष कुल आचार्य बिजपाटीलाई बताए ।
‘यो योजना सरकारको मात्रै होइन, हामी एनआएनएले सन् २०११ देखि उठाउँदै आएको एजेण्डा पनि हो’ गैरआवासिय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यले भने ‘आज संसारभर रहेका नेपाली श्रमिकको सपना पूरा भएको छ, यसलाई सफल बनाउनु हामी सबैको जिम्मेवारी र कर्तव्य हो ।’
अध्यक्ष आचार्यले सरकारले ल्याएको सामाजिक सुरक्षा योजनामा विदेशमा रहेका नेपाली श्रमिकलाई जोड्न एनआएनएले अभियान नै चलाउने बताए । जसका लागि अप्रिल ७ मा कतारबाट अभियानको थालनी गर्ने गरी प्रक्रिया अघि बढिसकेको उनले बताए । त्यस्तै अप्रिल ९ बाट मलेसियामा अभियानको सुरुवात हुनेछ ।
‘हामी हाम्रा श्रमिक रहेका राष्ट्रहरुमा घुम्ति शिविर सञ्चालन गरेर यस कोषमा हाम्रा नागरिकलाई जोड्छौ’ अध्यक्ष आचार्यले थपे ‘यसले श्रमिकलाई मात्रै होइन, राज्यको पूजी निर्माणमा पनि सहयोग मिल्छ ।’
गत साउन २० गते काठमाडौँमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली सङ्घ एनआरएनए बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको स्मरण गर्दै आचार्यले योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका करिब ४० लाख नेपाली श्रमिक लाभान्वित हुने बताए ।
निरन्तर प्रयास र सहकार्यको प्रतिफलको रुपमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्न सफल भएको पनि अध्यक्ष आचार्यले बताए ।