श्रममन्त्रीको 'भिआईपी' सम्मेलन, पत्रकारलाई पैसाको व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2024 | 09:00:52 PM मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी आफ्नो सय दिने उपलब्धी सुनाउन भब्य पत्रकार सम्मेलनको आयोजना गरेका छन्। अरु मन्त्रीहरुले मन्त्रालयकै हलमा पत्रकार सम्मेलन गरेर आफ्नो सय दिने उपलब्धि सुनाएकोमा श्रममन्त्री भण्डारीले भने बसेरा होटलमा खाजा खाना र खामको व्यवस्था सहित भब्य पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। 

पत्रकार सम्मेलनको लागि बसेरा होटलमा के कति खर्च गरिएको भन्नेबारे जानकारी नदिएपनि पत्रकारको लागि भने खाममा एक हजार रुपैयाँको व्यवस्था गरिएको सम्मेलनमा सहभागी एक पत्रकारले बिजपाटीलाई बताए। 

सम्मेलनको अन्तिम समयसम्म बस्ने पत्रकारलाई खाममा एक हजार रुपैयाँ राखेर वितरण गरिएको थियो। यद्दपि पत्रकार सम्मेलनमा सहभागी केहि पत्रकारले भने खाम अस्विकार गरेका थिए। 

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुबाट कानुन विपरित मोटो रकम बुझ्ने म्यानपावर व्यवसायीको हित हुनेगरी नीति नियम बनाएर पटक पटक विवादमा आउने गरेका श्रममन्त्री भण्डारी पत्रकार सम्मेलनको शैलीबाट पनि फेरि एक पटक विवादमा तानिने भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल मितब्ययी भएको दाबी गरिरहँदा उनकै मन्त्रिपरिषद सदस्य भण्डारीले भने श्रम मन्त्रालयको भब्य हल लत्याएर बसेरा होटलमा खाजा खाना र खामको व्यवस्था सहितको पत्रकार सम्मेलन गरेका हुन्। 

प्रधानमन्त्री ओलीको सुशासन र मितब्ययितालाई ठाडो चुनौती दिएर आयोजना गरिएको पत्रकार सम्मेलनमा के कति खर्च भयो भन्नेबारे बुझ्नलाई श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेलाई सम्पर्क गर्दा उनको फोन स्विच अफ आएको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved