संसदीय समितिमा पुग्यो ३ गुणाले हवाई भाडा बढेको विषय, 'नेपाली श्रमिकप्रति चिन्तित छौं'

यसोदा चौलागाईं

यसोदा चौलागाईं

Nov 08, 2024 | 06:17:42 PM मा प्रकाशित

laxmi sunrise bank

अन्तराष्ट्रिय हवाईको भाडा बढेको विषय संसदिय समितिमा पुगेको छ । प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले हवाइ भाडाको विषयमा ध्यानाकषर्ण भएको बताएका हुन् ।   

समितिका सभापति अब्दुल खानले श्रमिकको विषयमा समिति सदैव सजग र चिन्तीति रहेको भन्दै यस विषयलाई पनि गम्भीरता पूर्वक लिएको बताएका छन् । अन्तराष्ट्रिय उडानमा भएको तेब्बर भाडा वृद्धिले  नेपाली श्रमिक प्रत्यक्ष मर्कामा पर्ने भन्दै यस विषयमा समितिमा छलफल गर्ने सभापति खानले बताए । 

“समिति श्रमिकको कुरामा सधैं चिन्तीत र सजग छ । आइतबार समितिको बैठक बस्दै छ, यस विषयमा ध्यानपूर्वक चर्चा हुन्छ” सभापति अब्दुल खानले भने।

हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेसँगै खासगरी नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेका छन्  । अरु समयको तुलनामा यस बेला हवाइको भाडा तेब्बर भए पनि श्रमिकहरु उच्च मूल्यमै हवाइ टिकट काट्न बाध्य छन् । 

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि भन्दै यहि कात्तिक २३ गते साँझदेखि उडानमा कतौरी गरेपछि अन्तराष्ट्रिय हवाई कम्पनीहरुले भाडाको दर तेब्बरले बढाएका हुन्। 

नागरिक उड्डयनले त्रिभुवन विमानस्थल बन्द हुँदाको समयमा पोखरा र भैरहवाबाट उडान भर्नलाई आकर्षक प्याकेज ल्याएपनि अधिकांश हवाई कम्पनीले उडान कटौतीको विकल्प रोजेका हुन्। करिब आधाले उडान कटौती हुँदा त्यसको लागत अहिले विशेष वैदेशिक रोजगारीमा जाने नेपालीको टाउकोमा पर्न गएको हो। 

बैदेशिक रोजगारका लागि गन्तब्य मुलुकका देशहरुमा तीन गुणासम्मले भाडा बढाएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले दैनिकै जसो सरकारकौ ध्यानाकषर्ण गराएको छ ।  गत बुधबार मात्रै श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाएको संघले शुक्रबार परराष्ट्र मन्त्री आरजु देउवा, संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री बद्री पाण्डे र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई एकै ठाउँमा राखेर मेनपावर व्यवसायीहरुले ध्यानाकर्षण गराएका हुन् ।

“विगतमा मन्त्रालयमा आफ्ना माग राख्दा एउटा मन्त्रालयले अर्को मन्त्रालयलाई दोषी  देखाउने गरेको कारण  आज तीनै मन्त्रीलाई एकै ठाउँमा राखेर हामीले श्रमिकका हकहितमा आफ्ना मागहरु राखेका छौं । छलफलपछि पर्यटन  मन्त्रालयको संयोजकत्वमा परराष्ट्र , श्रम  र कानुन  मन्त्रालय रहने गरी एक समिति गठन गरिने निर्णय भएको छ” संघका अध्यक्ष राजेन्द्र भण्डारीले  भने । 

मन्त्रालयमा भएको छलफल पछि  वैकल्पिक विमानस्थलको रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ,  पोखरा विमानस्थलको प्रयोग गर्ने विकल्पसमेत अध्ययन गर्ने आश्वासन आएको संघले बताएको  छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved