वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले तीन सय प्रतिशतले हवाई भाडा बढेकाले कामदार पठाउन सक्ने अवस्था नरहेको बताएका छन्। अत्याधिक हवाइ भाडा बृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको भन्दै भण्डारीले यस्तो बताएका हुन्।
उनले भने, ‘तीन सय प्रतिशतसम्म हवाइ भाडा बढेको छ, कामदार पठाउन सक्ने अवस्था छैन’
उनले यसअघि ३०-३५ हजारमा पाइने हवाइ टिकट अहिले एक लाखसम्ममा विक्री भइरहेको बताए । महँगोमा पनि सहज रुपमा हवाइ टिकट पाउने मुस्किल रहेको उनको भनाइ छ ।
‘अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु अप्ठ्यारो अवस्थामा छन् । विशेष गरी हवाइ भाडाको विषयलाई लिएर हामीले दसैंपछिदेखि हामीले महँगो भाडा तिर्नुपर्यो भनेर सम्बन्धित निकायलाई घच्घच्याइरहेका छौं । नेपालबाट दैनिक १२ सयदेखि १५ सय नेपाली काम गर्नका लागि जानुहुन्छ । जो काम गरिरहनु भएको छ, विदामा आएर फर्किने ५ सय जना गरी दैनिक २ हजार जना विदेश जानुहुन्छ । विशेष गरी खाडी मुलुक दुवै, कतार, साउदी अरेविया, बहराइनलगायतका देशमा ८० प्रतिशत नेपाली जानुहुन्छ,’– उनले भने ।
हवाइ भाडा बढ्दा अहिले कामदार पठाउन नसकिने अवस्था रहेको उनले सुनाए । टिकटको मूल्य २÷३ सय प्रतिशतसम्म बढेको उनले बताए । अध्यक्ष भण्डारीले एयरलाइन्स र ट्राभल एजेन्सीहरुले कार्टेलिङ गरेर भाडा बढाएको आरोप लगाए ।
‘हवाइ भाडा बढ्दा हामीले कामदार पठाउन सक्ने अवस्था छैन । अहिले सिजन छ, यसबेला केही भाडा बढ्छ, हामीलाई थाहा छ । तर, १५÷२० प्रतिशत बढ्नुपर्नेमा एकैचोटी २-३ सय प्रतिशतले बढ्यो । यसमा हाम्रो आशंका के हो भने सिमित एयरलाइन्स र ट्राभल एजेन्सीहरुले कार्टेलिङ गरेकी भन्ने आशंका हो । पहिले नै टिकट बुक गर्ने र महँगोमा बेच्ने गरेको हामीले यो भन्दा अगाडि पनि देखेका हौं । अहिले टिकट जतिमा पनि किनबेच भइरहेको छ । वैदेशिक रोजगारीमा जानेहरु मारमा परेका छन् । यहाँबाट टिकट नपाएपछि तेस्रो मुलुकबाट मानिस जानसक्छन् । यसले जोखिम बढ्छ' उनले भने ।
हवाइ भाडाको बारणले गर्दा वैदेशिक रोजगारीमा जानेहरुको विचल्ली भएको उनले सुनाए । कतारको दोहाका लागि अहिले एक लाखभन्दा माथि टिकट मूल्य रहेको उनले सुनाए । त्यही टिकट हिजोको दिनमा ३५-४० दिनमा पाइने गरेको उनको भनाइ छ ।
अहिले अच्चाकाली रुपमा बृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । उनले कालोबजारी भएको पाइएमा कडाभन्दा कडा कारबाही गर्न उनले माग गरे।
हिजोदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सुरु भएको छ । स्तरोन्नतिको कामसँगै हवाइ उडान ३५ प्रतिशतले कटौति हुँदा अन्तर्राष्ट्रिय हवाइ उड्ययन कम्पनीहरुले अचाक्ली भाडा बढाएका छन् । दैनिक १० घण्टासम्म उडान कटौति हुने बताइएको छ ।