कोरियामा दक्ष कामदार पठाउने प्रकृयामा म्यानपावर व्यवसायीलाई संलग्न गराउने निर्णयको चौतर्फी आलोचना भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी यो प्रकृयाबाट पछि हटेका छन्। धेरै सुझाब आएकोले प्रकृयामा पुनरावलोकन गर्ने भन्दै मन्त्री भण्डारी पछि हटेका हुन्।
मन्त्री भण्डारीले म्यानपावर कम्पनी मार्फत कोरियामा उच्च दक्ष कामदार पठाउने गरी नियम संसोधन गरेका थिए। तर यसरी म्यानपावर कम्पनी मार्फत कोरियामा उच्च दक्ष कामदार पठाउदा रोजगारीमा जानेहरुमाथि ठुलो आर्थिक भार पर्ने तथा अनियमितता हुने भन्दै मन्त्री भण्डारीको आलोचना भएको थियो।
मन्त्री भण्डारी अघिल्लो पटक मन्त्री हुँदा पनि उच्च दक्ष कामदारलाई म्यानपावर कम्पनी मार्फत कोरिया पठाउने प्रकृयाबारे निर्णय गरेका थिए। तर त्यसबेला पनि चर्को आलोचना भएपछि मन्त्री भण्डारी निर्णयबाट पछि हटेका थिए।
बीचमा श्रममन्त्री बनेका डोलेन्द्र शर्माले म्यानपावर कम्पनी मार्फत कोरिया पठाउने प्रकृया रोकेका थिए। तर भण्डारी अहिले फेरि मन्त्री हुने बित्तिकै आफ्नो पुरानो एजेन्डा दोहोर्याएका हुन्।
नेपाल सरकारले केहि वर्षदेखि नै कोरियाको रोजगार अनुमती प्रणाली इपिएस मार्फत कोरियामा नेपाली कामदार पठाउदै आएको छ। अहिले पनि यहि प्रकृया मार्फत उच्च दक्ष प्राबिधिक कामदार अर्थात ई सेभेन भिसामा नेपालीलाई कोरिया पठाउनुपर्ने आवाज उठेको छ।