म्यानपावर मार्फत कोरियाको रोजगारीमा जान सकिने अहिलेको ई सेभेन भिसा प्रक्रियालाई म्यानपावर व्यवसायीले समर्थन जनाएका छन्। सरकार मार्फत पठाउनुपर्नेमा म्यानपावर मार्फत पठाउदा उच्च दक्ष भिसामा कोरिया जाने नेपाली कामदार ठगिने भन्दै आलोचना भएपनि म्यानपावर व्यवसायी भने यो प्रक्रियामा समर्थन जानेका हुन्।
चौतर्फी आलोचना भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी यो प्रकृयाबाट पछि हटेपनि म्यानपावर व्यवसायीले भने मन्त्री भण्डारीलाई साथ दिएका छन्।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले ई सेभेन फरक प्रकृतिको भिसा भएकाले म्यानपावर मार्फत पठाउने प्रक्रिया सहि भएको प्रतिक्रिया दिएका छन्। ई सेभेन भिसा कोरियामा उच्च दक्ष कामदार पठाउने प्रक्रिया भएकाले म्यानपावर मार्फत पठाउने कुरा सहि र जायज भएको उनको तर्क छ।
मन्त्री भण्डारीले म्यानपावर कम्पनी मार्फत कोरियामा उच्च दक्ष कामदार पठाउने गरी नियम संसोधन गरेका थिए। तर यसरी म्यानपावर कम्पनी मार्फत कोरियामा उच्च दक्ष कामदार पठाउदा रोजगारीमा जानेहरुमाथि ठुलो आर्थिक भार पर्ने तथा अनियमितता हुने भन्दै मन्त्री भण्डारीको आलोचना भएको थियो।
मन्त्री भण्डारी अघिल्लो पटक मन्त्री हुँदा पनि उच्च दक्ष कामदारलाई म्यानपावर कम्पनी मार्फत कोरिया पठाउने प्रकृयाबारे निर्णय गरेका थिए। तर त्यसबेला पनि चर्को आलोचना भएपछि मन्त्री भण्डारी निर्णयबाट पछि हटेका थिए।
बीचमा श्रममन्त्री बनेका डोलेन्द्र शर्माले म्यानपावर कम्पनी मार्फत कोरिया पठाउने प्रकृया रोकेका थिए। तर भण्डारी अहिले फेरि मन्त्री हुने बित्तिकै आफ्नो पुरानो एजेन्डा दोहोर्याएका हुन्। नेपाल सरकारले केहि वर्षदेखि नै कोरियाको रोजगार अनुमती प्रणाली 'इपिएस' मार्फत कोरियामा नेपाली कामदार पठाउदै आएको छ। तर अहिले कोरियाले माग गरेको ई सेभेन भिसा भने कोरियाले विश्वका बिभिन्न मुलुकबाट उच्च दक्ष जनशक्ती भित्र्याउने भिसा हो। यो भिसामा उच्च दक्ष जनशक्ती रोजगारीको लागि कोरिया जाने गर्दछन।