वैदेशिक रोजगार कसुर मुद्दामा मेलमिलापकर्ताको जिम्मेवारी प्राप्त गरेका ९३ जना कानुन व्यवसायी तथा मेलमिलापकर्ताले सपथ लिएका छन् । वैदेशिक रोजगार न्यायाधीकरणले आयोजना गरेको कार्यक्रममा न्यायाधीकरणका अध्यक्ष गोकर्ण डाँगीले सपथ गराएका हुन्।
न्यायाधीकरणले गत पुस १ गते सोसम्बन्धी कसुर मुद्दामा मेलमिलापकर्ताका रूपमा काम गर्न सूचीकृत भएका कानुन व्यवसायी तथा मेलमिलापकर्ताको टुङ्गो लगाएको थियो । वैदेशिक रोजगारीमा हुने संस्थागत र व्यक्तिगत ठगीसम्बन्धी मुद्दाको फैसला (वैदेशिक रोजगार विभागबाट सजाय हुने भनी लेखिएका बाहेक) न्यायाधीकरणबाट हुँदै आएको छ ।
इजाजतपत्र बिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार विदेश पठाएमा, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा, लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा तथा इजाजत पत्रवालाले व्यक्तिगत रुपमा कामदार पठाएर गठी गरेको मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार क्षेत्र यस न्यायाधीकरणको रहेको छ ।