
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २ फागुनका लागि तोकिएको निर्वाचनसहितको साधारणसभा स्थगित भएको छ। संघको कार्यसमितिले विभिन्न कारण देखाउँदै साधारणसभा आगामी १७ असार २०८२ मा सार्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा अनुमति मागेको छ।
संघका महासचिव मेघनाथ भुर्तेल का अनुसार, व्यवसायीहरूका केही प्रमुख माग सम्बोधन गर्न समय आवश्यक भएकाले साधारणसभा सारिएको हो। संघले व्यवसायीहरूको इजाजत नवीकरणका लागि बाधक रहेको संख्या सय समस्या समाधान, भवन खरिद प्रक्रिया टुंग्याउने, वैदेशिक रोजगार ऐन संशोधन, सेवा शुल्क परिमार्जन लगायतका महत्त्वपूर्ण काम टुंग्याउनुपर्ने भएकाले यो निर्णय लिएको जनाएको छ।
संघका अध्यक्ष राजेन्द्र भण्डारी ले निर्वाचन स्थगित गर्नुमा व्यक्तिगत स्वार्थ नभएको दाबी गर्दै, व्यवसायीको मागअनुसार संख्या सयको समस्या समाधान गर्नका लागि वर्तमान कार्यसमितिलाई केही समय आवश्यक भएको बताए। उनले निर्धारित नयाँ मितिमा निर्वाचन गराउने प्रतिबद्धता समेत व्यक्त गरे।
तर बैदेशिक रोजगार व्यवसायीहरुको बिभिन्न राजनीतिक दल निकट करिब आठवटा संघहरुले भने निर्वाचन सारिएकोमा असन्तुष्ट व्यक्त गरेका छन्। उनीहरुले तोकिएको मितिमै निर्वाचन गरिनुपर्ने लगायतका माग राख्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा निबेदन समेत पेश गरेका छन्।
संघको यो निर्णयलाई उनीहरुले आपत्तिजनक भन्दै कडा विरोध जनाएका छन्। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था, तराई वैदेशिक रोजगार व्यवसायी समाजले संघ, नेपाल बैदेशिक रोजगार तमुधि समाज, नेपाल बैदेशिक रोजगार तामांग समाज, नेपाल बैदेशिक रोजगार मगर समाजको नेतृत्वले विधानविपरीत कार्यकाल लम्ब्याएको आरोप लगाएका छन्।
विरोध गर्ने संस्थाहरूका अनुसार संघको वर्तमान कार्यसमितिको कार्यकाल ६ माघमै समाप्त भइसकेको थियो। तर, कार्यसमितिले विधानको उल्लङ्घन गर्दै नयाँ निर्वाचन टार्न खोजेको उनीहरूको आरोप छ।
उनीहरुले ८०० भन्दा बढी व्यवसायीहरूले शुल्क बुझाइसकेको अवस्थामा निर्वाचन स्थगन गर्नु आपत्तिजनक भएको बताएका छन्। संगठनले संघको वर्तमान नेतृत्वलाई तानाशाही प्रवृत्तिको आरोप लगाउँदै, तत्काल निर्वाचनको सुनिश्चितता गर्न माग गरेको छ।
संघको निर्णयपछि व्यवसायीहरूमा अन्योल छाएको छ। कतिपय व्यवसायीहरूले संख्या सयको समस्या समाधान हुनुपर्नेमा सहमति जनाए पनि, विधानविपरीत कार्यकाल लम्ब्याउने खेल अस्वीकार्य रहेको बताएका छन्।
केहि म्यानपावर व्यवसायीहरुले वर्तमान कार्यसमितिको कार्यकाल माघ ६ गते नै सकिएकाले जिल्ला प्रशासन कार्यालयको अनुमति बिना नै निर्वाचन पांच महिना पछाडी सारिदा कार्यसमितिको बैधानिकतामै प्रश्न उठाएका छन्।
पुर्वअध्यक्ष रोहन गुरुङको पनि असन्तुष्टि
बैदेशिक रोजगार व्यवसायी संघका पुर्व अध्यक्ष रोहन गुरुङले पनि निर्वाचन सारिएकोमा असन्तुष्टि जनाएका छन्। उनले कार्यसमितिले पटक पटक निर्वाचन सार्नलाई गरेको निर्णय जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएको नभएको बारे सदस्यहरुलाई जानकारी दिनलाई समेत आग्रह गरेका छन्।