निर्वाचन सारिएकोप्रति म्यानपावर व्यवसायी आक्रोशित, संघका अध्यक्ष भण्डारीमाथि गम्भीर आरोप

यसोदा चौलागाईं

यसोदा चौलागाईं

Feb 13, 2025 | 08:08:04 AM मा प्रकाशित

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन विधान विपरीत सारिएको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका छन्। संघको विधानअनुसार कार्यसमितिको पदावधि दुई वर्ष मात्र हुने र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, संघले अहिलेसम्म साधारण सभा नगरेको र निर्वाचन मिति सारेर कार्यकाल लम्ब्याउने प्रयास गरेको भन्दै व्यवसायीहरू आक्रोशित बनेका छन्।

संघले फागुन २ गतेका लागि तोकिएको निर्वाचन स्थगित गरेको छ। सदस्य संख्या, शुल्क परिमार्जन, विधान संशोधन र भवन खरिद प्रक्रिया लगायतका कारण देखाउँदै संघले निर्वाचन सार्ने निर्णय गरेको हो। तर, व्यवसायीहरूले यो निर्णयलाई स्वार्थ प्रेरित र गैरकानुनी भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन्।

विधान नै मिचियोः व्यवसायीहरू आक्रोशित

नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी ले कार्यसमितिले निर्वाचन मिति सारेर आफ्नो कार्यकाल लम्ब्याउने प्रयास गरेको आरोप लगाए।

"विधान अनुसार ६ महिनाभित्र साधारण सभा गर्नुपर्ने नियम छ, तर गत साल पनि भएन, यसपटक पनि टालटुल पार्ने रणनीति अपनाइयो। साधारण सभा नभई आर्थिक हिसाबकिताब नै अपारदर्शी रहन्छ," जैसीले भने।

यस्तै, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था तथा प्रगतिशील व्यवसायी समूह ले पनि निर्वाचनको मिति हेरफेर गरेर गलत नजिर बसाउन खोजिएको बताएको छ। महासचिव मधुकर रिजाल का अनुसार कार्यसमितिको कार्यकाल माघ ६ गते नै समाप्त भइसकेको थियो, तर अहिलेसम्म साधारण सभा नगरी निर्वाचन टार्ने रणनीति अपनाइएको छ।

"साधारण सभा नै नगर्ने संघले भवन खरिद गर्न कसरी सक्छ? यो पदमा बसिरहने नियत मात्र हो," रिजालले भने।

संघको बचाउ: ‘निर्वाचन असार १७ अगाडि नै हुनसक्छ’

संघका अध्यक्ष राजेन्द्र भण्डारी ले निर्वाचन स्थगन गर्नुको कारण संघको विधान संशोधन प्रक्रिया र भवन निर्माण अन्तिम चरणमा पुगेको बताउँदै केही समयको आवश्यकता रहेको बताए।

"यो पदमा बसिरहने चाहना होइन, केही महत्त्वपूर्ण कामहरू पूरा गर्नका लागि समय लिएको मात्र हो। असार १७ अगाडि नै निर्वाचन हुने सम्भावना छ," भण्डारीले स्पष्ट पारे।

तर, व्यवसायीहरू भने यो स्पष्टीकरणबाट सन्तुष्ट छैनन्। उनीहरू निर्वाचन तोकिएको समयमा गराउनुपर्ने मागसहित संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved