मुख्य राजनीतिक दल निकट मजदुर संगठनहरूले होटल एसोसिएसन नेपाल (हान) लाई ध्यानाकर्षण पत्र बुझाएका छन्। आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टेकेन्द्र बहादुर महतलाई ध्यानाकर्षण पत्र बुझाउँदै मजदुर संगठनहरूले आगामी चैत २५ गतेसम्मका अभियानात्मक कार्यक्रम सार्वजनिक गरेका छन्।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ का अध्यक्ष कुमार पन्त, नेपाली कांग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ का अध्यक्ष खेमराज खड्का र नेकपा (एमाले) निकट नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन का अध्यक्ष लक्ष्मण तिवारीसहितको संयुक्त टोलीले गत वैशाखमा बुझाइएको ६ बुँदे माग अहिलेसम्म सम्बोधन नभएकोप्रति दुःख व्यक्त गरेका छन्।
हानका सिइओ टेकेन्द्र बहादुर महतले मजदुर संगठनहरूको ध्यानाकर्षण पत्र बुझ्दै मजदुरहरूका विषयमा आफू गम्भीर र सकारात्मक रहेको बताउँदै पत्रलाई हानको कार्यसमितिमा पेस गर्ने बताएका छन्। मजदुर संगठनहरूले १७ वर्षदेखि खाइपाई आएको सेवाशुल्क अदालतको फैसलाबाट गुमेको, नियमित काममा नियमित श्रमिक राख्नुपर्ने विषयमा निरन्तररुपमा छलफल गर्दै नेपाल सरकार, हानलगायतका सरोकारवालालाई ज्ञापन पत्र बुझाउँदै श्रमिक पक्षीय कानूनी व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
मजदुर नेताहरूले गुमेको अधिकार पुनः प्राप्त नभएसम्म अभियानलाई निरन्तर अघि बढाउने घोषणा गरेका छन्। संगठनहरूले चैत ४ गतेदेखि देशभर मजदुर जागरण अभियान सञ्चालन गर्ने, प्रधानमन्त्री, अर्थमन्त्री, श्रम तथा सामाजिक सुरक्षा मन्त्री, पर्यटन मन्त्री तथा सबै दलका संसदीय दलका कार्यालयहरूमा ज्ञापन पत्र बुझाउने र सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएका छन्।
चैत २५ गते ट्रेड युनियन महासंघहरूको उपस्थितिमा काठमाडौंमा विशाल मजदुर सभा आयोजना गरिने कार्यक्रम सार्वजनिक भएको छ। यदि सेवाशुल्क पुनः प्राप्त गर्न कानूनी व्यवस्था सुनिश्चित नगरेमा सशक्त आन्दोलनसहित अर्को चरणको कार्यक्रम घोषणा गर्ने चेतावनी मजदुर संगठनहरूले दिएका छन्।