
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युनाइटेड अरब इमिरेट्स (युएई) सरकारसँग नेपाली श्रमिकको स्वास्थ्य सुरक्षाका लागि सहकार्यको आग्रह गरेका छन्। अबुधाबीमा युएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँग भएको शिष्टाचार भेटमा मन्त्री पौडेलले ठूलो संख्यामा युएईमा कार्यरत नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षामा दुबै देशको समान ध्यान आवश्यक रहेको बताएका छन्।
मन्त्री पौडेलले प्रस्थान गर्नुअघि र विदेशबाट फर्किएपछि श्रमिकहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमहरूबारे जानकारी दिँदै युएई सरकारबाट त्यसमा सहकार्यको अपेक्षा व्यक्त गरे। उनले युएई सरकारसँग नेपालमा मृगौला डायलसिस सेवा विस्तार, अंग प्रत्यारोपण कार्यक्रम सुदृढीकरण तथा डिजिटल प्रविधिमार्फत स्वास्थ्य सेवा विस्तारमा सहयोगको समेत अनुरोध गरे।
युएईका स्वास्थ्य विभाग प्रमुख मन्सुरीले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको जनाउँदै, नेपालसँग आपसी सम्झौता गरी औपचारिक सहकार्य अगाडि बढाउन आवश्यक रहेको बताए। उनले युएईमा रहेका नेपाली श्रमिकहरूको योगदानको प्रशंसा गर्दै, नेपाल सरकारबाट आवश्यक कानूनी र नीति वातावरण तयार भएमा युएईले स्वास्थ्य क्षेत्रमा लगानी गर्न सक्ने स्पष्ट पारे।
भेटमा युएईस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थिति रहेको थियो। दूतावासका अनुसार मन्त्री पौडेल आइतबार अबुधाबीमा आयोजना हुने ‘नेपाल फेस्टिभल’ मा प्रमुख अतिथि रहने छन्।