४१७ मेगावाटको नलसिंङगाड निर्माणबारे उर्जामन्त्री र जापानी राजुदुतबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 02:59:23 PM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा छलफल गरेका थिए । उनले जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखी नलगाडसम्म जापानले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे । मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागी उपयुक्त वातावरण बनेकोले लगानीको लागी जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसंग आग्रह गरे ।

भेटमा जापानी राजदूतले नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा  अध्ययन गरिरहेको जानकारी दिए । उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिंदै सो क्रममा दुई देशको सम्बन्धका साथै उर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए । 

जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगनीका लागी राम्रो वातावरण वनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागी आफुले अपिल गर्ने बताए ।

राजदूत साइगाले भारत र वङगलादेशसंग सहमती भएको क्रस बोर्डर प्रशारण लाइनबारे समेत चांसो व्यक्त गरेका थिए ।  जवाफमा मन्त्री पुनले भारतसंग क्रस बोर्डर ट्रेडको विषयमा राम्रो वातावरण वनेको र गत वर्ष मात्र ७ करोड र यो वर्ष २५ करोडको विजुली भारतमा निर्यात भएको जानकारी दिए । 

उनले वङगलादेशसंग पनि डेडिकेटेट लाइन र भारत हुंदै वङगलादेशसंग पनि विद्युत व्यापार गर्ने विषयमा सहमती भएको भन्दै लगानीको लागी वातावरण बनाईदिन आग्रह गरे । 

नलसिंङगाड परियोजना पिपिपी मोडलमा बनाउने गरी हाल जापानले अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापानी विकास नियोग जाइकाको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम छ । जापान भ्रमणकै क्रममा उनले आफ्ना समकक्षीसंग समेत उक्त परियोजनाका विषयमा छलफल गर्ने तयारी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved