प्राधिकरणले भन्यो 'झ्याप झ्याप बत्ति जाने क्रम गतवर्ष भन्दा यस वर्ष कम'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 12:05:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा बितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार, विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा  ३ सय ४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा  विद्युत अवरोध भएको छ । गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको थियो ।  

प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषित÷अघोषित रुपमा विद्युत विद्युत कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्र्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्ने बताए  ।

‘अहिलेसम्मको डाटा हेर्दा गत वर्षको पुसमाभन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ,’ उनले भने । ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प वत्ति जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भनेर बुझेर डराउनु पर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’ उनले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको बताए ।

स्थानीय रुपमा माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, विदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायतका काम गर्दै विद्युत् आपूर्तिमा  सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यले बताए । सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको  मर्मत सम्भारलगायतका काम गर्न विद्युत आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ । गत वर्षको मंसिरमा यी काम गर्न ४ सय ९१ पटक विद्युत आपूर्ति बन्द (सट डाउन) गरिएकोमा यस वर्ष ३ सय ६२ पटक मात्रै गरिएको छ ।

प्राधिकरणका अनुसार विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको छ । मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत आपूर्ति नियमित गर्न आफु क्रियाशील रहेको प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved