जगदुल्ला जलविद्युत आयोजनाको काम तिब्र, कसको कति लगानी ?

रासस

रासस

Feb 25, 2021 | 09:29:36 AM मा प्रकाशित

laxmi  sunrise bank

जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।

झण्डै रु ३८ करोड १० लाखको लागत अनुमानअनुसार काम शुरु गर्न लागिएको प्रदेशसभा सदस्य शाहीले बताए । त्रिवेणी, नर्कु सर्मी हुँदै जुम्ला जोड्ने मुख्य सडकका रूपमा रहेको यो सडकको निर्माण कार्यको शुरुआतसँगै नयाँ ढोका खुलेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकासँगै छिमेकी जिल्ला जुम्लासँग सडक जोड्ने मद्दत पुग्ने शाहीको भनाइ छ । अघिल्लो वर्ष बोलपत्र आह्वान गरेर रद्द भएपछि दुःखी भएका यहाँका स्थानीयवासी फेरि कामको प्रक्रिया शुरु भएसँगै खुशी भएका छन् । यो सडक खण्डमा अब बाँकी ११ किलोमिटर काम तत्काल शुरु गर्न लागिएको हो ।

त्यस्तै यही सडकखण्डको जाजरकोट, रुकुम पश्चिम आठबीसकोट नगरपालिका र डोल्पाको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माणका लागि बोलपत्र भएर काम शुरु गर्न लागिएको छ । जगदुल्ला जलविद्युत् कम्पनीले सो ठेक्का खोलेको थियो । त्यस्तै काइगाउँ, जगदुल्ला गाउँपालिका–४ को बालुवाकुना र जगदुल्ला गाउँपालिका–२ जोड्ने पक्की पुलको निर्माणका लागि डिपिआर (विस्तृत आयोजना प्रतिवेदन)को काम शुरु भई निकट भविष्यमा पुल निर्माणको काम शुरु गरिने छ । डोल्पाको दुनैसम्म सडक निर्माण भएर यातायातका साधन सञ्चालनमा आए पनि तल्लो डोल्पाकै दुई स्थानीय तहभित्र सडक निर्माण नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन । जगदुल्लाको काइगाउँमा बाँध र मुड्केचुलाको इलमा विद्युत् उत्पादन गृह निर्माण हुन लागेको र अर्को नयाँ जलविद्युत् आयोजनाका लागि प्रक्रिया शुरु भएसँगै सडक निर्माण तत्काल गर्न दबाब परेको हो ।

आयोजनाको निर्माण लागत घट्यो

आयोजनाको डिपिआरको काम सम्पन्न भएको छ । डिपिआर सकिएलगत्तै आयोजना निर्माणको कूल लागत रु १९ अर्ब ९० करोडको लाग्ने अनुमान गरिएको छ । रु २२ अर्बबाट लागत रकम घटेर रु १९ अर्बमा झरेको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजारका दरले मुआब्जा वितरण कार्य पूरा भएको छ ।

कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रूपमा थालिएको आयोजना छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

करिब सात दशमलव एक किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइ र १०० मिटर चौडाइको जलाशययुक्त बाँध निर्माण हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले रु २७ करोडमा लिएको उनको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन् । सरकार आफैँ र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

अहिले विद्युत् उत्पादन गृहको माटो जाँचका लागि ३०० मिटरभित्र सुरुङ निर्माण गर्नुपर्ने छ । त्यस्तै इलमा समेत पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणीदेखि इलसम्मको सडक ट्र्याक छिटो खोलेमा आयोजनाको कामसमेत छिटो हुने आयोजनाको भनाइ छ । आयोजना निर्माणका लागि आवश्यक विद्युत्का लागि इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यताको काम शुरु भएको छ । आयोजना निर्माणस्थल बाँधस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सापकोटाले जानकारी दिए ।

त्यस्तै रु तीन करोडको जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम शुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको मितिमा सम्पन्न हुन मुस्किल परेको छ । काइगाउँबाट मुड्केचलासम्म जोड्ने सडकको काम रु पाँच करोडमा शुरु गरिएको प्रदेशसभा सदस्य शाहीले जानकारी दिए ।

त्रिवेणी, मनमङ र नीलदहमा पक्की पुल जगदुल्ला जलविद्युत् आयोजनाले बनाउने छ । आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न २०७७ पुसमा सार्वजनिक सूचना प्रकाशित गरी प्रभावित क्षेत्रको विवरण दिन आग्रह गरिएको थियो ।

अर्को ८२ मेगावाटको आयोजना

एक सय छ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको जगदुल्ला जलविद्युत् आयोजनाले ८२ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना पनि निर्माणको तयारी गरेको छ । आयोजनाको डिपिआर सार्वजनिक गरेर सरोकारवालाको राय सङ्कलन पनि गरिसकिएको आयोजना प्रमुख सापकोटाले बताए ।

क्यासकेड आयोजनाको रूपमा जगदुल्ला ए निर्माण गर्दा अर्धजालाशयको लागत पनि घट्ने र दुवै आयोजनालाई आकर्षक आयोजना बनाउन सकिने बताइएको छ । विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत् कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत शेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत शेयर दिने बताइएको छ ।

विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत शेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष र दूरसञ्चार कम्पनीको १०÷१० प्रतिशत शेयर छ । अर्थ मन्त्रालय, कानून मन्त्रालय र नागरिक लगानी कोषको पाँच÷पाँच प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवद्र्धक शेयर रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved