तनहुँ जलविद्युतको प्रसारण लाइनका लागि जग्गा अधिग्रहण सुरु, रोपनीको २४ लाख सम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 04:50:56 PM मा प्रकाशित

laxmi  sunrise bank

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । १४० मेगावाट क्षमता भएको आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फको जग्गा अधिग्रहणको काम अगाडि बढाएको हो ।     

आयोजनाले १ करोड ३१ लाख ३४ हजार ५१० रुपैयाँ मुआब्जा वितरण गर्ने गरी २३ रोपनी पाँच आना जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मुआब्जा निर्धारण समितिले जग्गा साथै जग्गामा रहेका रुखबिरुवा, फलफूल तथा नोक्सान भएको बालीनालीको क्षतिपूर्ति रकम लिन आउन सूचना जारी गरेको छ । मुआब्जा निर्धारण समितिको गत पुस १९ गते बसेको बैठकले मुआब्जा तथा क्षतिपूर्ति रकम बुझ्न आवश्यक कागजातसहित प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।     

जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण उपसमितिले चलनचल्तीको मूल्य, मालपोतको दर, स्थानीय तहले मूल्याङ्कन गर्ने आधार, बैङ्कले मूल्याङ्कन गर्ने आधारलाई प्राथमिकतामा राखेर मुआब्जा निर्धारण समितिलाई सिफारिस गरेको थियो । त्यस्तै जग्गाभित्र पर्ने फलफूल, बालीनालीको क्षतिपूर्तिका लागि कृषि ज्ञान केन्द्र र रुखबिरुवाको क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालयले मूल्याङ्कन गरेका थिए ।      

अधिग्रहण क्षेत्रमा रहेका जोखिमयुक्त परिवार अन्तर्गत आदिवासी, जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिलाई अलग्गै रकम वितरण गरिनेछ भने जग्गाभित्र पर्ने पाटी, चौतारालाई अन्यत्रै स्थानान्तरण गरिनेछ । मुआब्जा वितरणका लागि न्यूनतम प्रतिरोपनी १ लाख ७० हजार रुपैयाँ र बढीमा प्रतिरोपनी २४ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

मुआब्जा रकम लिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपत्रको सक्कलप्रति, चालू आर्थिक वर्षमा तिरो तिरेको रसिद, बैङ्कको खाता नम्बर, मृत्यु, बेपत्ता, पूर्ण अशक्ततालगायतका असामान्य कारणले गर्दा सम्बन्धित जग्गाधनी स्वयं उपस्थित हुन नसकेमा सोको प्रमाण र जग्गाधनीसँगको नाता प्रमाणितसहित नजिकको हकवालाले सम्बन्धित वडा कार्यालयको निजलाई नै मुआब्जा तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने भन्ने व्यहोराको सिफारिसपत्र ल्याउनुपर्नेछ ।    

प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालू आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० ओटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ  । 

पहिलो प्याकेज छिट्टै शुरु       

आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माणलगायतको पहिलो प्याकेजको काम छिट्टै शुरु गरिने भएको छ । पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि सम्झौता भएसँगै निर्माण कम्पनीलाई आयोजनास्थलमा खटाउने तयारी गरिएको छ ।          

पहिलो प्याकेज निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूतरुपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीबीच सम्झौता भइसकेको जनाएको छ ।

कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक) मा खरीद सम्झौता भएको थियो । ठेकेदार कम्पनीले खरीद सम्झौता कार्यान्वयनमा आएको ५७ महीनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ ।        

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, यूरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved