६३५ मेगावाटको जलाशययुक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा प्राप्तिको काम सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 10:58:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ६ सय ३५ मेगावाट क्षमताको जलाशययुक्त दुधकोशी जलविद्युत आयोजनाको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको लागि प्रक्रिया अगाडी बढाएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले जग्गा प्राप्तिको लागि १५ दिने सूचना निकालेको हो 

कार्यालयले प्राप्ति गर्न लागेको जग्गाको सुची सार्वजनिक गर्दै यदि कोहि जग्गाधनीलाई आफ्नो जग्गा प्राप्त नगर्नुपर्ने कुनै कारण भए कारण सहित बाटोको म्याद बाहेक १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ । कार्यालयले खोटाङ जिल्लाको रावाबेंशी गाउँपालिका र ऐशेलुखर्क गाउँपालिकाको ५ हजार जना बढीको नाममा रहेको जग्गा पूरा अथवा आंशिक रूपमा प्राप्ति गर्न लागेको हो । जग्गामा रहेका घर, गोठ, टहरा तथा रुखबिरुवा समेत स्थायी रूपमा प्राप्त गरिने छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सो समेतका दाबीका लागि जिल्ला प्रशासन कर्यालय मार्फत गृह मन्त्रालयमा उजुर गर्न सूचनामा आग्रह गरिएको छ  । 

सूचना प्रकाशित भएको मितिदेखि नै प्राप्ति गरिने जग्गाहरू रोक्का हुने हुँदा उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न नगराउनुहुन कार्यालयले आग्रह गरेको छ। उल्लेखित कित्ता नं. जग्गा कित्ताकाट भएको वा उक्त कित्ताको जग्गाधनीको नाम फरक पर्न गएमा  आफूसँग भएको जग्गाको प्रमाण पेस गरेको खण्डमा सोही बमोजिमको कित्ता जग्गा यकिन हुने सूचनामा उल्लेख छ। कैफियतमा स्रेस्ता कायम नभएका कित्ताका जग्गाधनीहरूले रीत पु¥याई आफ्नो नाममा स्रेस्ता कायम गरिने उल्लेख छ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने कार्यालयले जनाएको छ  । 

गत जेठ १५ मा सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेट बक्तब्यमा ६ सय ३५ मेगावाट क्षमताको जलाशययुक्त दुधकोशी जलविद्युत आयोजना निर्माण शुरु गरिने उल्लेख छ। आयोजनाबाट खोटाङ,ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८ सय ७६ हेक्टर जमिन प्रभावित हुनेछ। उक्त आयेजनाबाट वर्षा याममा २ अर्ब ८ करोड  तथा सुख्खा याममा १ अर्ब ३६ करोड युनिट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । 

आयोजना निर्माण हुँदा एक हजार ५० घरपरिवारको खेतीयोग्य जमीन डुबानमा पर्नेछ । आयोजनाका लागि २२० मिटर अग्लो बाँध निर्माण गरी दूधकोशी नदीमा १७ किलोमिटर, रावाखोलामा आठ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशययुक्त ड्याम (बृहत् ताल) बनाइने डिपिआरमा उल्लेख छ ।

१ अर्ब ५२ करोड अमेरिकी डलर (झण्डै १ अर्ब ६० अर्ब) लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दुधकोशी आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी)ले ६० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved