६ मेगावाटको अपर चौरीखोलामा २ सरकारी बैंकले लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 12:53:04 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तिय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले यो आयोजना निर्माण गरिरहेको छ ।

कम्पनी र बैंकबीच आज वित्तीय ब्यबस्थापन सम्झौतामा हस्ताक्षर भएको हो। वित्तिय व्यवस्थापन सम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठ र कृषि विकास बैंकका सिईओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरीखोलामा बन्न लागेको ६ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्न लागेका हुन् । आयोजना १ अर्ब १२ करोड कुल लागतमा बन्न लागेको छ । जसमा निर्माण कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन् । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्ने भएका छन् ।

हस्ताक्षरपछि राष्ट्रिय वाणिज्य बैंकका सिईओ श्रेष्ठले यस कम्पनीमा लगानीले बैंकलाई जलविद्युत क्षेत्रमा थप नयाँ अनुभव प्राप्त हुने विश्वास लिएको बताए । उनले आयोजना सम्बन्धी कम्पनीले गरेका प्रतिवद्धता पूरा गर्न सुझाव दिए । सिईओ श्रेष्ठले जलविद्युत क्षेत्रमा लगानीकर्ताबीच विवाद हुने र आयोजना अलपत्र पर्ने देखिएको भन्दै निर्धारित समय सीमा र लागतमै आयोजना सम्पन्न गर्नुपर्ने बताए ।

“जलविद्युतमा लगानी गर्नेहरुबीच सुरुमा राम्रै सम्बन्ध भएपनि आयोजना बन्न लागेपछि गाडी कसले चढ्ने, शेयरलगायतका विषयलाई लिएर विवाद गर्ने र आयोजना अलपत्र परेका धेरै उदाहरण छन् । यो आयोजनामा त्यसो नहोस् समय र लागत सीमामै रहेर आयोजना सम्पन्न गर्नुहोला, थप सहकार्यको लागि तयार छौं” सिईओ श्रेष्ठले भने । उनले आफूहरुले जे भन्यो त्यही गर्ने भएकोले सम्झौताअनुसार लगानी गर्न कुनै समस्या नआउने समेत बताए ।

त्यसैगरी लगानीकर्ता अर्को बैंक कृषि विकास बैंकका सिईओ अनिलकुमार उपाध्यायले आफूहरुले प्रतिवद्धता पूरा गर्ने भन्दै आर्थिक अनुशासन बस्न आयोजना कम्पनीलाई सुझाव दिए । व्यवसायीक कोणबाट आयोजना एकदमै राम्रो र सम्भवनायुक्त भएकोले आफूहरु लगानी गर्न तयार भएको बताए । सबै अध्ययन र प्रक्रिया पूरा गरेर सम्झौता गरेकाले आफूहरुबाट कुनै समस्या नहुने भन्दै आयोजना कम्पनीलाई सफलताको शुभकामना दिए । उपाध्ययले सरकारी बैंकले लगानी गरेको तर काम भएन भन्ने नहोस् भन्ने आफूहरुले चाहेको बताए ।

कार्यक्रममा हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको माउ कम्पनी कर्णाली जलस्रोत लिमिटेडका अध्यक्ष लोकबहादुर रावतले सम्झौताअनुसारकै लागनी र समय सीमाभित्र आयोजना सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । दुवै सरकारी बैंकले लगानी गर्नुलाई सफलता भएको भन्दै रावतले २०७९ को दशैंमा बत्ति बाल्ने गरी काम अगाडि बढेको जानकारी समेत दिए ।

अध्यक्ष रावतले वर्षायाममा पनि नरोक्ने भन्दै अहिले पनि आयोजना निर्माणको काम जारी रहेको जानकारी समेत दिए । “दुबै सरकारी बैंकले लगानी गर्नु हाम्रो लागि खुशीको कुरा हो । सम्झौताअनुसार लगानी र समय सीमाभित्र आयोजना सम्पन्न गर्नेछौं । वर्षाको समयमा पनि काम रोकिने छैन, आउने दशैंमा बत्ति बाल्ने गरी परियोजनालाई अगाडि बढाएका छौंँ” अध्यक्ष रावतले भने ।

कर्णाली जलस्रोत लिमिटेडको ८० प्रतिशत शेयर रहेको र तीन सय शेयर सदस्य रहेको जानकारी दिँदै अध्यक्ष रावतले सबैको विश्वासमा घात हुन नदिने प्रतिवद्धता समेत जाहेर गरे ।

कार्यक्रममा हिमालयन वाटर रिसर्च तथा इनर्जी डेभलपमेन्ट कम्पनीका अध्यक्ष जुद्ध बहादुर गुरुले काबु बाहिरको अवस्था सिर्जना नभएसम्म निर्धारित समयमै आयोजना सम्पन्न गर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved