घारखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो, असारबाट उत्पादन लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 09:11:11 AM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको तीन हजार पाँच मिटर लामो सुरुङ आज जोडिएको हो ।

बाँधतर्फबाट एक हजार ६०५ मिटर र आउटलेटबाट एक हजार ४०० मिटर लामो सुरुङ निर्माण भएको आयोजनाका इञ्जिनीयर जोसेब बज्राचार्यले जानकारी दिए। “दुई वटा अडितबाट खनिएको यो सम्भवत नेपालको लामो सुरुङ हो”, उनले भने, “भोलिदेखिनै सुरुङलाई कङ्क्रिट गर्न सुरु गर्छौं ।” अर्थुङेस्थित नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न बिस्फोटक पदार्थ प्रयोग गरिएको थियो । विसं २०७४ चैत महिनादेखि सुरुङ निर्माण सुरु भएको थियो ।

आयोजनाको हालसम्म समग्रमा ६२ प्रतिशत भौतिक प्रगति भएको छ । अन्नपूर्ण–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण सकिएको सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरका आयोजना व्यवस्थापक ध्रुव मिश्रले बताए ।

“बाँध नजिकै ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्र्याउने पोखरी (डिसेन्डर) निर्माण भएको छ”, उनले भने, “डिसेन्डरदेखि सुरुङसम्म २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।” पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । अमिलाकाफलमा रहेको आउटलेट देखि विद्युत्गृहसम्म ४८५ मिटर पेनस्टक पाइप जडान सुरु भएको छ । आउटलेटदेखि विद्युत्गृहको दूरी एक हजार २०० मिटर र उचाइ ४८५ मिटर छ ।

घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इण्डिया र हाइड्रोमेकानिकल ठेकेदार सिइ हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पारेको छ । सिभिल ठेकेदारका दैनिक १५० जनाको हाराहारीमा मजदुरले काम गरिरहेका छन् । विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माण कोरोना, निषेधाज्ञा र बन्दाबन्दीका कारण केही ढिलाइ भएको म्याग्दी हाइड्रोपावरका सञ्चालक होमबहादुर गलामीले बताए । उनले २०७९ असार महिनाभित्र आयोजना निर्माण सक्ने कार्यतालिका बनाइएको जानकारी दिए ।

पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सवस्टेशनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनी रोयल कन्स्ट्रक्सनले सामान आपूर्ति गरिसकेको छ । आयोजनाको परामर्शदाता हाइड्रो कन्सल्टका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले जटिल र प्रतिकूल भौगोलिक अवस्थाका बाबजुद आयोजना निर्माण तीव्रताका साथ अघि बढेको बताए ।

कूल रु दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैंकले लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवल लिमिटेडले पनि यस आयोजनामा लगानी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved