१०६१ मेगावाटको अपर अरुणमा एचआइडिसिएलको नेतृत्वमा ५३ अर्ब लगानी गर्न सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2022 | 06:18:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर अरुण जलविद्युत आयोजनाको लागि लगानी जुटाउने विषयमा आज सैद्धान्तिक सम्झौता भएको छ।  हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को नेतृत्वमा ५३ अर्ब १४ करोड लगानीको लागि सैद्धान्तिक सम्झौता भएको हो ।  

आज साँझ  नयाँ बानेश्वर स्थित होटेल एभरेष्टमा उर्जा मन्त्री पम्फा भुषालको उपस्थितिमा सम्झौता भएको हो ।  नेपाल विद्युत प्राधिकरणले अपर अरुण जलविद्युत आयोजना निर्माणको लागि अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड नामक कम्पनी स्थापना गरेको छ।  अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड र एचआइडिसिएलबीच आज सम्झौता भएको हो ।

एचआइडिसिएलको अगुवाईमा आयोजनाको लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषले ऋण लगानी गर्ने छन् । यी ४ संस्थाले ५३ अर्ब १४ करोड जुटाउने गरि आज सैद्धान्तिक सम्झौता भएको हो । यसमा अन्य कम्पनीलाई जोड्दै जाने र त्यसपछि मात्र ऋण सम्झौता हुने बताईएको छ । आयोजनामा लगानी गर्न निफ्रा र नेपाल टेलिकम पनि इच्छुक छन् । 

१ हजार ६१ मेगावाटको यस आयोजनाको लागि २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । जसमा ५३ अर्ब स्थानीय बैंक तथा वित्तीय संस्थाबाट जुटाइने छ । ९७ अर्ब रुपैयाँ विदेशी लगानी रहनेछ भने ६४ अर्ब रुपैयाँ शेयर लगानी रहने छ । आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने छ ।  माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक, एशियाली पूर्वाधार लगानी बैंकलगायतका बहुपक्षीय दातृ निकाय पनि तयार छन् । उर्जा मन्त्रालयले यस आयोजनाको लागि लगानी ब्यबस्थापनको जिम्मा एचआइडिसिएललाई दिएको थियो । 

अपर अरुण जलविद्युत आयोजना नेपाल सरकारबाट जलविद्युत आयोजनाहरुमध्ये रुपान्तरणकारी आयोजनाको (Game Changer Project) रुपमा घोषित अपर अरुण जलविद्युत आयोजना (१०६१ मे.वा.) नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो-इलेक्ट्रिक कम्पनीबाट प्रवर्धन तथा विकास भईरहेको छ।


संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित यस पिकिंग रन-अफ-रिभर आयोजनाको हाल सम्मको अध्ययन अनुसार अरुण नदीमा १८३ मी. लामो र करिव १०० मी. उचाईको बाँध निर्माण गरी ८.५ कि.मी. लामो सुरुङ्ग मार्फत पानी ल्याई छोग्राक स्थीत भूमिगत जलबिद्युतगृहमा खसालिने छ । आयोजनाबाट बार्षिक करिव ४५१२ GWh अर्थात ४ अर्ब ५१ करोड युनिट विद्युत उत्पादन हुनेछ । जसमध्ये करिव ३०% सुक्खायाममा उत्पादन हुनेछ । उत्पादित विद्युतलाई पावर हाउसदेखि करिव ६ कि.मी. ४०० के.भी. डबल सर्किटको प्रशारण लाइन निर्माण गरी हाइटार संखुवासभा स्थीत सबस्टेसनमा जोडिने योजना रहेको छ । हाल सम्मको अध्ययन अनुसार आयोजनाको कुल लागत १७५० MUSD (२ खर्ब १४ अर्ब नेपाली रुपैया) रहेको छ ।

सन् २०२४ को अन्त्य तिर शुरु भई सन् २०३० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाईन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनौट गर्ने कार्य भईरहेको छ । आयोजनाको पूर्व तयारी कार्य मध्ये आयोजनाको २१ कि.मि. लामो पहुँचमार्ग निर्माण कार्यको लागि बोलपत्रदाता छनौट गर्न प्राप्त बोलपत्रहरुको मुल्यांकन कार्य भईरहेको छ भने आयोजनाको लागि आवश्यक करिव २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्ने क्रममा रहेको छ । आयोजनाबाट करिव २२ घरधुरी भौतिक रुपमा बिस्थापित हुनेछन भने आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहेको अध्ययनबाट देखिएको छ । पहुँच मार्गको निर्माण कार्य सन् २०२३ को पुर्वार्धबाट शुरु गर्ने योजना रहेको छ ।

जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व भाव कायम गरि आन्तरिक पुँजिबजारको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकास हेतु शेयर लगानी गर्ने अवसर प्रदान गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर तयार गर्न सरकारले यस आयोजनालाई जनताको जलविद्युत कार्यक्रम "नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी' मा समावेश गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved