१४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2022 | 12:42:26 PM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवद्र्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ ।

कम्पनीका अध्यक्ष भरत नेपालले आयोजनाको बनिसकेका संरचना परीक्षण गर्न थालिएको जानकारी दिए । “बाँध र डिसेन्टर (पानी थिग्राउने पोखरी)मा पानी हालेर परीक्षण सुरु गरिएको छ”, उनले भने, “सुरुङ, विद्युत् गृह, प्रसारण लाइन र सवस्टेशनमा बाँकी संरचना निर्माणलाई तीव्रता दिनाका साथै बनिसकेका संरचनाको परीक्षणलाई सँगसँगै अघि बढाइएको छ ।”

आगामी मङ्सिर महिनादेखि परीक्षण उत्पादन सुरु गर्ने तयारी र लक्ष्यका साथ सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्रता दिइएको आयोजनाका इन्जिनियर जोसेप बज्राचार्यले बताए । “हालसम्म समग्रमा ९२ प्रतिशत भौतिक प्रगति भएको छ”, उनले भने, “२०७८ असोज १३ गते जोडिएको तीन हजार पाँच मिटर लामो सुरुङमा प्लास्टरको काम भइरहेको छ ।” असोजदेखि सुरुङमा परीक्षण गर्ने तयारी छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर)मा परीक्षणका लागि पानी हालिएको छ । डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ ।

अमिलाकाफलमा रहेको आउटलेटदेखि विद्युत्गृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । आउटलेटदेखि विद्युत्गृहको दूरी एक हजार सय मिटर र उचाइ चार सय ८५ मिटर छ । पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर बनाइएको विद्युत्गृहमा छाना छाउने र पर्खाल लगाउने तयारी भएको छ ।

विद्युत्गृहमा जडान गरिने टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकलतर्फका उपकरण आयोजनास्थलसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिक टोली आएका छन् । घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालि र सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चर हो ।

पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने र सवस्टेशनमा सिभिल संरचना बनाउने काम भइरहेको इन्जिनियर बज्राचार्यले बताए ।

कूल रु दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैंकले लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् ।

विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माण कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको सञ्चालकको भनाइ थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved