फेरि लोडसेडिङ गरिएको उद्योगी मुरारकाको आरोप, के भन्छ प्राधिकरण ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 03:49:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गरेको छ । बिहान र बेलुका गरेर दैनिक ८ घण्टा विद्युत कटौती गरिएको औद्योगिक क्षेत्रका उद्योगीहरुले बताएका छन् । 

नेपाल विद्युत प्राधिकरणले पूर्व जानकारी र आधिकारिक तालिका बिना नै बिहान ७ देखि ११ बजेसम्म र बेलुका ६ बजेदेखि १० बजेसम्म लाइन काटेको औद्योगिक क्षेत्र उद्योग महासंघका उपाध्यक्ष बाबुराम पन्तले जानकारी दिए । उनका अनुसार यसबाहेक दिउँसोको समयमा पनि बिजुली कटौती गरिएको छ । 

हिजो सोमबारबाट यस्तो समस्या आएको उद्योगीहरुले बताएका छन् । 

‘हेटौँडा र पोखरामा बिजुली काट्न सुरु गरिएको छ, हाम्रो जानकारीमा आए अनुसार डेडिकेटेड फिडर भएका ठाउँमा लाइन काटिएको छ’ औद्योगिक क्षेत्र उद्योग महासंघका उपाध्यक्ष पन्तले भने, ‘बिहान र बेलुका गरेर ८ घण्टा लाइन काटिएको छ ।’ 

उनका अनुसार नेपालगन्ज र सुर्खेतबाट जानकारी आइसकेको छैन । 

उद्योगीहरुले यस विषयमा प्राधिकरणका अधिकारीहरुसँग बुझ्दा कसैले पनि आधिकारिक जवाफ नदिएको तर, अनौपचारिक रुपमा भने भारतले बिजुली नदिएपछि बिजुली कटौती गर्नुपरेको बताएको उपाध्यक्ष पन्तले जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडसेडिङ सुरु गरेको बताएका छन् । 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले भने लोडसेडिङ सुरु गरेको नभई भारतबाट बिजुली आयात नहुँदा समस्या आएपछि कटौती गर्नुपरेको बताएका छन् । उनले नेपालले बिजुली ल्याउँदै आएको भारतको बिहारस्थित प्लान्टमा ‘इमर्जेन्सी प्रबलम’ आउँदा आवश्यकता अनुसार बिजुली ल्याउन नसकिएको र यसकारण उद्योगीहरुको माग अनुसार बिजुली दिन नसकिएको बताएका छन् ।

‘हामीलाई बिजुली दिँदै आएको बिहारस्थित १३३० मेगावाट विद्युत उत्पादन हुने प्लान्टमा इमर्जेन्सी प्रबलम आएपछि उताबाट बिजुली नआउँदा समस्या भएको हो’ उनले भने, ‘भारतबाट यो समस्या समाधानका लागि दुई चार दिन लाग्न सक्छ भन्ने जानकारी आएको छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved