राप्ती हाइड्रोको रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न, अब परिक्षण बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2023 | 10:44:36 AM मा प्रकाशित

laxmi  sunrise bank

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले रुकुमपूर्वमा निर्माण गरिरहेको रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजनाको रुपमा रहेको रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो ।

आयोजनको अब परीक्षण बाँकी छ ।  आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावरहाउसभित्रको थोरै काम बाँकी रहँदा परीक्षणको समय केही पछि धकेलिएको कन्स्ट्रक्सनले जनाएको छ । यही माघको ७ गतेबाट १२ गतेसम्म आयोजना परीक्षण गर्ने भनेर सूचना निकालेको कन्स्ट्रक्सनले इलेक्ट्रोमेकानिकलअन्तर्गतको केही काम बाँकी रहँदा परीक्षणकार्यलाई दुई सातापछि धकेलिएको कन्स्ट्रक्सनका वरिष्ठ आयोजना प्रबन्धक रामचन्द्र त्रिपाठीले जानकारी दिए । 

उनका अनुसार पवरहाउसभित्रको दुईवटा युनिट, युनिट वान र युनिट टुमा ड्राफ्ट ट्युब फिक्स गर्नका लागि गरिएको कङ्क्रिट ढलानको काम भर्खरै सकिएको र सेट हुन कम्तीमा सात दिन लाग्ने भएको छ । त्यसपछि दुवै युनिटमा इलेक्ट्रोमेकानिकलअन्तर्गतको दुईवटा रनर, दुईवटा सफ्टसिल जोेड्नुपर्ने काम बाँकी हुँदा बाँधबाट पेनस्टक हुँदै पानी भर्ने काम केही समयपछि सरेको छ ।

यति काम सकिएको खण्डमा माघको २० गतेको आसपास आयोजनाको परीक्षण कार्य सुरु गरिने वरिष्ठ आयोजना प्रबन्धक त्रिपाठीले बताए । रुकुमगाड जलविद्युत् आयोजनाको लागत खर्च रु एक अर्ब ३० करोडको हारहारीमा रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनाको काम सन् २०२३ को सुरुआतीमा आएर सकिएको छ । 

बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुमपश्चिमको धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved