१०६ मेगावाटको जगदुल्ला आयोजनामा जुट्यो १६ अर्ब, यस्तो छ शेयर संरचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2024 | 09:26:28 AM मा प्रकाशित

जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । काठमाडौमा आयोजित  एक कार्यक्रममा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । 

द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला  हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरेका छन् ।

आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । नबिल बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्नेछन् ।

यस्तै एचआईडीसीएलले ४ अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् ।  यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान  छ । जसमध्ये करिब १६ अर्ब ऋण र ७ अर्ब रुपैयाँ स्वपूँजीबाट जुटाइने छ ।

वित्तीय व्यवस्थापन भएसँगै आयोजना निर्माणको बाँकी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । एकअध्ययनअनुसार कर्णाली प्रदेशको कुल ऊर्जा उत्पादन क्षमता (कर्णाली, भेरी, तिलालगायतका नदी करिडोरमा) १८ हजार मेगावाट बराबर छ । 

कुल १०६ मेगावाट (मेवा) क्षमताको सो आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ । विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्रसमेत पाइसकेको छ । परामर्शदाता र निर्माण व्यवसायी छनोटका लागि विश्वव्यापीरुपमा बोलपत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए ।

यस्तो छ शेयर संरचना

सो आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्ने गरी शेयर संरचना तय गरिएको छ । पहिलो पटक प्रसारण लाइन प्रभावितका लागिसमेत शेयर लगानी गर्न सक्ने गरी शेयर ढाँचा तय गरिएको छ । संस्थापक शेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

यस्तै एचआईडीसीएलको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण नौ, कर्णाली प्रदेश सरकारको पाँच, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक/एक प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

सर्वसाधारण शेयरधनीका रुपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन÷ तीन प्रतिशत बराबरको शेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको अधिकृतपूँजी ८अर्ब, जारी पूँजी ७ अर्ब १ करोड र चुक्तापूँजी १ अर्ब १ करोड बराबर छ । अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको ग्रस हेड ७८९.६ मिटर छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved