सञ्चालनमा आयो त्रिशूली थ्री बी हब २२० र भाल्चे ३३ केभी सबस्टेसन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2024 | 04:06:08 PM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिका निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाको भाल्चेमा निर्माण गरिएको ३३र११ केभी विद्युत् वितरण सबस्टेसन समेत शुक्रबार नै उद्घाटन गरिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र यूरोपेली आयोगकी अन्तरराष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, यूरोपेली यूनियन (ईयू) की राजदूत भेरोनिक लोरेञ्जो, जर्मन राजदूत थोमस प्रिन्ज र यूरोपेली लगानी बैंक (ईआईबी) की निर्देशक थौउराया ट्रिकीले संयुक्त रुपमा त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन गरेका छन् ।

सबस्टेसनको लागत १ अर्ब ९७ करोड रुपैयाँ छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ ।

भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत ४२ करोड ९३ लाख रुपैयाँ रहेको छ । छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । यसबाट नुवाकोट र रसुवाका २ हजारभन्दा बढी घरधुरी लाभान्वित छन् ।

कार्यक्रममा मन्त्री बस्नेतले त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि मात्र नभएर समग्र देशको विद्युत् प्रणाली व्यवस्थापनका लागि सबस्टेसन निर्माणबाट महत्त्वपूर्ण पाइला थपिएको बताए ।

यूरोपेली आयोगकी उपमहानिर्देशक फेरनले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुध्न नवीकरणीय हरित ऊर्जाको उत्पादन वृद्धिका लागि सबस्टेसन महत्त्वपूर्ण रहेको बताइन् । 

जर्मन राजदूत थोमस प्रिन्जले उत्पादित स्वच्छ हरित ऊर्जा उपभोक्ताको घरसम्म पुर्‍याउन ७ करोड यूरो अनुदान दिन लागिएको जानकारी दिए ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको हरित ऊर्जाको दीगो विकासका लागि यस क्षेत्रको पूर्वाधारमा लगानी गर्न ईयू र यसका सदस्य राष्ट्रहरूलाई आग्रह गरे ।

उनले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधारमा करिब ४६ अर्ब अमेरिकी डलर आवश्यक पर्ने भएकाले लगानीका लागि आग्रह गरे ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणालीआयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेतस्थित चिलिमे हब २२० केभी सबस्टेसनदेखि त्रिशूली थ्री बी हबसम्मको २८ किलोमिटर  २२० केभी डबल सर्किट प्रसारण लाइन र चिलिमे हव २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छन् ।

अनुमानित लागत ६ अर्ब १९ करोड रुपैयाँ रहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली  आयोजना नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू) तथा ईयूको अनुदान सहयोग रहेको छ । ईयूले स्थापना गरेको ईआईबीले आयोजनामा सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन  निर्माण गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved