
विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) ले करिब ८ खर्ब ५३ अर्ब ६२ करोड रुपैयाँ लगानीमा ४ हजार ११३ मेगावाट(मेवा) क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ ।
कम्पनीले मझौला र ठूला क्षमताका आयोजना निर्माणका लागि आवश्यक प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको हो । कम्पनीले अर्ध जलाशयुयुक्त प्रकृतिको ४८० मेगावाट क्षमताको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीसँग मिलेर अगाडि बढाउन लागेको छ । सो आयोजना अगाडि बढाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा भइसकेको छ ।
यसैगरी, कम्पनीले ४५४ मेवा क्षमताको किमाथाङ्का अरुण, १ हजार ९०२ मेवा क्षमताको मुगु कर्णालीको विस्तृत अध्ययनको कामलाई अगाडि बढाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीका अनुसार, निकट भविष्यमा नै ती आयोजनाको आवश्यक अध्ययन प्रक्रिया पूरा हुनेछन् । कम्पनीले ४० मेगावाट क्षमताको सौर्य परियोजनासमेत अगाडि बढाएको छ ।
कम्पनीको सहायक कम्पनीको रुपमा रहेको जगदुल्ला हाइड्रोपावर कम्पनीले गत बुधबार मात्रै १०६ मेवा क्षमताको जगदुल्ला आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ । ऊर्जा क्षेत्रको समग्र सुधार गर्ने र व्यवस्थित रुपमा काम गर्ने लक्ष्यका साथ सरकारले २०७३ मङ्सिर ५ गते कम्पनी स्थापना गरेको हो ।
अघि बढ्दैछन् यी आयोजना
प्राधिकरण र विद्युत् विकास विभागले अध्ययन गरिरहेका आयोजनालाई कम्पनी मातहत ल्याएर विस्तृत अध्ययन तथा आवश्यक काम गरिरहेको छ । सोही कम्पनी मातहतमा नै रहने गरी जाजरकोटामा आयोजनास्थल रहेको ४१७ मेवा क्षमताको नलगाड जलविद्युत् परियोजनासमेत निर्माणमा जाने तयारीमा छ ।
सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । कम्पनीले शेयर अगाडि बढाएको अर्को आयोजना हो सिम्बुवा खोला । सो आयोजनाको क्षमता ७०.३ मेवा बराबर छ । त्यसलाई रेमिट हाइड्रोको अवधारणामा अगाडि बढाइएको छ । त्यस्तै, ७७.५ मेवा क्षमताको घुन्सा खोला पनि विद्युत् उत्पादन कम्पनी मातहत नै छ ।
कर्मचारी सञ्चय कोषको सहायक कम्पनीले अगाडि बढाएको बेतन कर्णाली आयोजनाको व्यवस्थापन र शेयर लगानीमा समेत विद्युत् उत्पादन कम्पनी नै जोडिएको छ । बेतन कर्णालीमा कम्पनीको १० प्रतिशत बराबरको शेयर स्वामित्व छ ।
प्राधिकरणको सहायक कम्पनी एनईए इञ्जिनियरिङमा समेत भीयूसीएलले लगानी गरेको छ । त्यस्तै नेपाल पावर टे«डिङ कम्पनीमा पनि स्वामित्वसहितको लगानी छ । मुलुकलाई ऊर्जामा पूर्णरुपमा सम्पन्न गराउने, लगानीका विभिन्न स्रोतहरुको खोजी गर्ने र सन् २०३५ सम्म २८ हजार ५०० मेवा बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य छ ।
यस्तो छ कम्पनीको शेयर संरचना
कम्पनीको अधिकृत पूँजी २० अर्ब रुपैयाँ र जारी पूँजी १० अर्ब रुपैयाँ छ । कम्पनीमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको २ अर्ब, अर्थ मन्त्रालयको ५० करोड, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको ५० करोड बराबरको शेयर स्वामित्व छ ।
नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल दूरसञ्चार कम्पनीको समान एक ÷एक अर्ब, नागरिक लगानी कोषको ५० करोड बराबरको शेयर छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ४० करोड, राष्ट्रिय बीमा संस्थानको २० करोड बराबरको शेयर छ ।
हालसम्म ७ अर्ब १० करोड बराबरको शेयर बाँडफाँट भएको छ । बाँकी शेयर भने निकट भविष्यमा नै आम नागरिकलाई बिक्री गर्ने कम्पनीको योजना छ । शेयरधनीले ४ अर्ब १० करोड बराबरको रकम मात्रै चुक्ता गरेका छन् । २ अर्ब ८१ करोड बराबरको रकम भने शेयरधनीले उपलब्ध गराउन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ ।
संस्थागत शेयरधनीलाई समूह ‘क’ र ‘ख’मा वर्गीकरण गरिएको छ । यो समूहको शेयर ७१ प्रतिशत बराबर छ भने सर्वसाधारण समूह जुन ‘ग’ समूहमा छन् । जुन शेयर स्वामित्व २९ प्रतिशत बराबर हुन आउँछ ।
श्रममार्फत विपन्न नागरिकलाई शेयर
सर्वसाधारण नागरिकलाई १७ प्रतिशत, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दालाई १० प्रतिशत र अति विपन्न परिवारलाई पनि कम्पनीले शेयर उपलब्ध गराउनेछ । श्रम, रोजगारी वा अन्य कुनै विकल्पको प्रयोग गरेर अति विपन्न नागरिकले शेयरमा लगानी गर्न सक्ने प्रबन्ध गरिएको छ । राससको सहयोगमा