ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2024 | 04:58:26 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए। “पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ। ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ। अवरोध हटाएर आयोजना सम्पन्न गर्न लागिपरेका छौँ,” यादवले भने।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल-भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना शुरू गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग लगायत समस्याका कारण ढिलाइ हुँदै आएको छ।

पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशी लगायत आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा मागअनुसार आपूर्ति गर्न सहज हुनेछ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ स्थित थानाभर्‍याङबाट शुरू भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ २८८ किलोमिटर छ। पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी गरिएको छ।

प्रसारण लाइनलाई हेटौँडा-ढल्केबर १३४ किलोमिटर र ढल्केबर-इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी ११ वर्षदेखि काम जारी  छ। पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि ७९२ वटा टावर निर्माण गर्नुपर्छ। धेरै जसो टावरको काम भए पनि स्थानीय बासिन्दाले प्रसारण लाइनको मार्ग स्थानान्तरण गरिदिन माग गर्दै अवरोध गरेका कारण बाँकी ३५ वटा टावरको काम नै रोकिएको छ।

मोरङ-सुनसारी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप विद्युत् आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्त्वको हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत् आउनसक्ने बताए। कूल ४००÷२२० केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ।

हेटौँडा उपमहानगरपालि वडा नं। १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करीब ६ वर्षदेखि निर्माणमा अवरोध छ। हटिया क्षेत्रमा १४, हेटौंडा-११ स्थित थानाभर्‍याङमा दुई र जियाजोर क्षेत्रमा आठ वटा टावर निर्माणमा अवरोध भइरहेको छ। थानाभर्‍याङमा रहेको सबस्टेसनमा लाइन जडानका लागि दुई वटा टावर निर्माण गर्नुपर्नेछ। यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन्।

स्थानीयको अवरोध अन्त्य गर्न प्रयास भइरहे पनि सहमति जुट्न सकेको छैन। प्रसारण लाइन मकवानपुरबाट बारा-रौतहट,-सर्लाही-महोत्तरी-धनुषा-सिराहा-उदयपुर-सप्तरीहुँदै सुनसरीको इनरुवासम्म निर्माण हुनेछ।

हेटौँडा-ढल्केबर-इनरुवा ४४० केभी प्रसारण लाइन अहिलेको १३२ केभी प्रसारण लाइन र पूर्व-पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ। प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३ मिटर हुनेछ। आयोजनाले ५१८ हेक्टर वन क्षेत्रमा रहेका रूख काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिम अधिग्रहण गर्नुपर्नेछ। मार्गाधिकारमा ४७५ हेक्टर निजी जग्गा र १७१ वटा घर तथा अन्य संरचना प्रभावित हुनेछन्।

कूल १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी छ। यसअघि आयोजनाका लागि विश्व ब्यांकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved