खिम्ती–२ जलविद्युत् आयोजनाले आईपीओ निष्कासन गर्ने,प्रत्याभूतिकर्तामा सीआईटी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 02:43:46 PM मा प्रकाशित

पिपुल्स इनर्जी लिमिटेडले शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोष(सीआईटी) लाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ।

कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको आईपीओ निष्कासन गर्न कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो। त्यससम्बन्धी सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन्।

कम्पनीले रामेछाप जिल्लाको खिम्ती खोलामा निर्माण गरिरहेको ४८.८ मेगावाटको खिम्ती–२  जलविद्युत आयोजनाको जारी पूँजी ३ अर्ब ३० करोड रुपैयाँमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण शेयरमध्ये सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीलाई छुट्याइएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको उक्त शेयरको मूल्य ६६ करोड रुपैयाँ छ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन ठूलो मध्येको उक्त आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।

२.२९ किलोमिटर लामो सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको तथा हेडवक्स वेयर र इलेक्ट्रो मेकानिकलको काम बाँकी रहेको जानकारी उनले बताए ।

यसैगरी,कम्पनी सचिव जनार्दन अर्यालले आगामी एक वर्षभित्र आयोजनाको काम सकेर विजुली बत्ती बाल्ने तयारी रहेको बताए। आयोजनाबाट उत्पादित बिजुली किर्ने शवस्टेशनमा जोडिनेछ।आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न नौ वटा वाणिज्य बैंकले ऋण लगानी गरेका छन्। आयोजनाबाट वार्षिक करिब २६ करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य  छ।

आयोजनाको वार्षिक कुल अनुमानित आम्दानी पहिलो वर्ष १४० करोड रुपैयाँ र वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म वृद्धि हुँदा नवौं वर्षमा १७४ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved