बुटवल–भैरहवा औद्योगिक कोरिडोरका उद्योगीहरुले विद्युत् बक्यौता विवादका कारण आफुहरु समस्यामा परेको बताएका छन्। हिजो एक कार्यक्रमको आयोजना गरि ती १८ उद्योगीहरुले ट्रंकलाइन र डेडिकेटेड विद्युत् महसुल विवादमा आफुहरु समस्यामा परेको बताएका हुन्।
उनीहरुकाअनुसार १८ मध्ये ६ उद्योगमा भैरहवा–पुरानो र भैरहवा न्यू फिडरको लाइनमा लोडसेडिङको समयमा विद्युत् प्रवाह नै भएको थिएन। बुटवल ग्रिड महाशाखाको लगसिटले समेत उक्त कुरा पुष्टि गरेकाले विना आधार र प्रमाण ट्रंकलाइन महसुल तिराउन खोजिनु गलत हो।
बुटवल–भैरहवा कोरिडोरमा सञ्चालित गोयनका फुड्स, घराना फुड्स, श्याम प्लाष्टिक उद्योग, भलबारी स्वचालित चामल कारखाना, एसआर फुड्स र सिद्धार्थ पेट प्लाष्ट उद्योगले २३ वर्षदेखि भैरहवा–पुरानो र भैरहवा–न्यू २ फिडरमार्फत ३३ केभी औद्योगिक विद्युत् कोरिडोर प्रसारण लाइनबाट विद्युत् खपत गर्दै आएको उनीहरुको दाबी छ।
अरु १२ वटा उद्योगको केशमा नेपाल विद्युत् प्राधिकरणको भैरहवा वितरण केन्द्रले प्राविधिक अस्पष्टता र आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्ने क्रममा सो कोरिडोरमा ट्रंकलाइन प्रशारण भएको बताएको थियो ।
ट्रंकलाइनबाट विद्युत् खपत गर्ने सम्बन्धमा कुनै सहमति तथा सम्झौता पनि नभएको उद्योगीले बताएका छन् । माग नगरेको, ४ वर्षसम्म अतिरिक्त महसुलको बिल नआएको र नियमित महसुल तिर्दै आएकाले ४ वर्षपछि ६७ प्रतिशत महंगो महसुल जोडेर बिल पठाउनु आफैंमा शंकास्पद भएकाले छानबिन हुनुपर्ने उद्योगीको माग छ ।
ट्रंकलाइनवाट विद्युत् लिन उद्योगले निवेदन दिइ प्राधिकरणको सञ्चालक समितिवाट स्वीकृत हुनुपर्ने कानुनी व्यवस्था रहेकोमा कोरिडोरका उद्योगले माग नै नगरेका र प्राधिकरणबाट कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।
ट्रंकलाइन माग र खपत नगरेको दाबी गरेका उद्योगहरुमा पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टिल, एसआर स्टिल, नवनेपाल प्लाष्टिक, शुभलक्ष्मी पोलिमर्स, नेशनल रवर इण्डष्ट्रिज, जयदुर्गा प्लाष्टिक, प्रिया प्याकेजिङ्ग, एभरेष्ट रोलिङ्ग इण्डष्ट्रिज, लुम्बिनी फ्लोर मिल र फेरो स्टिल प्रालि छन् ।