सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधाण लगानीकर्ताको कडा आलोचना पछि यसअघिको सार्वजनिक सूचनालाई सच्याएको छ ।
जसअनुसार कम्पनीका शेयरधनीले कर बापतको रकम तिर्नु नपर्ने भएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा यसअघि गत आर्थिक वर्षको मुनाफाबाट गरिएको बोनस शेयरमा कर बापतको रकम कम्पनी स्वंयमले तिर्ने उल्लेख छ ।
कम्पनीले साधारण सभाको सूचना प्रकाशित गर्दै ११ प्रतिशत बोनस शेयर दिने बताएको थियो । बोनस शेयर बापत् तिर्नुपर्ने कर बापतको नगद लाभांश घोषणा नभएपछि शेयरधनीले सामाजिक सञ्जालमा कम्पनीको व्यापक आलोचना गरेका थिए ।
कम्पनीको सञ्चालक समितिले यसअघि दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ११ प्रतिशतले हुन आउने १० करोड २४ लाख ९१ हजार ९६१ रुपैयाँ बराबरको बोनस शेयर (करबाहेक) वितरण गर्ने निर्णय गरेको थियो। यसो हुँदा लगानीकर्ताले यो बोनस शेयर पाउन त्यसमा लाग्ने कर आफैंले तिर्नुपर्ने हुन्थ्यो ।
कम्पनीले आयकर ऐन २०५८ को दफा ५४ (३) बमोजिम कर कट्टीपछि प्राप्त लाभांश आम्दानीबाट लाभांश वितरण गर्दा पुनः कर तिर्नु नपर्ने प्रावधान रहेको बताएको छ ।
विज्ञप्तिमा सोही प्रावधान अनुरुप अघिल्लो साधारण सभामा बोनस शेयर बापत करको लागि छुट्याइएको रकम नै आगामी साधारणसभा स्वीकृति हुने बोनस शेयरको कर तिर्न समेत पर्याप्त हुने उल्लेख छ । लाभांश पारित गर्न कम्पनीले आगामी असोज २१ गते साधारणसभा बोलाएको छ। कम्पनीले ११ प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्तापूँजीको ५४.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि सोही सभाबाट पारित गर्ने योजना बनाएको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।