अपि पावर कम्पनीले लगानी विविधीकरणलाई द्रुत गतिमा अगाडि बढाउन थालेको छ । सोक्रममा कम्पनीले पानी उत्पादन, अपार्टमेन्ट निर्माण तथा थप जलविद्युत् आयोजनामा समेत लगानी गर्ने भएको छ ।
कम्पनीले आफ्नो सहायक कम्पनीको रुपमा रहेको अपी इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने भएको छ ।कम्पनीले ललितपुरको झम्सीखेलमा १ अर्ब २० करोड रुपैयाँ लगानीमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले २१ करोड रुपैयाँ लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्न ३ रोपनी जग्गा खरीद समेत गरिसकेको छ । १० तलाको अपार्टमेन्टमा ४५ ओटा सुविधासम्पन्न युनिट हुनेछ ।
यसैगरी, कम्पनीले आफनो कम्पनीको बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेडमा लगानी गरी ९.७ मेगावाट(मेवा) क्षमताको न्वागाड साना जलविद्युत आयोजना निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै कम्पनीले दार्चुला पावर कम्पनी लिमिटिेडमा लगानी गरी २८.३ मेवा क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने योजना बनाएको छ ।
यसैगरी, कम्पनीले आफ्नै बहुमत शेयर स्वामित्व रहने गरी सूर्यकुण्ड हाइड्रो इलेक्टिक लिमिटेडमा लगानी गरी ११ मेवा क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण गर्ने योजना बनाएको छ । तर उक्त आयोजना भने निर्माण कार्यको अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन कम्पनीको आगामी वार्षिक साधारणसभाले गर्ने छ ।
कम्पनीले दार्चुलाको नौगड गाढ नदीको पानी उपयोग गरी ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजनाबाट आफ्नो व्यावसायिक यात्रा शुरू गरेको थियो । कम्पनीले अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ, जुन हालसम्म सुदूरपश्चिमकै ठूलो जलविद्युत् आयोजना हो ।
कम्पनीले तीन ओटा सोलार आयोजना पनि निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ लगानीमा अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरेर ‘अपि’ ब्रान्डमा पानी बजारमा ल्याउने तयारी भइरहेको बताएको छ । मिनरल वाटर र प्रोसेस्ड वाटर गरी दुई प्रकारको पानी उत्पादन गर्ने तयारी रहेको कम्पनीले यसअघि जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले ती लगानी प्रस्तावहरु पारित गर्न २१ औं वार्षिक साधारणसभा आह्वान बोलाएको छ ।सभा आगामी कात्तिक १ गते बिहीबार काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा हुँदैछ ।