खुदी- २२० केभी सबस्टेसन निर्माण सकियो, १६ सय मेवा विद्युत् प्रवाह क्षमता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2024 | 04:37:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेशिसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

 ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु छन् । सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरुको सफलतापूर्वक परीक्षण गरिएको छ । १३२ केभी सबस्टेसनलाई भने सञ्चालनमा ल्याइएको छ ।

नेपाल विद्युत प्राधिकरण र हिमालयन पावर पार्टनर बीचको विद्युत् खरिदबिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युतर आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई अब यही सबस्टेसनमा जोडिने छ ।

 उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको विद्युतलाई उदीपुर सबस्टेसनलाई बाइपास गरी मध्यममर्स्याङदी विद्युतगृहको स्वीचयार्डमा जोडिएको थियो ।

 सबस्टेसन निर्माण सम्पन्न भएकाले अब दोर्दी करिडोर प्रसारण लाइनलाई यही सबस्टेसनभित्र छिराएर मध्यममर्स्याङदीको स्वीचयार्डतर्फ विद्युत प्रवाह गरिने छ । त्यसपछि मध्यमर्स्याङदी–मर्स्याङदी १३२ केभी प्रसारण लाइन हुँदै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

 प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीय रुपमा समेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए ।  

मर्स्याङदी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना शुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १ हजार ६०० मेगावाट(मेवा) विद्युत् प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

 आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ ।

 यस प्याकेजको उदीपुर–मार्कीचोक खण्डमा पर्ने ११० वटा टावरमध्ये ९० वटाको जग हालिएको छ । मार्कीचोक भरतपुर खण्डमा पर्ने ८३ वटा टावरमध्ये निजी जग्गामा पर्ने ३५ वटा टावरको जग हालिएको छ । बाँकी टावर वन क्षेत्रमा पर्ने भएकाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाउनका लागि सम्पूर्ण पूरा गरी रुख कटान शुरु गर्न लागिएको आयोजना प्रमुख नारायण रेग्मीले बताए ।

 आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २२५ रुख कटान गर्नु पर्नेछ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

 तेस्रो प्याकेजअन्तर्गत मनाङ (धारापानी)– खुदी–उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माणाधीन छन् । २२०/१३२/३३ केभी खुदी सबस्टेसन निर्माण करिब ९० प्रतिशत सकिएको छ । २२०/१३२/३३ मनाङ सबस्टेसन पनि निर्माणाधीन छ । खुदी–उदीपुर प्रसारण लाइन खण्डमा पर्ने ४६ वटा टावरमध्ये २२ वटाको जग हालिएको छ । ६ वटा टावर खडा गरिएको छ ।

नेपाल सरकारको लगानी र यूरोपेली लगानी बैंक (ईआईबी) को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved