
नेपाल विद्युत् प्राधिकरण (NEA) को नेतृत्त्व सम्हाल्न आएका ह्रितेन्द्र देव शाक्यले तयार गरेको श्वेतपत्रले संस्थाको वित्तीय अवस्थाको यथार्थ चित्रण गर्दै गम्भीर चुनौतीहरूको संकेत दिएको छ। तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङ्गको नेतृत्त्वमा विगत ८ वर्षदेखि नाफा कमाएको दाबी गर्दै आएको प्राधिकरणले अझै ५ अर्ब २६ करोड रुपैयाँको नोक्सानी बोकेको श्वेतपत्रमा देखाइएको हो।
प्राधिकरणले आयकर तिरेको छैन भने आय प्रक्षेपणमा पनि विभिन्न बक्यौता र सरकारबाट पाउनुपर्ने रकमलाई समावेश गरेर कृत्रिम रूपमा आम्दानी बढाइएको देखिन्छ।
प्राधिकरणको चालु आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय १ खर्ब ९९ अर्ब रहेको छ भने स्वीकृत खर्च २ खर्ब २८ अर्ब पुगेको छ। यसले गर्दा २९.७५ अर्ब रुपैयाँको घाटा देखिएको छ। दीर्घकालीन ऋण मात्रै २ खर्ब ४८ अर्ब छ, जसमा ७७ अर्ब आन्तरिक र १ खर्ब ७१ अर्ब वैदेशिक छन्। कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब पुगेको छ।
नगद प्रवाहको संकट पनि तीव्र रूपमा देखिएको छ। दैनिक सञ्चालनको लागि आवश्यक रकम करिब १० अर्ब रहेपनि त्यो रकम विभिन्न खातामा विभाजित रहेको र पूर्ण उपयोग गर्न सकिने अवस्थामा छैन। प्राधिकरण १० अर्ब रुपैयाँसम्मको अल्पकालीन ऋण लिन लागेको छ।
प्रविधिमा प्रगति भए पनि विद्युत् खपतको माग अनुसार प्रणाली सन्तुलित छैन। कुल ऊर्जा उत्पादन १०,४३० GWh रहेकोमा ८,६६५ GWh आन्तरिक खपत र १,७६५ GWh निर्यात भएको छ। चुहावट दर १४.८५ प्रतिशत पुगेको छ।
श्वेतपत्रले आगामी दुई सुक्खा सिजनमा क्रमशः ७९१ र ७२८ मेगावाट विद्युत् घाटा हुने प्रक्षेपण गर्दै त्यसको पूर्ति आयातबाट गर्नुपर्ने बताएको छ। समाधानका लागि जलाशय, पम्प स्टोरेज र ब्याट्री प्रविधिमा लगानी तथा खपत वृद्धि दरलाई २० प्रतिशत पुर्याउनुपर्ने सिफारिस गरिएको छ।
यसले प्राधिकरणको नाफामूलक छवि शंकाको घेरामा ल्याएको छ। यथार्थमा प्राधिकरण अत्यधिक ऋण, घाटा, नगद अभाव र पारदर्शिता अभावका कारण दीर्घकालीन चुनौतीको सामना गरिरहेको देखिन्छ।