
लाहानको नाम चलेको वाणिज्य बैंकको एक जना शाखा प्रबन्धकसंग आफ्नै ऋणीको चार लाख प्रिमियम पोलिसीको प्रस्ताव फारम हातमा हुन्छ । उनी विहान नुहाई धुवाई खाजा खाएर शाखा कार्यालय पुग्छन र लाहानमा भएका जीवन बीमा कम्पनीका शाखा प्रमुखहरुको मोबाईल नम्बर लिएर बस्छन। अनि एक-एक गरेर सबैलाई फोन गर्दै आफुसंग चार लाख प्रिमियमको पोलिसी भएको, कति डिपोजिट दिनु हुन्छ पोलिसी तपाईलाई दिन्छु भनेर क्रमशः सबैलाई फोनबाट वोलकवोल गरी भ्याउँछन।
शाखा प्रमुखहरु पनि तुरुन्तै डिपोजिटको निर्णय दिन नसक्ने, आफ्नो प्रधान कार्यालय सम्पर्क गर्छु भनेर समय माग्छन र लाहानको सबै जीवन बीमा कम्पनीका शाखालाई असारसम्मको प्रिमियमको टार्गेट दिएकोले कोही पनि सो पोलिसी छोड्न चाहादैनन् । दिन भरी आ-आफ्नो प्रधान कार्यालयमा कुरा गरी अति खाँचो हुने एउटा पूरानो जीवन बीमा कम्पनीले ५० लाख डिपोजिट दिएर उक्त पोलिसी लिन्छन । त्यसै लगत्तै हप्ता दिनको फरकमा पूनः सोही बैंक शाखा प्रबन्धकले तिन लाख पचास हजारको पोलिसी प्रस्ताव फर्म लिएर जीवन बीमा प्रमुखहरुसंग वोलकवोल वार्गेनिङ्ग गर्ने क्रममा रहेको भेटिए ।
बैंकान्स्योरेन्स भन्दै अभिकर्ता लाईसेन्स लिएर वाणिज्य बैंकहरुले बीमा पोलिसी वोलकवोलमा विक्रि गरिरहेको लाहान बैंक शाखा एउटा उदाहरण पात्र मात्र हो । जीवन बीमा पोलिसी अहिले वाणिज्य बैंकहरुलाई राम्रो कमिशन कमाउने र डिपोजिट संकलन गर्ने गतिलो माध्यम बनेको छ । अभिकर्ता लाईसेन्स नलिउन्जेल तरलता क्राइसिसमा डिपोजिटको लागि जीवन बीमा कम्पनीहरुमा धाउने, अनुनय विनय गर्ने र बढी व्याज दर दिएर डिपोजिट लिन बैंकहरु वाध्य थिए । तर बीमा पोलिसीको कारण ति बैंकहरु नै अहिले जीवन बीमा कम्पनीहरुलाई दबाउन सफल भएका छन ।
एउटै बैंकले जति पनि जीवन बीमा कम्पनीको एजेन्ट भएर काम गर्न सक्ने बीमा समितिको त्रुटि पूर्ण र अव्यबहारीक नीतिको कारण बैंक र बीमामा यो विकृति आएको पाईन्छ । ५ देखि २५ प्रतिशत सम्म कमिशन त्यो पनि पोलिसी विक्रि गरेको १० वर्ष सम्म आइरहने आकर्षण र पोलिसी देखाई-देखाई बीमा कम्पनीलाई भिडाएर सस्तोमा डिपोजिट पाउने भएकै कारण अधिकांश बैंकहरु आफ्ना शाखा र कर्मचारीलाई बीमाको टार्गेट दिएर काम गराईरहेको देखिन्छ ।
यो विषयमा हामिले लाहान शाखाका शाखा प्रबन्धकलाई वोलकवोलबाट पोलिसी किन विक्रि गरेको भनेर प्रश्न गर्दा नाम उल्लेख नगर्ने शर्तमा उनले प्रधान कार्यालयले कर्जा, डिपोजिट र बीमाको पनि लक्ष्य दिएकोले आफुलाई त डिपोजिट लक्ष्य पुर्याउन धेरै सजिलो भएको बताए। टार्गेट पुर्याउने टेन्सन रहेको वेला बीमा पोलिसी सजिलो माध्यम भएको उनको भनाई छ। त्यसैले आफुहरु अहिले डिपोजिट खोज्ने भन्दा पोलिसी खोज्ने या ऋणिलाई नयाँ कर्जा होस वा पूरानो कर्जा नविकरण होस दबाव दिएर बीमा गर्न वाध्य गर्न तर्फ लागिरहेको उनले बताए।
'बीमा टार्गेट पनि पुग्यो , डिपोजिट टार्गेट पनि पुग्यो र आम्दानी कमिशन पनि बढ्यो । अझै बेला बेलामा जीवन बीमा कम्पनीले गराउने मनोरञ्जन र अप्रत्यक्ष्य इन्सेन्टिभले हामी बैंक प्रबन्धकलाई सबै तिरबाट फाइदै फाइदा छ' उनले गर्वका साथ प्रतिक्रिया दिए।
हामीले बीमा गर्ने ऋणिलाई खोज्ने प्रयास गर्यौँ। शुरुमा नाम दिन नमाने पनि सहयोग गर्ने बाचामा नाम दिएर भेट्ने चाँजो मिलाए । ऋणी नाम उल्लेख नगर्ने शर्तमा उनलाई भेट्दा उनको स्पष्ट भनाई थियो, 'के गर्ने बीमा नगरुन्जेल कर्जा रकम रिलिज नै गर्दैनन् । पहिले पहिले नजराना दिनु परथ्यो अहिले बीमा पोलिसीको कारण दिनु परेको छैन । मन लागे बीमा पोलिसीलाई नविकरण गरुला मन लागेन भने अर्को बर्ष तिर्नै पर्ने बाध्यता छैन । यो विषयमा कहाँ गुनासो गर्न जाने, सबै तै चुप मै चुप छन् । पोलिसी किन्नु हाम्रो बाध्यता हो, रहर होइन।'
हामीले त्यस पछि बीमा पोलिसी लिने जीवन बीमा कम्पनीका लाहान प्रमुखलाई भेट्यौँ । बीमा कम्पनीमा काम गर्न योग्यता र अनुभवको कुनै कदर नभएको दुखेसो गर्दै उनले प्रधान कार्यालय, क्षेत्रीय कार्यालय बाटै दिन भरी टार्गेटको प्रेसर मात्र आएको बताए। 'अनि वोलकवोल मै भए पनि डिपोजिट दिएर पोलिसी लिनु हाम्रो रहर हैन बाध्यता भएको छ । जव सम्म एउटै बैंकले १० वटा बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिएर मनलागि हिसावले काम गर्छन तव सम्म यसको कुनै समाधान छैन' उनले भने।
हामीले नेपालमा नाम चलेको अग्रणी मानिने उक्त वाणिज्य बैंकलाई यो विकृतिको विषयमा जानकारी गराउँदा त्यहाँको उच्च व्यवस्थापनले आफुलाई यस विषयमा केही थाहा नभएको, कमिशन आम्दानीको राम्रो माध्यम बीमा पोलिसी पनि भएकोले शाखाहरुलाई बीमा पोलिसी विक्रि गर्न निर्देशन दिएका जवाफ दियो।
'स्वीकृत परिधि भित्र रहेर विक्रि गर्ने शाखाहरुको जिम्मेवारी हो, पोलिसी विक्रिसंगै समझदारीमा सम्बन्धित बीमा कम्पनीसंग डिपोजिट लिनु कुनै नराम्रो काम हो जस्तो लाग्दैन' भन्दै बैंकका उच्च व्यवस्थापनका एक अधिकारि पन्छिन खोजे । अरु एउटा नाम चलेको वाणिज्य बैंकका अध्यक्षले त केही समय अगाडी यो वर्ष १ अर्वको प्रिमियम उठाउने र २५ करोड कमिशन आम्दानी गर्न बैंक व्यवस्थापनलाई टार्गेट दिएको सगौरव भन्दै गरेको कुरा यो समाचारदाताले पनि सुनेको थियो ।
यो विषयमा हामीले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि जिज्ञासा राखेका थियौँ। उनले १९ वटा कम्पनी बीच कडा प्रतिस्पर्धा भएको, ठुलठुलो प्रिमियमको पोलिसी पाउन गाह्यो भएको भन्दै संकलन भएको प्रिमियम बैंकहरुमा राख्नै पर्ने बाध्यता भएको बताए। 'डिपोजिट दिएर पोलिसी आउँछ भने नराम्रो के नै छ र ?' उनले उल्टो प्रश्न सोधे।
उनको भनाईमा व्यक्तिगत अभिकर्तालाई एजेन्सी, सिष्टम कमिशन, इन्सेन्टिभ लगायत १८-२० प्रतिशत अतिरिक्त खर्च दिनु पर्छ । नर्मल रेटमा डिपोजिट दिएर पोलिसी आउँछ भने नोक्सान केही छैन भनेर उनले तर्क दिए।
बैंकहरुले दवाबमा ऋणीहरुलाई पोलिसी विक्रि गरिरहेकोबारे कुरा गर्दा बीमा समितिका उच्च पदस्थहरु यसलाई सामान्य मानेका छन। समग्र बीमा उद्योग र संगै बैंकिङ्ग व्यवसायमा पनि नकरात्मक असर परिरहेकाले यसलाई व्यवस्थित गर्नु पर्यो नि भन्दा बैंकबाट कुल व्यवसायको पाँच प्रतिशत मात्र व्यवसाय भएकोले अहिले केही गरिहाल्ने बेला नभएको बीमा समितिका पदाधिकारीले जवाफ फर्काए।
नयाँ ऐनमा एक बैंक एक बीमा कम्पनीको अभिकर्ताको व्यवस्था आउन थालेकाले यो सबै स्वतः व्यवस्थित हुने भन्दै बीमा समिति जिम्मेवारीबाट सजिलै पन्छिएको देखियो। बैंकहरुको कारण बीमा गर्नेको संख्या र प्रिमियम बढी रहेकोले पनि समिति जानेर नै केहि गर्ने मनस्थितिमा देखिँदैन ।
यसरी समग्रमा हेर्दा अधिकांश बैंकहरु मल्टिपल अभिकर्ता इजाजत लिएर आफ्नो ऋणीलाई जवरजस्ती बीमा गराउने र त्यही बीमा पोलिसीको आडमा निक्षेप संकलन गरिरहेको देखिन्छ । यो कार्यमा बैंक, बीमा कम्पनी, समिति र राष्ट्र बैंक तै चुप मै चुप को अवस्थामा देखिन्छन। यस कार्यले बैंकको मुनाफा बढ्ने र निक्षेपको समाधान पनि हुने अर्को तर्फ बीमा कम्पनीलाई पनि पोलिसी बिक्रिको लक्ष्य पुरा हुने भएकाले उनीहरुलाई बैंकान्स्योरेंस कमाउने गतिलो साधन बनेको छ। तर बैंक र बीमाको यो अस्वस्थ प्रतिस्पर्धाको मारमा बैंकका ऋणीहरु परिरहेका छन।
ऋण रकम स्विकृत र उपभोग कै लागि भए पनि मन नपरेको, आवश्यक नरहेको, बैंकले दवाव दिएकै कारण महंगो बीमा पोलिसी किन्न बाध्य छन । उनीहरुको पिर मर्का सुनिदिने कोही छैन । बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले नै पोलिसी रकमको १५ देखि २० गुणा डिपोजिट दिनुस, बीमा कम्पनीले भनेको बीमा प्रोडक्ट विक्रि गरिदिने भनेर भन्ने गरेको सुनिन्छ । यसरी कमिशन र डिपोजिटको लागि बाध्य बनाएर बैंकहरुले आफ्नो ऋणी र निक्षेपकर्तालाई बीमा पोलिसी विक्रि गर्दा बीमा उद्योगमा मात्र नभएर बैंकिङ्ग व्यवसाय माथि नकारात्मक असर परिरहेको र अझ भन्नु पर्दा बीमा र बैंक प्रति अविश्वास बढ्दै गएको तथ्य लाई सुनिदिने कोही देखिदैन । यस तर्फ राष्ट्र बैंक र बीमा समितिले बैलैमा वीचार पुर्याउनु जरुरी देखिन्छ।