विदेशबाट फर्केकालाई बिना धितो १० लाख कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2019 | 01:12:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा प्रदान गर्नको लागि गत वैशाख अन्तिम साता राष्ट्रिय युवा परिषद् र रिटर्नी माइग्रेन्ट नेपालसँग सम्झौता गर्र्दै एक वर्षमा १२ हजार युवाहरुलाई सहुलियत कर्जा प्रदान गर्ने बताएको थियो । 

स्वदेशमा नै उद्यमशीलताको विकास गर्दै युवाहरुलाई स्वरोजगार बनाउन आवश्यक रहेकोले वैदशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत कर्जा प्रदान गर्ने योजना बनाएको र सोहीअनुसार सम्झौता गरिएको बैंकको भनाई छ । बैंकले विदेशबाट फर्किएका युवा परियोजना कर्जाको लागि छुट्टै डेक्स स्थापना गरेको छ । एनएमबी बैंकले रिटर्नी माइग्रेन्ट नेपाल र वैदेशिक रोजगार विभागको सिफारिसमा युवाहरुलाई कर्जा प्रदान सुरु गरिसकेको छ । हाल बैंकले करिब ३० जना युवाको फाइल स्वीकृत गरेर कर्जा प्रदान गर्ने तयारी गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका र व्यवसाय गर्न चाहने युवालाई प्राथमिकतामा राखेर कर्जा प्रकृयालाई अगाडि बढाएको बैंकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार बैंकहरुले उक्त कर्जा प्रदान गर्नेछन् । नेपाल राष्ट्र बैंकले सरकारले निर्धारण गरेका विभिन्न सातवटा शीर्षकमा सहुलियत कर्जा प्रदान गर्नको लागि २०७५ भदौ महिनामा एकीकृत कार्यविधि जारी गरेको थियो । सातवटा कर्जा शीर्षकमध्ये एउटा विदेशबाट फर्किएका युवा परियोजना कर्जा हो । जसमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई १० लाखसम्म बिनाधितो कर्जा दिने व्यवस्था रहेको छ । कार्यविधिमा बैंकहरुले कर्जा लगानी गर्दा आधार ब्याजदरमा २ प्रतिशतभन्दा माथि प्रिमियम थप गर्न नपाउने र अन्य सेवा शुल्क पनि लिन नपाउने व्यवस्था छ । यस्तो कर्जामा ५ प्रतिशत ब्याज सरकारले अनुदान दिन्छ ।

कस्ता व्यक्तिले पाउँछन् कर्जा?

वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा लिनको लागि परियोजनासँग सम्बन्धित क्षेत्रमा कम्तीमा ६ महिना काम गरेको प्रमाण खुल्ने कागजात वा ६ महिना तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था छ । यस्तै विदेशबाट फर्केको ३ वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । ग्रिनकार्ड र पीआर होल्डरलाई पनि कर्जा नदिइने बैंकले जनाएको छ । 

केके छन् समस्या 

विदेशबाट फर्कने युवाहरुको संख्या धेरै रहेकोले कर्जा माग गर्ने व्यक्तिको संख्या पनि धेरै छ । तर, कार्यविधि अनुसारको प्रक्रिया पुरा गरेर कर्जा माग गर्नेको संख्या भने अत्यन्तै न्युन रहेको एनएमबी बैंकले जनाएको छ । अधिकांश नेपाली वैदेशिक रोजगारीमा जाँदा कुनै तालिम नलिई जाने र त्यहाँ गएर पनि लेबर काम गर्ने हुँदा यहाँ आएर सोही व्यवसाय गर्न नमिल्ने, अन्य व्यवसाय गर्नको लागि कार्यविधिले नदिने हुँदा समस्या भएको एनएमबी बैंक रिटर्न माइग्रेन्ट कर्जा विभागका शम्भु पराजुली बताउँछन् । 

बैंकले एक वर्षको अवधिमा १ हजार जनालाई कर्जा प्रदान गर्ने लक्ष्य लिएको छ । तर, राष्ट्र बैंकको कार्यविधिमा रहेर कर्जा प्रदान गर्नको लागि कागजात नै नपुग्ने हुँदा बैंकले लिएको लक्ष्य नै चुनौती बन्ने अवस्था रहेको पराजुलीको भनाई छ । कार्यविधिमा प्रोजेक्ट प्लान पेश गर्नुपर्ने व्यवस्था रहेको छ । कर्जा माग गर्ने अधिकांशले प्रोजेक्ट प्लान नै दिन नसक्दा कर्जा दिन समस्या भएको बैंकले जनाएको छ । 

योजना बिना कर्जा दिँदा बैंक र सरकार दुवैको उदेश्य पुरा हुँदैन । विदेशबाट फर्किएका युवा परियोजना कर्जा दिन नमिलेमा राम्रो प्रोजेक्ट रिपोर्ट ल्याउनेलाई बैंकले कृषि कर्जा प्रवाह गरिरहेको छ । सम्बन्धित व्यक्तिले कम्तीमा २५ प्रतिशत लगानी गरेको खण्डमा कर्जा सहजरुपले उपलब्ध गराउने बैंकले जनाएको छ । यस्तो लगानीले कर्जा लिने व्यक्तिलाई पनि अपनत्व महसुस हुने पराजुलीको तर्क छ ।  

ट्याक्सी चलाउन चाहनेलाई बैंकले कर्जा प्रवाह गरिरहेको तर विदेशमा सवारी चालकको काम गरेर आएका युवाले ठूला सवारी साधन किनेर चलाउन चाहेको खण्डमा भने यो कर्जा प्रभावकारी हुन नसकेको बैंकको स्वीकारोक्ति छ । कार्यविधिमा १० लाख रुपैयाँसम्म मात्रै कर्जा दिने व्यवस्था रहेकोले ४०÷५० लाख पर्ने गाडी किनेर चलाउने युवाहरु भने बैंकले ५० प्रतिशतसम्म फाइनान्स गर्ने साधारण कर्जातर्फ आकर्षित हुने गरेका छन् । 

अन्य प्रावधान

कर्जा लिने व्यक्तिको प्यान नम्बर अनिवार्य रहेको छ । त्यस्तै कर्जा लिएको व्यक्ति कर्जा अवधिभर विदेश नजाओस् भनेर श्रम स्वीकृति रोक्का गरिने बैंकले जनाएको छ । उक्त कर्जाको ७५ प्रतिशतसम्म बीमा सुविधा रहेको भएपनि त्यो प्रभावकारी नभएको बैंकरहरु बताउँछन् । कुनै व्यक्तिले कर्जा नतिरेमा बीमा दाबी गर्न कर्जा नतिरेको कम्तीमा ५ वर्ष हुनुपर्ने कानुनी व्यवस्था रहेकोले बैंकलाई गाह्रो पर्ने बैंकको दाबी छ ।

नेपालमा स्थापित उद्योगलाई मात्रै कर्जा दिने र नयाँ उद्योगलाई बैंकले विश्वास गर्ने अवस्था नरहेको परिस्थितिमा एनएमबी बैंकले नयाँ अभ्यासको थालनी गरेको छ । योजना अनुसार यो वर्ष १ हजार युवालाई परियोजना मार्फत जोड्ने योजना रहेको र यसले बैंकलाई तत्काल कुनै लाभ नभएपनि ग्राहक आधार बढ्न गई दीर्घकालीन रुपमा राम्रो हुने पराजुली बताउँछन्।

-बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved