४ कम्प्युटरबाट सुरु भएको आरबीबीको डिजिटल यात्रा: २०५२ साल बन्यो 'टर्निङ्ग पोइन्ट'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2020 | 11:47:26 AM मा प्रकाशित

laxmi  sunrise bank

समयक्रमसँगै बैंकहरुको नारापनि बदलिएको छ। कुनै बेला घरघरमा बैंक भन्ने नारा दिएका बैंकहरु यतिखेर हातहातमा बैंक भनेर आफ्नो सेवाको प्रचार गरिरहेका छन्। यसले नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको तिब्र विकासको झल्को दिएको छ। 

पछि स्थापना भएका विशेषगरि निजि लगानीका बैंकहरुले आफ्नो स्थापना तथा संचालनको समयदेखि नै प्रविधिलाई आत्मसाथ गरेपनि सरकारी स्वामित्वका वाणिज्य बैंकहरुले संचालनमा आएको केहि वर्षपछि मात्र आफुलाई ढड्डाबाट स्तरोन्नति गरेको पाइन्छ। 

विक्रम सम्बत २०२२ सालमा स्थापना भएको सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले पनि स्थापनाकालको ढड्डाको युगदेखि डिजिटलयुगसम्मको यात्रा तय गरिसकेको छ। तर प्रतिस्पर्धी निजि लगानीका बैंकहरुलाई भन्दा आरबीबीलाई प्रविधिको तिब्र विकासलाई अँगालेर सेवालाई प्रविधिमैत्री बनाउन धेरै कसरत गर्नुपरेको देखिन्छ। 

वासलातको आकार, मुनाफाको अंक, शाखा संख्या, ग्राहक संख्या तथा अन्य बिभिन्न सूचकमा राष्ट्रिय बाणिज्य बैंक बाणिज्य बैंकहरुमै अव्वल दहरिएको छ। तर स्थापना तथा संचालनको समयमै आधुनिक प्रविधिलाई अँगालेर बैंकिङ सेवा सुरु गरेका पछिल्ला पुस्ताका बाणिज्य बैंकहरु सरह आफुलाई उभ्याउन मात्र नभई बैंकिङ मै नेतृत्व लिनलाई आरबीबीले धेरै मिहिनेत गर्नुपरेको छ। 

'रिकन्सिलेशन' का लागि विश्व बैंकले २०४४-४५ साल तिर आरबीबीलाई ४ वटा कम्युटर दिएको थियो। सम्भवत: आरबीबीमा कम्प्युटर भित्रिएको यो नै पहिलो पटक थियो। तर विश्व बैंकले कम्प्युटर दिएपनि त्यसका तीन बर्ष कुनै प्रगति नभएपछि बैंकले २०४७ सालमा एक जना प्रोग्रामर भर्ना गर्यो। 

पहिलो चरणमा विशाल बजारको डिपोजिटलाई कम्प्युटराईज्ड गर्ने काम सुरु भयो। यो सुरुवातनै आरबीबीका लागि डिजिटलको यात्रा तय गर्ने माध्यम बन्यो। २०४८ सालमा राष्ट्रिय कम्प्युटर केन्द्रले तयार गरेको सफ्टवेयर बैंकको कम्प्युटरमा जडान भयो। त्यसपछि टेकु र भोटाहिटी शाखाको निक्षेप र सुनचाँदी कर्जालाई  कम्प्युटराईज्ड गर्ने काम भयो। 

यसरी काम गर्दै जाँदा २०४५ सालमा हार्डवेयरसँग सम्बन्धित दुई जना एक जना इलेक्ट्रिक र अर्को कम्प्युटर हार्डवयर इन्जिनियरलाई बैंकले भर्ना गर्यो। र प्रविधिमैत्री बनाउने रणनीतिअनुसार बैंकले २०५१ सालमा ५ जना प्रोग्रामर, एक जना हार्डवयर म्यानेजर र एक जना सफ्टवेयर म्यानेजर गरि ७ जना नियुक्त गर्यो। र त्यसपछि राष्ट्रिय कम्प्युटर केन्द्रले दिएको प्रोग्राम हेरेर एउटा प्रोग्राम बनाएर आरबीबीका केहि शाखामा लगाउने काम भयो। ति ५ जना प्रोग्रामर मध्येका एक हुन्, हाल आरबीबीका सहायक कार्यकारी अधिकृत दिवेश प्रसाद लोहनी। 

२०५१ सालमा आरबीबीको ब्याकअफिस र सेन्ट्रल अफिसलाई कम्प्युटराईज्ड गर्ने काम भयो। यसका साथसाथै सानोठीमी, कलंकी, त्रिभुवन विमानस्थल, थापाथली, बानेश्वर, केन्द्रिय कार्यलय टंगाल शाखा तथा महाराजगंज शाखामा राष्ट्रिय कम्प्युटर केन्द्रले दिएको प्रोग्राम लागू भयो र त्यहाँ डिपोजिटका सबै काम कम्प्युटराईज्ड गर्ने काम भयो। डीईओ लोहनी त्यो बेला टंगाल शाखा अर्थात हाल अख्तियार बसेको कार्यलयमा थिए। 

कम्प्युटराईज्ड गर्ने भनेपनि निक्षेप र कर्जाको रेकर्ड गर्ने र त्रिभुवन विमानस्थलका सरकारी कारोबारलाई डिजिटल गर्ने भन्दा अरु थप काम हुन सकेन। ग्राहक आउँदा चेकको रेकर्ड कम्प्युटरमा राखेर भुक्तानी गर्ने बाहेक अरु थुप्रै  काम बैंकसँग बाँकी थिए। बैंकका धेरै शाखा ढड्डामै सिमित थिए भने संचालनमा रहेका शाखाहरु पनि विस्तारै मात्र कम्प्युटराईज्ड हुँदै थिए। 

बैंकलाई प्रविधिमैत्री बनाउने भनेर योजनाअनुसार अगाडी बढ्दै गर्दा २०५१ सालमा बैकको वित्तीय अवस्था खस्किदै गएको थियो। २०५८ सालमा वित्तीय क्षेत्र सुधार कार्यक्रम आईसकेपछि आरबीबीलाई कम्प्युटराईज्ड गर्ने काम सुरु भयो। तरपनि त्यो बेला बैंकमा दुईवटा समस्या थिए। एकातर्फ तत्कालिन माओवादीले जनयुद्ध थालेकाले देश अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको थियो भने आरबीबीका धेरै शाखा कप्यूटर बिहिन थिए भने बैंकमा कहिल्यै कम्प्युटर नदेखेका र देखेपनि चलाउन तयार नभएका कर्मचारी थिए। 

जम्मा ५-७ वटा शाखा मात्र कम्प्युटराईज्ड भएको अवस्था थियो। त्यसैलेपनि आरबीबीलाई कम्प्युटराईज्ड  गर्न त्यति सहज थिएन। बैंक भित्रै टुक्रा टुक्रा अवस्थामा रहेका निक्षेप, कर्जा, रेमिट्यान्स लाई एकीकृत रुपले प्रणालीमा आबद्ध गरियो र उक्त प्रणालीलाई ब्यापक रुपमा शाखाहरुमा जडान गर्ने काम भयो। 

वित्तीय सुधार कार्यक्रम अन्तर्गत राष्ट्र बैंकले आरबीबीलाई प्युमरी नामको सफ्टवेयर उपलब्ध गराएको थियो। २०६१ साल तिर ढड्डामा रहेका आरबीबीका सबै फाइलहरुलाई रातारात सफ्टवेयरमा इन्ट्री गर्ने काम भयो। 

पाइलट परिक्षणको रुपमा पहिलेदेखि नै प्युमरी प्रयोग भईरहेको बिशालबजार शाखा र ढड्डामा रहेको ललितपुर शाखामा काम भयो। मर्कन्टाइल आफैले बनाएको प्रणाली भएकाले पहिल्यैदेखि प्युमरि प्रयोग भईरहेको विशालबजार शाखालाई राष्ट्र बैंकले दिएको प्युमरी प्लसमा इन्ट्रीग्रेट गर्न सहज भयो तर ललितपुर शाखालाई कम्प्युटराईज्ड  गर्न आरबीबीलाई झन्डै ८ महिना लाग्यो। 

ललितपुर शाखाको अनुभवलाई आत्मसाथ गर्दै आरबीबीले आफैले निर्माण गरेको बानेश्वर शाखामा २०५३ सालदेखि नै प्रयोग भईरहेको आरबीबीसीस प्रणाली लाई कन्भर्सन गर्ने काम सुरु भयो। 

कन्भर्सन गर्ने काम अत्यन्त सहजरुपले भएपछि बैंकले उपत्यकाका सबै शाखाका कम्प्युटरमा आरबीबीसीस लगायो। यतिसम्म भयो कि बैंकका कर्मचारीहरुले दिनभरको काम ढड्डामा उतार्थे भने त्यहि काम रातभर बसेर कम्प्युटरमा इन्ट्री गर्थे। आरबीबीका धेरै शाखा बाट यस प्रकारको प्रणाली जडान गर्नलाई माग भयो र पुराना रेकर्डलाई कम्प्युटरमा राख्ने काम बढ्दै गयो।

उपत्यकाका बाहिरका शाखाहरुमा कम्प्युटरमा डाटा इन्ट्री गरेर डिजिटल तर्फ जाने काममा तिब्र प्रतिस्पर्धा नै चल्यो। यतिसम्म भयो कि २०६२ फागुन १९ मा सुरु गरि ३ दिनमै कम्प्युटराईज्ड सकेर  बुटवल र भैरहवा शाखा ३ दिनमै लाइभमा गए। 

सुरुमा उपत्यकाका सबै शाखालाई कम्प्युटराईज्ड गरियो र सबै ठाउँमा आरबीबी आफैंले निर्माण गरेको आरबीबीसीस जडान गरियो र त्यसलाई प्युमरीले प्रतिस्थापन गरिदै लगियो। यो क्रम विस्तारै उपत्यकाका बाहिरका शाखामा पनि थालियो। 

राष्ट्र बैंकले दिएको प्युमरिले ४० वटा कम्युटरलाई मात्र पुग्थ्यो। उसले ७० प्रतिशत निक्षेप र ८० प्रतिशत कर्जा कम्प्युटराईज्ड होस् भन्ने चाहना राखेर प्युमरी दिएको थियो। २०६७ साल बैशाख २७ गते बैंकका १२४ वटै शाखा आरबीबी आफैंले बनाएको आरबीबीसीसमा गईसकेका थिए। र त्यो बेला गोरखापत्रमा 'आरबीबीका सबै शाखा कम्प्युटराईज्ड' भनेर समाचार समेत आएको थियो। 

निजि लगानीका बैंक जन्मीदै कम्युटरमा जन्मिएपनि नेपालको बैंकिङ इतिहासमा कम्युटर जडान गर्ने पहिलो बैंकको रुपमा कृषि विकास बैंकलाई लिईन्छ।  विश्वेश्वरप्रसाद कोइरालाका छोरा श्री हर्ष कोइरालाले आफैले आधारभूत प्रोग्राम बनाएर कृषि विकास बैंकमा पहिलो कम्युटर जडान गरेका थिए। 

राष्ट्र बैंकले दिएको प्युमरी पर्याप्त नभएपश्चात आरबीबी आफैंले २०६५ सालमा आफैले प्युमरी खरिद गर्यो र आफुले बनाएको आरबीबीसीसलाई प्युमरीमा कन्भर्सन गर्दै अगाडी बढ्यो। 

सन २००७ मा डेबिट क्रेडिट कार्डको सुरुवात 

सबै शाखालाई कम्प्युटराईज्ड गर्ने काम सकेपछि सन २००७ मा आरबीबीले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मिलेर भिसाको डेबिट कार्डको सुरुवात गर्यो। त्यो बेला बैंकले केन्द्रिय कार्यालय र टेकु शाखा गरि दुई ठाउँमा एटिएम मेसिन जडान गर्यो। 

आरबीबीले २०६६ साल माघ १० गते  बैंक स्थापना दिवसको दिन पारेर एसएमएस बैंकिङ सेवा सुरु गर्यो।  एसएमएस बैंकिङमा कारोबारको जानकारी दीइन्थ्यो। २०६९ सालमा आइपुग्दा आरबीबीले छारिरेर रहेका सर्भर तथा डाटाहरुलाई एकीकृत गर्ने काम गर्यो र सबै शाखा केन्द्रबाट चल्ने अवस्था आयो। 

२०७१ सालमा आरबीबीले एफवान सफ्टसँग मिलेर फोन पे नेटवर्क मार्फत मोबाइल बैंकिङ सुरु गर्यो। र यो बीचमा आरबीबीले एटिएम, डेबिट कार्ड, एसएमएस बैंकिङ, मोबाइल बैंकिङलाई ब्यापक बनाउदै लग्यो।  

डिजिटललाई पछ्याउदै आजको दिनमा आइपुग्दा आरबीबिले भिसा डेबिट कार्डका ग्राहक संख्या ३ लाख  तथा मोबाइल बैंकिङको ग्राहक १३ लाख प्लस पुर्याएको छ। यहि बीच बैंकसँग ९३ वटा ब्रान्चलेस बैंकिङ छन् भने पीओएस मेसिन भर्खर सुरु गरेको छ। 

यति मात्र नभई बैंकको क्रेडिट कार्ड सेवा पनि प्रकृयामा छ। बैंकले आफ्नो स्तरोन्नति गर्दै प्युमरी प्लसलाई अपग्रेड गरेर २०७७ भदौ देखि प्युमरि ३ बाट प्युमरी ४ मा गएको छ। यसबाट पनि प्रगति गर्दै बैंकले अब अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयरमा आफुलाई लैजाने तयारिमा छ। 

यादगार घटना : एक बर्षमा तीन सीईओ

राजेश्वर आचार्य सीईओबाट हट्ने र गुरुप्रसाद न्यौपाने सीईओको रुपमा २०५१ सालमा आउने क्रममा आरबीबीलाई डिजिटल प्रविधिमा लैजान पहिलोपटक प्रोग्रामर नियुक्त गरिएको थियो। त्यो बेला प्रोग्रामरका रुपमा आउनेले आचार्यबाट प्रवेश पाए भने नेपाल राष्ट्र बैंकले काजमा पठाएका न्यौपानेबाट चिठी बुझे। तर परिक्षणकाल पुरा गरेर नियुक्ति पत्र डा तिलक रावलबाट बुझे। 

विदेशी सीईओको योगदान 

आरबीबिलाई ढड्डाबाट प्रविधिमैत्री बनाउनलाई विदेशी सीईओं ब्रुस एफ एन्डरसनको योगदान देखिन्छ। २०५८ सालको वित्तीय सुधार कार्यक्रम अन्तर्गत आउँदा एन्डरसन आरबीबीका सीईओ थिए। यहि बेलादेखि नै आरबीबीमा प्रमुख कार्यकारी अधिकृतको व्यवस्था सुरु भयो। यसअघि बैंकमा महाप्रबन्धक, कार्यकारी अध्यक्ष भन्ने हुन्थ्यो। 

त्यो बेला आरबीबीमा आइटी लगाउने महत्त्वपूर्ण पात्रका रुपमा ओम बिन्दुलाल राज भण्डारी थिए। उनी बैंकमा आइटी म्यानेजर थिए। उनलाई प्राविधिक रुपमा बैंकको आन्तरिक प्रणाली आरबीबीसीस बनाउने दिबेश प्रसाद लोहनीले प्राविधिकरुपमा सहयोग गरेका थिए भने बैंकलाई कम्प्युटरमा जोड्ने काममा अहिले सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृत कपिल मणि ज्ञवाली थिए। वित्तीय सुधार कार्यक्रम अन्तर्गत आरबीबीमा फाइनान्स हेर्नलाई गोपाल राज बाहक थिए भने ट्रेजरी हेर्नलाई क्यानेडियन नागरिक थिए। 

अनुभव 

बैंकलाई कम्प्युटराईज्ड तर्फ लैजादै गर्दा कर्मचारीबाटै अड्काउने काम नभएको भने होइन। कोहि आँखा बिग्रिने डरले कम्प्युटर चलाउन मानेनन् भने कोहि आफ्नो जागिर जाला भन्ने डरले चलाउन मानेनन्। 

केहि कर्मचारी भने नयाँ प्रविधि हो यसलाई आत्मसाथ गर्नुपर्छ भनेर दिनरात समेत खटेर काम गरे। केहि कर्मचारीमा यतिसम्म भयो कि मेनुबाट बाहिर आउनुहोस भन्दा बरण्डामा आइपुगेर 'अब के गर्ने' भन्ने प्रश्न समेत गरे। 

भोलिदेखि लाइभ जाने भनेर तयार रहँदै गर्दा बैंककै एउटा शाखाले कम्प्युटरको मोनिटर ग्राहक तर्फ फर्काएर शाखालाई कम्प्युटराईज्ड गर्ने कुरामा बिरोध समेत गरे।  

चौमासिक रुपमा आउने शिक्षकको तलब (शिक्षा मन्त्रलायबाट आउने जानकारी) लेजरमा पेन्सिलले चढाउने र जसले पासबुक भित्र १००-२०० राखेर दिन्छ उसलाई तलब दिने र नदिनेलाई तलब नदिने अभ्यासलाई कम्प्युटराईज्डले रोकेपछि केहि कर्मचारीले कम्प्युटराईज्डको चर्को बिरोध समेत गरे। 

चुनौती 

प्रविधिको तिब्र विकास बैंकले कर्मचारीको आत्मबल , सोच र कार्यशैलीमा धेरै सुधार आए तर सँगसँगै जोखिमको शैली पनि परिवर्तन भयो। अब प्रविधिलाई झुक्याएर हुने जोखिम बढ्यो । 

पहिलेका जोखिम एकै नाशका थिए भने अहिलेका जोखिम दैनिक रुपमा परिवर्तन हुँदै गएका छन्। जसरी जोखिम बढेको छ त्यसैगरि यसलाई नियमन गर्नलाई चाहिने स्रोत, साधन र लगानी बढेको छ।

सेवा प्रविधि मैत्री तर सोच पुरानै 

आरबीबी आफ्नो सेवालाई स्तरोन्नति गर्दै ढड्डाबाट अन्तराष्ट्रिय स्तरको सफ्टवेयर जडान गर्ने ठाउँमा पुग्यो तर आरबीबीलाई हेर्ने आम सर्वसाधारणको सोच आज पनि पुरानै रह्यो।  स्ट्यान्डर्ड चार्टड होस् या नबिल जाँदा १० मिनेट पर्खनुपर्यो भने ग्राहकले त्यसलाई सहज लिने तर आरबीबीमा आएर ९ मिनेट पर्खनुपर्यो भने सरकारी बैंक यस्तै हुन्छ भन्ने आम धारणामा कुनै परिवर्तन भएन। 

अर्को तर्फ सेवा लिने ग्राहकको पुस्तामा ठुलो खाडल देखिन्छ। नयाँ पुस्ताले खोजेको सेवा दिनलाई बैंकहरुले सकिरहेका छैनन् भने पुराना पुस्ताले बैंकले दिइरहेका सेवालाई पूर्ण रुपमा सदुपयोग गर्न सकिरहेका छैनन्। आरबीबीले अहिले नदिएको भनेको क्रेडिट कार्ड हो त्यहि पनि गाउँ गाउँ, टोल टोल पुगेको आरबीबीले दिएका सेवा प्रयाप्त रुपमा सदुपयोग भईरहेका छैनन्। 

वर्तमान सीईओको योगदान 

पछिल्लो 'फेज' मा आरबीबीलाई प्रविधिमैत्री बनाउनलाई वर्तमान सीईओ किरण कुमार श्रेष्ठको योगदान महत्त्वपूर्ण देखिन्छ। चार बर्षे पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालको सुरुवाती चरणमा रहेका श्रेष्ठ आएपछि आरबीबीको विकेन्द्रित प्रणालीलाई एकीकृत गर्ने काम भएको छ। 

मोबाइल बैंकिङको मार्केटिङ गरि प्रयोगकर्ता ५ लाखबाट १३ लाख पुर्याउनमा उनको योगदान रहेको छ। त्यस्तै भर्खरै मात्र 'पल्स' सेवा सुरु भएको छ भने क्रेडिट कार्ड सेवा अन्तिम चरणमा पुगेको छ। नयाँ पुस्ताका कर्मचारी ल्याएर उनीहरुलाई प्रविधिमा भिजाउने काममा समेत उनको योगदान रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved